काठमाडौं । प्रथम पुष्पराज स्मृति टेबल टेनिस प्रतियोगिता आगामी माघ २४ देखि २६ गतेसम्म आयोजना हुने भएको छ ।
सोमबार आयोजक खोल्चा पुखु खेलकुद समितिले पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा राष्ट्रिय खेलाडीहरू समेतले सहभागिता जनाउने आयोजकले बताएको छ ।
यस प्रतियोगितामा मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान्स (सिंगल ४० वर्षमाथि), भेट्रान्स सिंगल (५० वर्षभन्दामाथि), मेन्स भेट्रान्स सिंगल (६० वर्षभन्दामाथि), आन्तरिक वडा ११ , यू–१६ सिंगल गरेर ६ स्पर्धामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा मेन्स गिल्स, वुमेन्स सिंगल स्पर्धाको विजेताले प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई १५ हजार तथा तेस्रो हुने दुवै सेमिफाइनलिष्टलले सात हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन् । सबै भेट्रान्स सिंगल, आन्तरिक वडा ११, र यू–१६ सिंगलको स्पर्धाको विजेताहरू प्रथम हुनेले १० हजार, दोस्रो हुनेले पाँच हजार तथा तेस्रो दुवै सेमिफाइन्लिष्टले दुई हजार ५०० पाउनेछन् ।
आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट आठ लाख ५० हजार रुपैयाँ रहेको छ । साथै, यस प्रतियोगिताको मुख्य प्रायोजनामा ललितपुर वडा नम्बर ११ रहेको छ । प्रतियोगिताको लागि वडाले आठ लाख ५० हजार प्रदान गर्ने भएको छ । माघ २४ देखि सुरु हुने प्रतियोगिता माघ २६ गतेसम्म आयोजना हुनेछ ।