
पोखरा । पर्यटकीय राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आइतबार सम्पन्न राष्ट्रियस्तरको खुला डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ फेवा हर्पन सहकारी र महिलातर्फ ताल पारी समूह विजयी भएका छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली तथा महिलातर्फ ताल पारी समूहको ‘बी’ टोली प्रथम भएका हुन् ।
पुरुषतर्फ बाराही डुंगा घाटले द्धितीय र स्विमिङपुल घाटले तृतीय स्थान हासिल गर्न सफल भए भने फिष्टेल घाटले सान्त्वना स्थान हासिल गरे । महिलातर्फ गौरीघाटले द्वितीय, पहारी घाटले तृतीय र जलारी दिदीबहिनी समूहले सान्त्वना स्थान हासिल गरे ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम हुने समूहले समान नगद ४० हजार रुपैयाँ, द्वितीयले ३० हजार, तृतीयले २० हजार तथा सान्त्वना स्थान हासिल गर्नेले १० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।