![जग्गा धनी अमेरिकामा, नगरपालिकाले लगाइदियो एक करोड ११ लाखको सरकारी ठेक्का !](https://12khari.top/uploads/posts/Belbari-Nagarpalika-1739415896.jpg)
बेलबारी, (मोरङ) । मोरङको बेलबारी नगरपालिकामा चालू आर्थिक वर्षका दुईवटा योजनामा चरम आर्थिक बेथिति देखिएको छ ।
एउटा निजी जग्गामा घाट बनाउन संघीय सरकारबाट प्राप्त र नगरपालिकाद्वारा विनियोजित बजेट खर्च हुने गरी एक करोड ११ लाख रुपैयाँमा ठेक्का लगाएको पाइएको छ । ७० लाख रुपैयाँ भुक्तानी नै भइसकेको उप–प्रमुख नितु कोइराला थापाले जानकारी दिएकी छिन् ।
ती योजनासहित आर्थिक बेथिति र विवादबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेकै कारण बेलबारीका जनप्रतिनिधि तथा कर्मचारी दुई खेमामा विभाजित भएका छन् । कैफियतबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने प्रशासन शाखाका प्रमुख तथा सूचना अधिकारी महेन्द्र खड्कालाई कार्यपालिकाको बैठकको हवाला दिँदै प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले खड्कालाई जिम्मेवारीबाट हटाएका छन् । तर, कार्यपालिका बैठकको ‘माइन्युट’मा भने नगरप्रमुख दिलप्रसाद राई र कार्यपालिका सदस्य सचिव नपाका प्रमुख प्रशाकीय अधिकृत ढकालले हस्ताक्षर गरेका छन् ।
प्रशासन प्रमुख खड्कालाई ‘कार्यपालिकाको गोपनियता भङ्ग गर्ने, कार्यालयको हित विपरीत काम कारवाही गर्ने, प्रशासन शाखा प्रमुखको लगायत पदीय मर्यादा विपरीत काम कारवाही’ गरेको भन्दै ‘हालको जिम्मेवारीबाट हटाई आवश्यक व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, विराटनगरमा लेखी पठाउने निर्णय गरिएको’ पत्र प्रमुख प्रशासकीय अधिकृतले थमाएका छन् । जिम्मेवारीबाट मुक्त गरिएको पत्र दिइएपछि बिहीबार खड्का नगरपालिका कार्यालयमा हाजिर भएनन् ।
लामो समयदेखि अल्झिएको बेलबारी– १ मा निर्माणधीन शिशौली पर्यटन क्षेत्रको कामको भुक्तानी नगरसभाबाट विनियोजित बजेट रु. २० लाख मात्र थियो । तर, नगर प्रमुख र आफूले समेत त्यति नै रकम भुक्तानी दिने भनि दिएको निर्देशन विपरीत असार मसान्तमा लेखा प्रमुखले ६० लाख रुपैयाँ भुक्तानी दिएको उप–प्रमुख थापाले बताएकी छन् ।
“यो भुक्तानी के कसरी कुन निर्णयका आधार गरेको हो ? भन्ने विषयमा मैले प्रमुख प्रशाकसीय अधिकृतसहित नगर प्रमुखलाई ध्यानाकर्षण गराउँदा कुनै स्पष्टीकरण वा कारवाही गरिएन”, थापाले भनिन्,“तर, अख्तियारमा उजुरी दिएको भन्ने आरोप समेत पुष्टि नभएको अवस्थामा अर्को कर्मचारीलाई चाँहि कारवाही अघि बढाइएको छ । यसले कसैलाई लाखा कसैलाई पाखा बनाइ कार्य संचालन गर्नु के न्याय संगत देखिन्छ ?” आफू न्यायिक समितिको संयोजकसमेत हुनुको नाताले कर्मचारीबीच भेदभाव भएको महसुस गरेको दाबी गरिन् ।
बेलबारी–७ मा नगरपालिकाले भाष्कर कन्ट्रक्सन्स एन्ड सप्लायर्स बेलबारी–११ लाई एक करोड ११ लाख १६ हजार २०० रुपैयाँमा नदी नियन्त्रण तथा घाट व्यवस्थापन विपद् जोखिम नियन्त्रणको नाममा ठेक्का सम्झौता गरेको थियो । यो ठाउँ निजी जग्गामा रहेको उप–प्रमुख थापाले बताएकी छिन् ।
“सहिद स्मृति प्रतिष्ठानको नाममा विनियोजित बजेट खर्च गर्न सम्बन्धित प्रतिष्ठानकै नाममा जग्गा प्राप्तिपछि कार्यान्वयन गर्नुपर्ने थियो”,थापाले भनिन्, “जग्गाधनी अमेरिका बस्छन् । सम्पर्क मेयरसँगै भएको हो । जग्गा दिने भनेको हो । परिवारका सदस्य यतै छन् । समितिमा पनि बसेका हुन । विश्वासले दिएको हो तर जग्गामा मुद्दा लागेको छ भन्ने आयो । कहिले पास गरिदिनु हुन्छ ? भन्दा मलाई थाहा छैन् भन्ने जवाफ आयो । तर, नगरपालिकाको स्वामित्वमा जग्गा नआएकै अवस्थामा ७० लाख भुक्तानी भएको छ ।” यो कामलाई संघीय सरकारको ७० र बेलबारी नपाको ३० प्रतिशत बजेट विनियोजित थियो । निर्माण गरिएको संरचना भएको सात कठ्ठा जग्गा बेलबारी–७ की लक्ष्मी कार्कीको नाममा छ । उनी अमेरिका बस्छिन् ।
भुक्तानीअघि आफूले अनुगमन गरी ‘नगरपालिकाको स्वामित्वमा नरहेको जग्गामा भएको कामको लागि भुक्तानी दिनु अख्यितार दुरुपयोग हुने’ भन्दा प्रमुख प्रशासकीय अधिकृत ढकाल र मेयर राईले ‘गर्दा फरक नपर्ने’ बताएपछि अनुगमन प्रतिवेदन तयार गरेको जिकिर गरिन् । भनिन्,“काम अघि नबढाइँदा बजेट फिर्ता जान्छ भनियो । मलाई विकास विरोधी भन्न थालियो । वडा नम्बर ७ का वडाध्यक्ष पनि दबाबमा पर्नुभयो । प्रमुख प्रशाकीय अधिकृत र मेयरले पनि केही हुँदैन भन्नुभयो । भोलि नराम्रो हुन्छ भनेकी थिएँ तर मलाई पेलेर काम अघि बढाइयो ।”
यसबारे जिज्ञासा राख्दा बेलबारी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत किरण प्रसाद ढकालले भुक्तानी भएको बजेटको अंक आफूलाई मुखाग्र नभएको बताउँदै भने,“यत्ति नै अंक हो भन्ने मलाई याद भएन । अभिलेख हेर्नेपर्छ । त्यो भन्न मिल्दैन । काम चालू छ अझै भुक्तानी हुन्छ । जग्गा नगरपालिकाको स्वामित्वमा आउने प्रक्रियामा छ ।”
कर्मचारी खड्कालाई ‘कुन कानुनलाई टेकेर कारवाही गर्नु भएको हो ?’ भन्ने प्रश्न गर्दा कार्यपालिकाले निर्णय गरी जिम्मेवारीबाट हटाउने निर्देशन दिएकाले सोहीअनुरुप आफूले पत्र लेखेर दिएको बताउँदै भने,“कर्मचारीको जिम्मेवारी र मर्यादा विपरीत भयो भन्ने कार्यपालिकाको ठहर थियो । म काठमाडौ थिएँ तर उहाँले प्रशासन शाखामा बसेर कार्यालयको हित विपरीत हुने गरी काम गर्नु भएको रहेछ ।” कार्यपालिकाका सदस्यहरुले नै कारवाही गर्न भनेर प्रस्ताव ल्याएको तर खड्काको संरक्षणकै लागि कुनै ऐन, नियम वा दफा बमोजिम नभई संरक्षण गर्न शाखाको जिम्मेवारीबाट हटाएको जिकिर गरे ।
बेलबारीको विवाद र आर्थिक बेथितिबारे कार्यालय परिसरमै जिज्ञासा राख्दा मेयर दिल प्रसाद राईले “अहिले आफू एउटा मरिमराउमा मलामी हिंडेकोले बोल्न फुर्सद छैन । पछि आएर भेट्नु होला । बाँकी कुरा प्रमुख प्रशासकीय अधिकृतसँग गर्नुहोला” भन्दै तर्किए ।
के हो नगर अधिवेशनको विवाद ?
बेलबारी नगरपालिकाले माघ २८ गते कार्यपालिका बैठक र २९ गतेको हिउँदे नगरसभाको अधिवेशन आह्वान गरेको थियो । तर, त्यसका लागि आवश्यक पूर्व तयारी नपुगेको र त्यहीबेला अचानक स्वास्थ्य समस्यासमेत भएको कारण अधिवेशन तथा कार्यपालिका बैठक केहीदिन सार्नेगरी नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग उपमेयरले सल्लाह गरेकी थिइन ।
नगरसभाको समय सार्न पनि कार्यपालिका बैठक बस्नुपर्ने भएकोले उक्त बैठकमा केही ऐन संशोधनका एजेण्डाहरुमा मात्र छलफल गर्ने र बजेटलगायत कर्मचारीको विषयमा पछि छलफल गर्ने भन्ने सहमति थियो । तर, २८ गतेको कार्यपालिका बैठक बस्यो । छलफलका लागि पेश भएका एजेण्डाबाहेक प्रशासन शाखाका प्रमुख महेन्द्र खड्काको विषयमा निर्णय भयो । आफ्नो कुरासमेत राख्ने अवसरबाट बञ्चित गराइ एक्कासि जिम्मेवारीबाट हटाउने वा फिर्ता पठाउने निर्णय गरिएको उप–प्रमुख थापाले बताइन । बैठकमा उपप्रमुख थापा,कार्यपालिका सदस्य सञ्चमाया लिम्बू, बेलबारी ८ का वडाध्यक्ष धनपति गौतम भने अनुपस्थित थिए ।
न्यायिक समितिको संयोजकसमेत भएको कारण कुनैपनि कर्मचारीको पिरमर्काको विषयलाई न्यायगंत रुपमा हेर्नुपर्ने र अन्य कर्मचारीले समेत गरेको नीति निर्देशन विपरीतका कामकारवाही बारेमा समेत प्रमुख प्रशासकीय अधिकृत काठमाण्डौबाट आएपछि छलफल गर्ने भनि नगर प्रमुखले भनेको र कुनैपनि छलफल तथा परामर्श समेत नगरी एकलौटी शासन संचालन गर्ने मनासयले वदनियत रुपमा माघ २८ गतेको बैठकलाई माघ २९ गतेको १२७ औं कार्यपालिका बैठक नै नबसेको दिनको कार्यपालिकाको निर्णय वेभसाइटमा सार्वजनिक गरिएको थापाले बताइन् ।
कर्मचारी खड्काले के गरेका थिए ?
घाट निर्माण निजी जग्गा भएको लगायत आर्थिक अनियमितताको विषय खड्काले अख्तियारमा उजुरी पठाएको दाबी गरिएको छ । उजुरी सम्बन्धी पत्र खड्काको ल्यापटपमा आइटीका कर्मचारीले देखेर मेयर दिलप्रसाद राईलाई पोल लगाएको र सोही रिस साँध्न कारवाहीको डण्डा चलाइएको एक कर्मचारीले बताएका छन् ।
यो बखेडासँगै नगरपालिकाका चार जना कर्मचारीलाई बेलबारीबाट हटाउन मेयर राई र प्रमुख प्रशाकीय अधिकृत सक्रिय भएको बताइएको छ । तर, यसबारे खड्काले भने आफूलाई लगाइएको आरोप पुष्टि हुने आधार नरहेको संचारकर्मीहरुलाई बताएका छन् ।
“ल्यापटपमा पत्र भेटिएको भनियो तर त्यो पत्र कार्यपालिकामा देखाइएन । ल्यापटपमा अख्तियारलाई लेखिएको चिठी भेटिएको भनियो । तर, खड्काले त्यो मेरो होइन भन्नुभयो । अस्विकार गर्नुभयो,” उपप्रमुख थापाले भनिन्,“प्रमुख प्रशाकीय अधिकृतले ह्यान्डल गर्न सकेनन् । हामी समक्ष ल्याएपछि सबै कार्यपालिका सदस्यले पनि जान्ने मौका त पाउनु पर्ने हो । नराखेको एजेण्डा राखेर सदस्य सचिवको हैसियतमा प्रमुख प्रशाकीय अधिकृत र मेयरले मात्र सही गरेका छन् ।”
उप–प्रमुख थापाले बिहीबार कार्यकक्षमै पत्रकार सम्मेलन गर्दै जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध सुधार गरेर जनताको असन्तुष्टिलाई मेयरले घटाउनुको बदला दुरी बढाउने काम गरेको आरोप लगाएकी छिन् ।