site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आठ नेपालीसहित ३४ सय विदेशीलाई ‘डिपोर्ट’ गर्छौं 

काठमाडौं । म्यानमारका उपगृहमन्त्री मेजर जनरल टो यीले मेवाडी क्षेत्रका ८ नेपालीसहित ३ हजार ४७४ जना विदेशीलाई स्वदेश फिर्ता (डिपोर्ट) गर्ने जानकारी दिएका छन् । 

म्यानमारको याङ्गुनमा कूटनीतिक नियोगका प्रमुख तथा राजदूतलाई सोमबार ब्रिफिङ गर्दै उनले उक्त जानकारी दिएका हुन् । 

“म्यानमारका उपगृहमन्त्रीले मेवाडी क्षेत्रका ८ नेपालीसहित ३ हजार ४७४ जना विदेशीलाई स्वदेश फिर्ता पठाउने जानकारी दिनुभयो,” कूटनीतिक ब्रिफिङमा सहभागी म्यानमारका लागि नेपाली राजदूत हरिषचन्द्र घिमिरेले बाह्रखरीसँग भने, “सबै जनालाई थाईल्याण्ड हुँदै सम्बन्धित देश पठाउने उहाँले बताउनुभयो ।”

मेवाडीमा रहेका विदेशीमध्ये ७५७ जनाको डिपोर्ट प्रक्रिया सुरु भइसकेको छ र केही आफ्नो देश पुगिसकेका छन् । यीमध्ये पछिल्लो एक महिनामा ८ जना नेपाली पनि थाईल्याण्ड हुँदै नेपाल आइसकेका छन् ।

मेवाडी क्षेत्रमा अवैध तरिकाले चलाइएका अनलाइन स्क्यामिङ कम्पनीहरू बन्द गरिएपछि त्यहाँ अवैध तरिकाले कार्यरत विदेशीलाई स्वदेश फिर्ता पठाउन लागिएको हो । 

“अनलाइन स्क्यामिङ चलाइएका ठाउँहरू थाईल्याण्डको सीमानजिक म्यानमारको मेवाडी क्षेत्रमा पर्छन् । ती ठाउँहरू विद्रोही समूहको नियन्त्रणमा छन् । म्यानमारी सेनाको नियन्त्रण ती ठाउँमा छैन । यसैकारण उनीहरूलाई म्यानमार हुँदै स्वदेश फर्काउन लागिएको हो,” राजदूत घिमिरेले बताए । 

चारवटा विद्रोही समूहले नियन्त्रण गरेका क्षेत्रमा कम्पनीहरूले अवैध रुपमा अनलाइन स्क्यामिङ चलाइरहेको बताइएको छ । नेपाललगायत विभिन्न देशका युवालाई प्रलोभन देखाई मानव तस्करहरूले ती स्थानसम्म पुर्याउने गरेका छन् । त्यहाँ पुगेका विदेशीलाई बन्धक बनाई जर्बजस्ती काममा लगाउने गरिएको छ ।

चारमध्ये दुई वटा विद्रोही समूहले नियन्त्रण गरेका क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ मात्र बन्द गरिएको छ । अन्य दुई समूह नियन्त्रित क्षेत्रको अवस्था के कस्तो छ र कतिलाई त्यहाँ अवैध तरिकाले काममा लगाइएको छ यकिन विवरण बाहिर आएको छैन । 

राजदूत घिमिरेका अनुसार, मेवाडी क्षेत्रमा रहेको विदेशीको विवरण सबैभन्दा पहिलो सम्बन्धित देशको दूतावासमा पठाइन्छ । दूतावासले ती व्यक्ति आफ्ना नागरिक भएको प्रमाणीकरण गरेपछि उनीहरूलाई दूतावासका अधिकारीको जिम्मा लगाइन्छ । 

त्यसपछि दूतावासले उनीहरूलाई थाइल्याण्ड हुँदै स्वदेश पठाउने छ । यसरी फर्किदा हवाई टिकट भने व्यक्ति स्वयं वा उसको परिवारले व्यवस्था गर्नुपर्ने उनले बताए । “श्रम स्वीकृति नलिई आएको हुँदा यसरी फिर्ता हुनेले हवाई टिकटको व्यवस्था आफैँ गर्नुपर्छ,” राजदूत घिमिरेले भने । 

अर्को एक सूचना अनुसार म्यानमारको विद्रोही समूह नियन्त्रित क्षेत्रहरूमा सञ्चालित अनलाइन स्क्यामिङ कार्यमा ७ हजारभन्दा बढी विदेशी संलग्न छन् । 

थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले फागुन महिना सुरु भएपछि मात्र ७ जना नेपालीलाई मेवाडीबाट उद्धार गरी बैंकक ल्याउँदै नेपाल फर्काएको थियो । तीमध्ये ५ जनालाई फागुन ९ गते र २ जनालाई फागुन १२ गते बैंककबाट नेपाल फर्काइएको थियो ।

“हाल पनि तीन जना नेपाली थाइल्याण्ड बोर्डरमा आइपुगेको र केही पारी नै रहेको सूचना हामीले पाएका छौं,” थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले बाह्रखरीसँग भने ।

क्यासिनो सञ्चालन गर्न थाइल्याण्डको सीमानजिक म्यानमारमा ठूलो सिटीको विकास गरिएको थियो । विद्रोही नियन्त्रित उक्त क्षेत्रमा पछि क्यासिनो नचलाई अनलाइन स्क्यामिङ चलाइएको थियो । 

अनलाइन स्क्यामिङ चलाउने धेरै चिनियाँ कम्पनी थिए । केही दिनअघि थाईल्याण्ड–म्यानमार सीमा क्षेत्रबाट दुई चिनियाँ कलाकारलाई अपहरण गरी मेवाडी क्षेत्रमा राखेपछि चीनले त्यहाँ दबाब बढाएको छ । जसका कारण अनलाइन स्क्यामिङ चलाउने चिनियाँ कम्पनीहरू बन्द गरिएको छ र त्यहाँ कार्यरत नेपालीलगायत विदेशी नागरिकलाई मुक्त गरिएको छ । 

चिनियाँ मात्र होइन केही दिनअघि म्यानमारको सीमा नजिकको थाइल्याण्डको भूमिबाट जापानी पर्यटकलाई पनि अपहरण गरी मेवाडी क्षेत्रमा पुर्याइएको थियो । यस्ता घटनाले आफ्नो पर्यटन क्षेत्रमा असर गर्ने देखिएपछि थाइल्याण्डले पनि मेवाडीमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ बन्द गर्न दबाब बढाएको थियो । 

म्यानमार र थाइल्याण्डस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र म्यानमार, थाइल्याण्ड, कम्बोडिया र लाओसमा काम गर्न आउन पटक–पटक अनुरोध गरेको छ । तर दलालहरूलाई मोटो रकम बुझाउँदै नेपालीहरू अवैध काम गर्न ती देश पुग्ने गरेका छन् । 

कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डमा वैदेशिक रोजगारीमा नआउन राजदूतहरूको आग्रह छ । 

मानव तस्करको प्रलोभनमा परी पहिलो पटक २०७९ मंसिर महिनामा नेपाली युवाहरूको एउटा समूह म्यानमार पुगी अलपत्र परेको थियो । वैदेशिक रोजगारीका लागि म्यानमार पुगी अलपत्र परेको त्यो पहिलो घटना थियो । रोजगारीमा लगाइदिने भन्दै उनीहरूलाई तस्करहरूले म्यानमार पुर्याएका थिए । 

यसरी म्यानमार पुगेर नेपाली ठगिएको घटना बाहिर आएपछि म्यानमारस्थित नेपाली दूतावासले पीडितहरूसँग भेट्ने, उनीहरूलाई उद्धार गरी नेपाल पठाउने कार्य गरेको थियो । त्यसपछि दूतावासले २०७९ पुस २६ गते एउटा विज्ञप्ति जारी गर्दै मानवतस्करको प्रलोभनमा परी म्यानमार नआउन अनुरोध गरेको थियो ।

‘अनलाइन जुवा, कल सेन्टर–फ्रड, क्रिप्टो करेन्सी ठगी आदिमा संलग्न शंकास्पद आईटी फर्महरूले बैंककमा रोजगारीका अवसरहरूको प्रलोभन देखाई युवाहरूलाई लक्षित गरी गैरकानुनी रुपमा बैंकक हुँदै म्यानमार तथा सोझै म्यानमार ल्याई उनीहरूलाई कम्पनीहरूमा बन्दी बनाएर काम गर्न लगाएको पाइएको छ,’ त्यतिबेला म्यानमारस्थित नेपाली दूतावासले त्यहाँको अवस्थाको बारेमा जानकारी गराउँदै नेपाली युवाहरूलाई त्यसरी नआउन भनेको थियो । 

राजदूत घिमिरेका अनुसार, सुरुमा मानवतस्करहरूले अनलाइन विज्ञापन निकाली नेपाली युवाहरूलाई आकर्षित गरेका थिए । उनीहरूको निशानामा दुबईमा कार्यरत र नेपालमै रहेका नेपाली थिए । 

थाइल्याण्ड र म्यानमारको सूचना प्रविधि (आईटी) क्षेत्रमा ‘डिजिटल सेल्स एण्ड मार्केटिङ एक्जुकेटिभ्स’का रुपमा रोजगारी दिने प्रलोभन तस्करले नेपालीहरूलाई देखाएका थिए । 

त्यसपछि आकर्षित भएका नेपाली युवाहरूलाई उनीहरूले थाइल्याण्डको बैंकक र म्यानमारको याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न माध्यमले म्यानमारको कायिन प्रान्तको मेवाडी पुर्याउने गरेका थिए ।

यो थाहा पाएपछि म्यानमारस्थित नेपाली दूतावासले गतवर्ष नै भनेको थियो, ‘म्यानमार आउने नेपाली नागरिकहरूलाई थाइल्याण्ड र म्यानमारमा रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जाल प्लेटफर्महरूमार्फत विभिन्न स्थानका एजेन्टहरूद्वारा प्रस्तावित हुने भएकोले उपरोक्त कुरालाई ध्यानमा राख्दै, नेपाली नागरिकहरूलाई सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य स्रोतहरूमा रहेका त्यस्ता नक्कली जागिरको प्रलोभनमा नपर्न अनुरोध गरिन्छ ।’ 

दूतावासले तस्करले देखाउने वैदेशिक रोजगारीको प्रलोभनमा परी थाइल्याण्ड र म्यानमार नआउन अनुरोध गरेको दुई वर्ष बित्यो । तर तस्करहरूको प्रलोभनमा परी म्यानमार पुगी अलपत्र पर्ने क्रम रोकिएको छैन ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro