site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतको मणिपुरमा राष्ट्रपति शासन लागु 

काठमाडौं । भारतको मणिपुरमा राष्ट्रपति शासन लागु भएको छ । केन्द्रीय गृह मन्त्रालयले एक सूचना जारी गरेर यस सम्बन्धमा जानकारी गराएको हो । 

यसअघि मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहले आइतबार आफ्नो पदबाट राजीनामा दिएका थिए । वीरेन सिंहको राजीनामापछि मणिपुरमा राष्ट्रपति शासन लाग्ने चर्चा चलेको थियो ।

मणिपुरमा लामो समय जातीय हिंसा भएको थियो, यद्यपि त्यहाँ केही समय शान्तिको अवस्था थियो। मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहलाई राज्यमा हिंसा नियन्त्रण गर्न असफल भएको आरोप लगाइएको थियो । 

Argakhachi Cement Island Ad

यसअघि मणिपुरका १९ भाजपा विधायकले प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुख्यमन्त्री एन वीरेन सिंहलाई हटाउन माग गर्दै पत्र पठाएका थिए।

पत्रमा हस्ताक्षर गर्नेमा सभामुख थोकचोम सत्यव्रत सिंह, मन्त्री थोंगम विश्वजित सिंह र युमनम खेमचन्द सिंह रहेका थिए । 

भाजपाले किन चयन गर्न सकेन नयाँ मुख्यमन्त्री ? 

मणिपुरमा मे २०२३ देखि राज्यमा जातीय द्वन्द्व चलिरहेको छ। यसमा २५० भन्दा बढीको ज्यान गएको छ । हिंसाका कारण मेइती र कुकी दुवै समुदायका हजारौँ मानिस विस्थापित भएका छन् ।

आइतबार, फेब्रुअरी ९ मा वीरेन सिंहले राज्यपाल अजय कुमार भल्लालाई भेटेर मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसबेलादेखि, बीजेपीको पूर्वोत्तर इन्चार्ज सम्बित पात्राले नयाँ मुख्यमन्त्रीको नाममा सहमतिमा पुग्न विधायक र राज्यपालसँग बैठकहरू गरिरहेका थिए। 

मुख्यमन्त्रीको विषयमा सहमति नहुँदा प्रदेशमा यस्तो कदम चालिएको राजनीतिक विश्लेषकको दाबी छ ।

मणिपुरमा विधानसभाको अन्तिम सत्र १२ अगस्ट २०२४ मा सम्पन्न भएको थियो र अर्को अधिवेशन ६ महिनाभित्र बोलाउने भनिएको थियो, तर हुन सकेन।

संविधानको धारा १७४ को उपधारा १ बमोजिम प्रदेशसभाको दुई अधिवेशनबीच ६ महिनाभन्दा बढीको अन्तर राख्न पाइँदैन ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २१:०२
प्रतिक्रिया दिनुहोस्