site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'नो केबलकार' पक्षको माइतीघरमा प्रदर्शन, समस्या के हो ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । सोमबार माइतीघरमा ‘नो केबलकार’ पक्षले विरोध गरेको हो । प्रदर्शनमा पाथीभरा क्षेत्रमा केबलकार बनाउन लागेपछि विरोध भइरहेको छ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सरकारले जबर्जस्ती केबलकार निर्माण गर्न लागेको भन्दै विरोध जनाएका छन् ।

केबलकारको सम्झौता खारेज गरेर अन्य ठाउँमा बनाउनुपर्ने बताए । सरकारले व्यापारीको पक्षमा लागेर पहिचानवादीलाई पाखा लगाउन लागेको भन्दै महतोले केबलकार बनाउने योजना फिर्ता नभएसम्म आफूहरू पछि नहट्ने बताए । धार्मिक आस्थामाथि खेलबाड गर्न लागेको भन्दै उनले सरकारले एकातिर वार्ता टोली गठन गर्ने र अर्कातिर केबलकार निर्माण गरिरहेको बताए ।

पाथीभरा क्षेत्रमा केबलकार बनाउन लागेको भन्दै केही पक्षले त्यसको विरोध गरिरहेको छ । आन्दोलन चर्केपछि एक सातादेखि यातायात ठप्प छ । गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुईजनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको हो ।

फुङलिङ–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २ दशमलव ७ किमी केबलकार निर्माणको तयारी भइरहेको छ । आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् राख्नुपर्ने माग गर्दै आएका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मेडाँडामा मोटर बाटोको ट्र्याक पुगेपछि उद्घाटन गर्न तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य शाह ०४४ पुस १९ मा फुङलिङ पुगेका थिए । त्यसक्रममा ओलाङचुङगोलाका व्यापारी छवाङ तेन्जिङ शेर्पाले पाथीभरामा केबलकार बनाउनुपर्छ भन्ने प्रस्ताव गरेका थिए । 

छवाङ, सोनाम तेन्जिङ र फुर्बु वालुङले ०५४ मा कञ्चनजंघा केबलकार प्रालि दर्ता गरेका थिए । केबलकार निर्माणको तल्लो स्टेसन बनाउन काफ्लेपाटीमा ९२ रोपनी जमिन भएका ध्रुवनारायण श्रेष्ठ ०४३ सालका विराटनगर उपमहानगर प्रमुखले ०७२ मा पाथीभरादेवी केबलकार दर्शन प्रालि कम्पनी दर्ता गरेका थिए । 

त्यसअघि नै संघाई ग्रुपका सुभाष संघाईले त्रिवेणी केबलकार कम्पनी दर्ता गरिसकेका थिए । संघाईले केबलकार निर्माणका लागि सरकारबाट अनुमति लिन फुङलिङ नगरपालिका, तत्कालीन फुरुम्बु, फावाखोला गाविस र पाथीभरा क्षेत्रका ६ वटा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षबाट सिफारिस लिएका थिए । 

फुङलिङ नगरपालिकाको कार्यपालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन, ०७४ अनुसार ०७५ जेठ १३ मा पाथीभरा माता दर्शन केबलकार प्रालिलाई निर्माणको अनुमति दियो । अनुमति लिएको केही वर्षमा ध्रुवनारायण श्रेष्ठको पाथीभरा देवी केबलकार दर्शन प्रालि कम्पनीको स्वामित्व यती समूहले लियो । त्यसपछि श्रेष्ठ बाहिरिए । 

यती समूहले अहिले आइएमई ग्रुपलाई कम्पनी बिक्री गरेको छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकाल आइएमई ग्रुप प्रमुख हुन् । उनले यसअघिका विवादका विषयमा आफू जानकार नभएको र सातै प्रदेशमा एक–एकवटा केबलकार बनाउने आफ्नो योजनाअनुसार पाथीभरामा पनि केबलकार स्थापना गर्न लागेको बताए । दुई दशमलव ७५ किमी लामो दूरीको केबलकार निर्माणका लागि तीन अर्ब लगानी गर्ने योजना ग्रुपको छ । “हामीले व्यापारभन्दा आर्थिक विकास र रोजगारीको प्राथमिताका दिएका छौँ,” उनले भने, “राष्ट्रियस्तरबाटै समाधान गरेर लगानीको वातावरण बनाइदिनुपर्छ ।”

विवादको सुरुआत

पाथीभराको गुरुयोजना बनाउन पुरातत्त्व विभागको टोली बोलाइएको थियो । उक्त टोलीमा आएका कर्मचारीले मूर्तिहरू राखेर सांस्कृतिक अतिक्रमण भएको र पाथीभरालाई प्राकृतिक रूपमै राख्न यसलाई हटाउनुपर्ने सुझाव दिएका थिए । त्यही अभिव्यक्तिपछि पहिला यसको नाम मुक्कुमलुङ रहेको र अतिक्रमण भएर पाथीभरा नाम राखिएको आवाज उठ्न थाल्यो । अहिले श्री लिम्बूको नेतृत्वमा मुक्कुमलुङ संरक्षण समिति र खगेन्द्र फेम्बुको नेतृत्वमा पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति गठन भएको छ ।

‘मुक्कुमलुङ’लाई अतिक्रमण गरेर ‘पाथीभरा’ बनाइएकाले ‘मुक्कुमलुङ’ नै राख्न आन्दोलनरत पक्षले सरकारलाई पटकपटक ज्ञापनपत्र पनि बुझाएको थियो । मुक्कुमलुङमा सांस्कृतिक अतिक्रमण गरिएको र लिम्बू समुदायको मुन्धुमीस्थल भएको उनीहरूको दाबी छ । आन्दोलनरत समूहको एकमात्र माग मुन्धुमीस्थलमा कुनै पनि हालतमा ठूला पूर्वाधार बनाउन नदिने छ । विवादमा अहिले ‘नो कोशी’ आन्दोलन पनि सामेल छ । पहिचान पक्षधर नेता अहिले मुक्कुमलुङ संरक्षण अभियानमा जोडिएका छन् ।

गत माघ १२ मा बलुडाँडामा गोली चलेपछि विवादले राष्ट्रिय मुद्दाको रूप लिएको छ । पाथीभरामा केबलकार निर्माणको विषयमा विवाद हुँदा गत शनिबार फुङलिङ नगरपालिका–११ बलुडाँडामा केबलकार निर्माणको विरोध गर्दै मुक्कुम्लुङ बचाउ संघर्ष समितिले गरेको प्रदर्शनमा झडप हुँदा प्रहरीको गोली लागि चारजना घाइते भएका थिए । प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन् । यमबहादुर लिम्बू र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो । प्रहरीले गोली चलाएपछि आन्दोलनले राष्ट्रिय मुद्दाको रूप लिएको छ ।

नो केबलकार समूहहरूले गत मंगलबारदेखि मेची राजमार्ग, तमोर कोरिडोर, तथा ताप्लेजुङमा सदरमुकाम आउने सडकमा यातायात बन्द गरेको थियो । आन्दोलनरत पक्षले थप माघ २० र २१ गते नौ जिल्ला (लिम्बूवान) बन्दको घोषणा समेत गरेका छन् ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुुवासभालगायतको जिल्ला बन्दको घोषणा गरेको हो । यही माघ २० र २१ गतेसम्म आन्दोलनरत पक्षको मागको सम्बोधन नगरे २२ गतेदेखि अनिश्चितकालीन लिम्बूवान आमहडताल घोषणा गरिने जनाइएको छ ।

वार्ता टोली गठन

यता सरकारले पाथीभरा (मुक्कुम्लुङ)क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro