site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस संस्थापनमा सिटौला पक्षको छुट्टै भेला 
कृष्ण सिटौला । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसमा १४औँ महाधिवेशनदेखि संस्थापन पक्षसँग एकाकार भएको कृष्ण सिटौला समूहले फेरि छुट्टै भेला थालेको छ ।

सिटौला समूहले १३औँ महाधिवेशनदेखि कांग्रेसमा तेस्रो वैचारिक धारको पहिचान बनाएको थियो । तर, १४औँ महाँधिवेशनमा यो समूह संस्थापन पक्षसँग मिल्न पुगेको थियो ।

Argakhachi Cement Island Ad

१४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बनाउन सिटौलाले आफूले कुनै पनि पदमा उमेदवारी नदिने घोषणा गरेका थिए । उनी देउवाबाटै मनोनीत केन्द्रीय सदस्य हुन् ।

तर, सिटौलाको निवासमा शनिबार उनी पक्षको छुट्टै भेला भयो । भेलामा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका मन्त्री कुन्दनराज काफ्ले, कोसी प्रदेशका मन्त्री भूपेन्द्र राई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, कांग्रेस वाग्मती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेशका सांसद जित शेरचन, तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनसहितको उपस्थिति थियो । संस्थापन पक्षका राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने भेलाबाट निष्कर्ष निकालेको बताइएको छ ।

“सिटौला समूह हिजोदेखि नै वैचारिक समूह भनेर चिनिइसकेको समूह हो । अब पार्टी कस्तो बनाउने, नेतृत्वमा कस्तो मापदण्ड बनाउने र अहिलेको पार्टी संस्थापनलाई संस्थागत रूपमा कसरी प्रभावकारी बनाउने भन्ने छलफल भएको छ,” नेता काफ्लेले बाह्रखरीसँग भने, “महाधिवेशनमा पार्टीको नीति र नेतृत्व चयनका विषयमा अवधारणाका विषयमा छलफल भएको छ ।”

समूहका अर्का नेताले भने देउवाले आफू प्रधानमन्त्री नहुँदासम्म पार्टी सभापतिको उमेदवार र महाधिवेशनको मिति दुवै घोषणा नगर्ने निष्कर्ष आफूहरूले निकालेको बताए । त्यस्तो अवस्थामा समूहका तर्फबाट रणनीति के लिने भन्ने छलफल गरिए पनि निष्कर्ष ननिस्किएको ती नेताले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्