काठमाडौं । लामिनार टायल्सको उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले स्वीकृति पाएसँगै आउँदो ६ महिनाभित्र आईपीओ जारी गर्ने भएको हो ।
सेयर निष्कासन कार्यका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको पनि कम्पनीले जनाएको छ ।
“लामिनार टायल्सलाई शतप्रतिशत भिट्रिफाइड टायल्स ब्रान्डका रूपमा बजारमा व्यापक रुचाइएको छ,” कम्पनीका अध्यक्ष सुब्रत धितालले भने, “हामीलाई विश्वास छ कि यो आईपीओले हाम्रो व्यवसाय विस्तारलाई थप गति दिनेछ । गुणस्तर र नवीनतामा निरन्तर सुधार गर्दै, औद्योगिक व्यवस्थापनलाई सुदृढ बनाउने हाम्रो यात्रामा यो एउटा महत्त्वपूर्ण कोसेढुंगा सावित हुनेछ ।”
उत्पादनमार्फत नेपाली उपभोक्ताहरूका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पूरा गर्ने, विविध विकल्पहरू प्रदान गर्ने र उच्च गुणस्तरको टाइल्सहरू उपलब्ध गराउने मुख्य उद्देश्यका साथ कम्पनीले गत वर्षदेखि सञ्चालन थालेको हो ।
बर्दियाको गुलरियास्थित साढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ ।
करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिकलगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका छन् ।