काठमाडौं । नेपालमा कुनै समय निकै नै चर्चित बनेको निसान म्याग्नाइटको फेसलिफ्ट संस्करण भित्रिएको छ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसान म्याग्नाइट फेसलिफ्ट नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
आधिकारीक रुपमा गाडी सार्वजनिक हुने मिति नदिए पनि फेब्रुअरीभित्रै लञ्च हुने ठानिएको छ । नेपाली सडकमा पहिलेदेखि नै उपलब्ध निसान म्याग्नाइटसँगै अब फेसलिफ्ट संस्करण थपिएको हो ।
नयाँ संस्करणको गाडीमा ग्रिल र क्रोम वरिपरि पुनः डिजाइन गरिएको फ्रन्ट बम्पर र एलईडी टेल लाइट छ । गाडीमा १६ इञ्चको ड्युअल टोन अलोय ह्विल र फ्रन्ट फग ल्याम्प पनि नयाँ डिजाइन गरिएको छ ।
इन्टेरियरमा ड्यासबोर्ड, डोर प्याड र सेन्टर कन्सोल वरपर नयाँ ब्लाक र ओरेन्ज रङको थिम दिइएको छ । गाडीमा ८ इन्चको टचस्क्रिन, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ४ रङको एम्बियन्ट लाइटिङ र वायरलेस फोन चार्जर जस्ता फिचर समावेश छ ।
सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटो डिमिङ आईआरभीएम र ३६० डिग्री क्यामेरालगायत अन्य फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ । गाडीमा एक लिटर नेचुरल्ली एस्पिरटेड पेट्रोल र १ लिटर टर्बो पेट्रोल इन्जिन विकल्प छ ।
यसको १ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७२ पीएस पावर र ९६ एनएम टर्क जेनेरेट गर्ने र १ लिटर टर्बो पेट्रोल इन्जिनले १०० पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ । गाडीको भेरियन्ट र मूल्य भने सार्वजनिक भइसकेको छैन ।