
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताएका छन् । शनिबार (वैशाख २०) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
गएको (०७९) निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय दल बन्ने उनले जिकिर गरे । उनले आफ्नो पार्टीलाई लाखौँको संख्यामा सहकारी संगठनमा आबद्ध, एनजीओ, आईएनजीओमा संलग्न व्यक्तिहरूको साथ रहेको दाबी गरे ।
“त्यतिखेर मात्रै आदिवासी जनजातिको मात्रै भोट, अझै म भन्छु– हाम्रा साथीहरू लाखौँको संख्यामा सहकारी संगठनमा आबद्ध छन्, एनजीओ, आईएनजीओमा संलग्न छन्, तिनीहरूको लाखौँ भोट यो पार्टीमा ल्याउनको लागि भनेर लागेको भए राष्ट्रिय पार्टी बन्न कुनै गाह्रो थिएन,” उनले भने ।
हालै पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनै ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महसुस नगरेको उनले बताए । पार्टीका कार्यक्रममा हरेक ठाउँमा हजारौँको संख्यामा जुलुस देखिएको उनले सुनाए ।
“हामीसँग जनताको मतको कमी छैन । अस्ति भर्खरै पनि म कर्णाली प्रदेश पुगेर आएँ । कालीकोट पुगेर आएँ । रासकोटमा पुगेर आएँ,” उनले भने, “हुम्ला जाने त्यत्रो विकट ठाउँमा भएको अधिवशेनमा मैले मान्छेको हजारौँको जुलुस कार्यक्रममा सहभागिता देखेँ ।”
उनले अगाडि भने, “रौतहट, सप्तरी जिल्लाको कार्यक्रममा पनि हजारौँहजार मानिसको सहभागिता देखेको थिएँ । अनि मैले भनेँ– तराई होस्, पहाड होस्, हिमाल होस्, हाम्रो पार्टी सबै ठाउँमा अगाडि बढिरहेको छ ।”
उनले अब एकीकृत समाजवादीलाई अरूभन्दा ठूलो र शक्तिशाली बनाइने बताए । त्यसनिम्ति आफूले पाएको जिम्मेवारीमा जुट्न नेता–कार्यकर्तालाई उनले निर्देशन दिए ।
अध्यक्ष नेपालले गणतन्त्रका पक्षधर फेरि पनि मिल्न जरुरी रहेको बताए । न्युज एजेन्सी नेपाल