![एकसय बिघा क्षेत्रफलमा विषादी नियन्त्रित तरकारी फलाइरहेको फ्रेसकेटीएम](https://12khari.top/uploads/posts/9264b919-4d97-4a7b-9f10-5aa02af22cb6-1739445648.jpg)
काठमाडौं । फ्रेसकेटीएम फार्मिङले विषादी नियन्त्रित तरकारी र फलफूल खेतीलाई तीव्रता दिएको छ । रौतहटस्थित एकसय बिघा क्षेत्रफलमा फैलिएको फार्ममा विषादी नियन्त्रित तरकारी, फलफूल, धान, मकै, गहुँ, तोरी र दाललगायत उत्पादन गरेको हो ।
उक्त फार्ममा उत्पादित तरकारी, फलफूल र अन्य खाद्यान्नहरू फ्रेसकेटीएमले काठमाडौंको रातोपुल, झम्सिखेल र भैँसेपाटीमा रहेको आफ्नै आउटलेटबाट उपलब्ध गराउँछ ।
फ्रेसकेटीएम फार्मिङले एकीकृत पोषण व्यवस्थापन र एकीकृत कीट व्यवस्थापन अपनाएर सुरक्षित खेती प्रणाली विकसित गरेको फ्रेसकेटीएका डाइरेक्टर शिव न्यौपानेले बताए । न्यौपानेका अनुसार हाल फार्ममा २५ भन्दा बढी प्रकारका तरकारीहरू साथै, गहुँ, तोरी र दाल उत्पादन गरिन्छ । जसले उपभोक्ताहरूलाई स्वस्थकर खानामा पहुँच पुर्याउन मद्दत गरेको छ ।
स्वस्थ उत्पादनका लागि आफ्नै कम्पोस्ट, भर्मी कम्पोस्ट र जैविक सूक्ष्मजीवहरू उत्पादन गरी सामान्यतया खर्चिलो मानिने यो खेती पद्दतीलाई कसरी कम लागतमा गर्न सकिन्छ भन्ने अनुसन्धान पनि फार्ममा सुरू गरेको न्यौपानेको भनाइ छ । “जिरो वेस्टको इको सिस्टम बनाउँदै आएको फ्रेसकेटीएम फार्ममा एकसयभन्दा बढीले रोजगार पाएका छन्" न्यौपानेले भने "जसमा फार्ममा आवश्यक पर्ने खाद्यान्नलगायत पनि फार्मभित्र नै तयार गर्ने गरेका छौँ,” उनले भने ।
कृषिमा लागतको समस्या प्रमुख रूपमा रहँदै आएकोमा फ्रेसकेटीएम फार्ममा रहेका २५० भन्दा बढी भैँसीहरूको गोबर तथा जैविक स्रोतहरूको उपयोग गरेर आफैँले कम्पोस्ट, भर्मी कम्पोस्ट र सूक्ष्मजीवहरू उत्पादन गरिरहेको छ । यसले माटोको उर्वराशक्ति बढाउने मात्र होइन, रसायनको अत्यधिक प्रयोगलाई हटाएर स्वस्थ उत्पादनलाई सुनिश्चित गर्छ । जसले लागत घटाउन पनि ठूलो योगदान गरेको छ ।
फार्मिङले उत्पादन गरेका भन्टा, गाँजर, बोडी, खुर्सानी, गोलभेडा, काउली, बन्दा, करेला, तोरीको साग, काँक्रो, गहुँ, तोरीको तेल र विभिन्न प्रकारका दालहरू फ्रेसकेटीएमका रातोपुल, झम्सिखेल र भैँसेपाटीस्थित आउटलेटहरूमा दैनिक रूपमा उपलब्ध हुने न्यौपानेले बताए ।
विषादी नियन्त्रित उत्पादनको वृद्धि र उपभोक्ताको मागलाई सम्बोधन गर्दै फ्रेसकेटीएमले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा आफ्ना आउटलेटहरू विस्तारको तयारी गरेको न्यौपानेले जनाए । नयाँ स्थानहरूमा आउटलेट खोल्ने तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ । जसले उपभोक्ताहरूलाई विषादी नियन्त्रित, स्वस्थकर र उचित मूल्यमा ताजा उत्पादन उपलब्ध गराउने जनाएको छ ।