
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१, भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीले आठजनालाई नियन्त्रणमा लिएको छ ।
पञ्चायत बसेर पीडित परिवारलाई घटना ढाकछोप गर्न र लेनदेनमा मुद्दा मिलाउन दबाब दिने तथा प्रत्यक्षदर्शी गरी आठजनालाई नियन्त्रणमा लिइएको छानबिन समितिका संयोजक वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।
नियन्त्रणमा रहेकाविरुद्ध जाहेरी नपरेको र घटना दबाउन पीडित परिवारलाई आर्थिक प्रलोभन दिएको पुष्टि भए सोहीअनुसार कारबाही हुने उनले बताए ।
गत माघ २७ मा शौच गर्न गएकी रिंकुलाई अपहरण गरी तीन युवाले बलात्कार गरी अचेत अवस्थामा घर पु¥याएको बताइएको छ । उनले आफूमाथि बलात्कार गरेको रिंकुले बताएकी थिइन् । घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो । त्यसको भोलीपल्ट माघ ३० मा रिंकु घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
सुरुमा इलाका प्रहरी कार्यालय लहानले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएकामा सामूहिक बलात्कार भएको समाचार सार्वजनिक भएपछि मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ ।
पीडित परिवारले बलात्कारका तीन आरोपी र पञ्चायतमार्फत दबाब दिने पाँच पञ्चसहित आठ जनामाथि गत बिहीबार कर्तव्य ज्यान, जबरजस्तीकरणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पुरक जाहेरी दिएका छन् । जाहेरीमा किटान गरिएका व्यक्ति भने कोही पनि पक्राउ परेका छैनन् ।
रिङ्कुको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइए पनि हालसम्म रिपोर्ट नआएको वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाले बताए । रासस