काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा आर्मीलाई ३–२ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२२ ले जितेको पुलिसले पुनः चौथो सेट २३–२५ ले हार बेहोरेको थियो ।
तर, पाँचौँ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५–१२ जित निकाल्यो । पराजित भएको आर्मीले अब गण्डकी प्रदेश र भारतको सुनिल भलिबलबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
यसअघि, शुक्रबार बिहान भएको खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपीएफ महिलातर्फ फाइलनमा प्रवेश गरेको थियो । पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइलन प्रवेशका लागि टिपटक न्यू डायमन्ड स्पोर्ट्स क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।
अब आजको तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर हुनेछ । एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब प्रतिष्पर्धा गर्नेछन् । एलिमिनेटरको विजेताले आर्मीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।