site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फरक प्रतियोगिता, नियति उही

काठमाडौं । कहिलेकाहीँ क्षमता हुँदाहुँदै पनि भाग्यले साथ नदिँदा सोचेजस्तो नतिजा आउँदैन । नेपाली राष्ट्रिय महिला फुटबल टिमका निम्ति भने यो कहिलेकाहीँ ‘सधैँ’ बनेको छ ।

१५ वर्षमा १३ फाइनल खेले पनि नेपाली टिमले उपाधिको खुसी अनुभव गर्न पाएको छैन । त्यसो त नेपाली महिला टिमले अन्तर्राष्ट्रिय मञ्चमा पाइला राखेको ३९ वर्ष भइसक्यो ।

नेपाली महिला टिमको हारको सिलसिला बुधबार (फागुन १४) पनि रोकिएन । घरेलु मैदानमा आयोजित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा म्यानमारविरुद्ध पराजित भएसँगै नेपाल फेरि उपविजेतामै सीमित बन्यो । उपविजेता पदक अर्थात् नेपाली महिला टिमले लगाउने सबैभन्दा भारी ‘मेडल’ । घरेलु मैदानमा भरिभराउ समर्थकमाझ म्यानमारले २–० को जित निकाल्दै प्रतियोगिताको उपाधि चुम्यो ।

“पाएको अवसरलाई सदुपयोग गर्न सकेनौँ । अवसरलाई सदुपयोग गर्न नसक्दा पक्कै पनि टिममा केही असन्तुलन आइहाल्छ नै । अप्रत्याशित गोल व्यहोर्दा गेम गुमायौँ,” खेलपछि नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले हारको कारण यसरी औँल्याए ।

गत वर्ष फेब्रुअरीमै साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियसिपका निम्ति अखिल नेपाल फुटबल संघ (एन्फा)ले तामाङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । त्यसयता एक वर्ष पूरा नभई तामाङको प्रशिक्षणमा मात्र नेपाली टिमले तीन फाइनल खेलिसक्यो । प्रत्येकपटक उपाधि जित्ने लक्ष्य बताइए पनि हारको नियति टरेको छैन ।

तामाङको प्रशिक्षणमा नेपाली टिमले वाफसँगै साफ र अहिले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको हो । यी तीन प्रतियोगिताका फाइनलमा नेपाली टिम क्रमशः जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३, बंगलादेशसँग २–१ र म्यानमारसँग २–० ले पराजित भयो ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाली टिमकी मिडफिल्डर रेनुका नगरकोटे सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । सन् २०१० मा राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेकी रेनुकासँग नेपालले खेलेका १३ मध्ये आठ फाइनलको अनुभव छ ।

घाँटीको हड्डी (क्लाभिकल बोन)मा चोट लाग्दा ०७९ सालयता उनी राष्ट्रिय टिममा अनियमित थिइन् । यो प्रतियोगिताबाट आफू राष्ट्रिय टिमका निम्ति पूर्ण रूपमा तयार रहेको उनले सन्देश दिइन् ।

चोटका कारण निराश बनेर कुनै समय अस्ट्रेलिया उड्ने अन्तिम तयारीमा रहेकी रेनुकालाई आफ्नै पुनरागमनप्रति विश्वास छैन । “सुरुमा चोट लाग्दा कमब्याक गर्छु भन्ने थियो । दोस्रोपटक पनि त्यही ठाउँमा चोट लागेपछि भने त्यो हिम्मत नै जुटाउन सकिनँ,” उनले बाह्रखरीसित भनिन्, “एपीएफका प्रशिक्षकहरूले पनि अब रेनुकाले कमब्याक गर्न गाह्रै छ भन्नुभएको रहेछ । पछि म मैदान फर्किंदा उहाँहरू निकै खुसी हुनुहुन्थ्यो ।”

“विदेश जाऊँ भन्ने लागेको थियो । भिसा हातमै थियो । तर, अन्तिममा नजाने निर्णय गरेँ । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा मेरो नाम हुन्छ भन्ने विश्वास नै थिएन । आफूलाई फेरि स्थापित गर्न सक्षम भएकोमा निकै खुसी छु,” उनले थपिन् ।

नेपालले हालसम्म ६ पटक साफ महिला च्याम्पियनसिप, तीनपल्ट साग गेम्सअन्तर्गतको महिला फुटबल, एकचोटि हिरो कपको फाइनल खेलेको छ । यस्तै, एकपटक नादेज्दा कप, एकपल्ट वाफ महिला च्याम्पियनसिप र एकचोटि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेले पनि सबैमा हार व्यहोरेको छ ।

नेपालले १३ फाइनल खेल्दा भारतसँग मात्र सातपटक हारेको छ । बंगलादेश र म्यानमारसँग समान दुईपल्ट पराजित भएको छ । नेपालले फाइनलमा ताजिकिस्तान र जोर्डनसँग पनि समान एकचोटि हार व्यहोरेको छ ।

कस्ता थिए १३ फाइनल ?
सन् २०१० मा नेपालले दुई प्रतियोगिताको उपाधि गुमायो । २०१० को जनवरीमा दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको फाइनलमा नेपालले भारतसँग ३–१ को हार व्यहोर्‍यो । सोही वर्षको डिसेम्बरमा भएको साफ च्याम्पियनसिपमा नेपाल पुनः भारतसँग १–० ले पराजित भयो ।

त्यसपछि सन् २०१२ र २०१४ को साफ च्याम्पियनसिपको फाइनलमा नेपालले भारतसँग क्रमशः ३–१ र ६–० को हार व्यहोर्‍यो । सन् २०१६ मा साग गेम्सअन्तर्गत महिला फुटबलको फाइनलमा नेपाल पुनः भारतसँग ४–० ले स्तब्ध भयो ।

सन् २०१९ नेपाली महिला फुटबल टिमका निम्ति सबैभन्दा पीडादायी वर्षका रूपमा रह्यो । उक्त वर्ष नेपालले चार फाइनल खेल्यो, सबै प्रतियोगितामा उपाधि विमुख भयो ।

२०१९ को फेब्रुअरीमा नेपाल हिरो गोल्डकपको फाइनलमा म्यानमारसँग ३–१ ले पराजित भयो । त्यसपछि सोही वर्ष मार्चमा साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले भारतसँग पुनः ३–१ कै हार व्यहोर्‍यो ।

यस्तै, सेप्टेम्बर १२ मा नादेज्दा कपको फाइनलमा नेपाल ताजिकिस्तानसँग ३–२ ले निराश भयो । सोही वर्ष डिसेम्बरमा सागअन्तर्गत स्वर्णपदकका निम्ति भएको महिला फुटबलको फाइनलमा नेपाल भारतसँग २–० ले पराजित भयो ।

सन् २०२२ को सेप्टेम्बरमा नेपालमै सम्पन्न साफ महिला च्याम्पिनयसिपको फाइनलमा नेपालले पुनः हार बेहोर्‍यो । साफको उक्त संस्करणमा नेपालले सदाको प्रतिद्वन्द्वी भारतलाई सेमिफाइनलमा १–० ले हराएको थियो । तर, फाइनलको ‘डेढलक’ तोड्न सकेन । फाइनलमा १५ हजार दर्शकले भरिभराउ दशरथ रंगशालामा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भयो ।

गएको फेब्रुअरीमा आयोजित वाफ महिला च्याम्पियनसिप नेपालले खेलेको ११औँ फाइनलका रूपमा रह्यो । उक्त फाइनलमा नेपालले जोर्डनसँग पेनाल्टी सुटआउटमा हार व्यहोर्‍यो ।

यस्तै, घरेलु मैदानमै गएको अक्टोबर १७ देखि ३० सम्म भएको साफ महिला च्याम्पियनसिपको नेपालले १२औँ फाइनल खेलेको थियो । बुधबार म्यानमारसँग व्यहोरेको हार नेपाली टिमले खेलेको १३औँ फाइनल हो ।

म्यानमारसँगको हारपछि रेनुकालाई प्रश्न गरिएको थियो– तपाईं नेपाली टिमको सबैभन्दा अनुभवी खेलाडी हुनुहुन्छ, धेरै फाइनलमा प्रतिस्पर्धा गर्नुभएको छ, लगातार हार मात्र हुनुमा खेलाडी र एएफ कहाँ चुकिरहेजस्तो लाग्छ ?

जवाफमा रेनुकाले भनिन्, “हाम्रो र अरू टिमको तुलना गर्दा बाहिरको टिमले म्याच एक्सपोजर एकदमै धेरै पाइरहेको हुन्छ, हामी तुलनात्मक रूपमा निकै पछि छौँ । हामीले आफूभन्दा कमजोर टिमसँग राम्रो खेल्छौँ । बलियो टिम भयो भने सबै खेलाडी डराएको जस्तो देखिन्छ । त्यसको कारण म्याच एक्सपोजर कम हुनु नै हो । एएफले यसमा ध्यान दिए नेपाली टिम उपाधि जित्न सक्षम छ ।”

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro