काठमाडौं । खुम्बु क्षेत्रमा उडान अवरोधले पर्यटन क्षेत्र नै धरासयी भएको भन्दै सरोकारवालाहरूले चिन्ता जनाएका छन् । पर्यटन क्षेत्रमा काम गर्दै आएका संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै उडान नरोक्न आग्रह गरेका हुन् ।
वायुसेवा सञ्चालक संघ, एक्सपिडियसन अपरेटर्स एसोसिएसन, होटेल संघ, उद्योग परिसंघ, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन र नेपाल एसोसियन टुर एन्ड ट्राभल एजेन्ट्स्ले संयुक्त विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमबाट समस्या समाधान गर्न माग गरे ।
खुम्बु पासाङल्हामु गाउँपालिका, स्थानीय युवा समूहलगायत अन्य संघ–संस्थाले पुस १७ देखि खुम्बु क्षेत्रमा हेलिकोप्टर उडानमा रोक लगाएका थिए ।
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै उडान रोकेका थिए ।
उडानमा लगाएको प्रतिबन्ध पटक–पटक वार्ता गर्दा पनि कुनै निक्र्योलमा पुग्न सकेको छैन । माघ २८ गते पर्यटनसँग सम्वन्धित संघ संस्था र अवरोध पक्षसँगको वार्ता निष्कर्षमा पुग्न सकेन । समस्या चाँडोभन्दा चाँडो समाधान गर्न सरोकारवालाहरूले आग्रह गरेका छन् ।