
काठमाडौं । रुसले शुक्रबार युक्रेनमाथि भीषण आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले लगभग सम्पूर्ण युक्रेनमाथि आक्रमण गरेको दाबी गरेका छन् ।
रुसले सहर र गाउँहरूलाई निशाना बनाएको उनको आरोप छ । तर, रुसले भने युक्रेनमा रहेका सैन्य अड्डाहरूमा आक्रमण गरेको बताएको छ ।
तीनजनाको मृत्यु, ४९ घाइते
शुक्रबारको आक्रमणमा हालसम्म तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । ४९ जना घाइते भएका छन् । मृतक सबै युक्रेनको राज्य आपतकालीन सेवाका कर्मचारी थिए ।
आक्रमणमा रुसले ४०० भन्दा बढी ड्रोन र ४० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रयोग गरेको जेलेन्स्कीले दाबी गरेका छन् ।
जेलेन्स्कीले भने, “रुसले सहर र गाउँहरूमा आक्रमण गरिरहेको छ । अमेरिका, युरोप र सम्पूर्ण विश्वले युद्ध रोक्न रुसमाथि दबाब दिनुपर्छ ।”
रुसी रक्षा मन्त्रालयले के भन्यो ?
बीबीसीका इयान केसी र पल एडम्सको रिपोर्टअनुसार, रुसी रक्षा मन्त्रालयले आफ्नो सेनाले गरेको हमला ‘किभ प्रशासनको आतंकवादी कार्य’को प्रतिक्रियामा भएको बताएको छ ।
रुसी रक्षा मन्त्रालयले आफ्नो सशस्त्र सेनाले लामो दूरीका हवाई, समुद्री र जमिन हतियार साथै ड्रोनहरू प्रयोग गरेर रातभर ठूलो आक्रमण गरेको बताएको छ ।
यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएका थिए । जसमा उनले युक्रेनले रुसी हवाई अड्डाहरूमा हालै गरेको आक्रमणको जवाफ दिने बताएका थिए । बीबीसी