काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्ने बताएका छन् ।
सोमबार नेपाली कांग्रेस, ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ले रुपन्देहीको भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीभित्र नमिलेका र विवादका विषयलाई आपसमा छलफल, मेलमिलाप र कुराकानी गरेर हटाउनुपर्ने बताए ।
कांग्रेसलाई जीवन्त भाइब्रेन्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझ आकर्षण बढ्दै जाने उनले बताए । देउवाले समानुपातिक समावेशी व्यवस्थालाई सबै मिलेर थप बलियो बनाउँदै जानुपर्नेमा जोड दिए ।
उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।
तीन दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरी ३३० जनाभन्दा बढी नेता कार्यकर्ता सहभागी छन् ।