काठमाडौं । दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन तीन खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार दुबई प्रस्थान गर्ने भएको छ ।
फेब्रुअरी ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा एक पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । नवराज कार्कीले पुरुष ४ सय मिटर र एक हजार ५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । विलिशा अर्यालले महिला १ सय मिटर दौड र सटपुट तथा प्रभा आङडेम्वेले महिला २ सय/४ सय मिटर दौड र लङजम्पमा सहभागी हुने छन् ।
यसै प्रतियोगिताको प्रदर्शनका आधारमा नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमाका लागि खेलाडी छनोट गरिने बताइएको छ ।
टिम व्यवस्थापकमा साङबु भोटे, प्रशिक्षकमा ओलम्पियन विमला राना मगर र अफिसियलमा गीतादेवी दाहाल छन् । टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपकी सदस्य अञ्जना श्रेष्ठ र पारा एथलेटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।