काठमाडौं । घरेलु मैदानमा जारी नेपाली महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली टिमले लगातार तेस्रो हार बेहोरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्ससँग १५ रनको हार बेहोरेको हो ।
खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो ।
नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । उनले ३२ बलमा एक छक्का प्रहार गरिन् । ओपनर सम्झना खड्काले २५ बलमा चार चौकासहित २३ रन थपिन् । यस्तै, पूजा महतोले १८ रन बनाउँदा कविता जोशीले १४ र सीता रानामगरले १० रन जोडे ।
नेपालकी रुविना क्षेत्री ‘गोल्डेन डक’ हुँदा विन्दु रावल पनि शून्यमै पभेलियन फर्किइन् ।
नेदरल्यान्ड्सकी एरिस ज्विलिङ, हिथर साइगेर्स र क्यारोलिन डे लिंगेले समान दुई विकेट लिइन् । यस्तै, इभा लिंक र इसाबेल भान डेर वोनिङले एक–एक विकेट लिइन् ।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४० रनको योगफल खडा गरेको थियो ।
डच टिमबाट कप्तान बाबेटे डे लिडेले सर्वाधिक ४१ रन बनाइन् । उनले ३८ बलमा चार चौका र एक छक्का प्रहार गरिन् । यस्तै, हिथर साइगेर्सले २६ रन जोड्दा ओपनर फेबे मोल्केनबोर र रोविने रिकेले समान २१ रन थपिन् ।
नेपालकी सीता रानामगरले पाँच विकेट लिइन् । तीन ओभर बलिङ गरेकी सीताले १२ रनमात्रै खर्चिइन् । मनिषा उपाध्यायले दुई विकेट लिँदा कप्तान इन्दु वर्मा र कविता जोशीले समान एक विकेट हात पारे ।
नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा नेदरल्यान्ड्ससँगै २० रनको हार बेहोरेको थियो । दोस्रो खेलमा नेपाललाई थाइल्यान्डले चार विकेटले हराएको थियो ।
नेपालले अब मंगलबार थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ ।