
काठमाडौं । मर्चेन्ट बैंकर्सहरूको छाता संगठन नेपाल मर्चेन्ट बैंकर संघले तेस्रो एमबीएएन स्पोर्ट्स मिट २०२५ आयोजना गर्ने भएको छ । संघले असार ६ र ७ गते उक्त स्र्पोट्स मिट २०२५ आयोजना गर्न लागेको संघका अध्यक्ष रामेन्द्र रायमाझीले जानकारी दिए ।
संघले मंगलबार विज्ञप्ति जारी गर्दै काठमाडौंको हाडिगाउँस्थित धनयन्तरी स्पोर्ट्स फुटसलमा आउँदो शुक्रबार र शनिबार फुटसल, ब्याड्मिन्टन र टेबलटेनिस गरी दुईदिने खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
प्रतियोगितामा संघमा आवद्ध २६ मध्ये २२ वटा बैंकले भाग लिनेछन् । प्रतियोगिताअन्तर्गत फुटसलमा पुरुष र महिला गरी दुई इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
फुटसलमा पुरुषतर्फ १५ र महिलातर्फ आठ टिमले भाग लिएका छन् । फुटसलको पुरुषतर्फ विजेता टिमले ८० हजार नगदसहित शिल्ड र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ ।
महिलातर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछ । पुरुष र महिला दुवैतर्फका उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्ताले समान १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
ब्याड्मिन्टनतर्फ पुरुष, महिला र भेट्रान्स डबल्सका गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । पुरुष र महिलातर्फका विजेता र उपविजेताले क्रमश : ३० हजार र २० हजार रुपैयाँ पाउनेछन् ।
भेट्रान्स डबल्सका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद हात पार्नेछन् । ब्याडमिन्टनको पुरुषतर्फ ६, महिलातर्फ नौ र भेट्रान्सतर्फ पाँचवटा टिम छन् ।
प्रतियोगितामा टेबलटेनिसतर्फ पनि तीन इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । जसमा पुरुष सिंगल्समा २५, महिला सिंगल्समा ६ र भेट्रान्स सिंगल्समा सातवटा टिमले भाग लिएका छन् ।
टेबलटेनिसतर्फ पुरुष र भेट्रान्सका विजेताले समान १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पाउनेछन् । महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
मर्चेन्ट बैंकहरूमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई एकै ठाउँमा उपस्थित गराई खेलकुदको माध्यमबाट एकआपसमा चिनजान गर्ने र उनीहरू सबैलाई स्वस्थ बनाउने स्पोर्ट्स मिटको उद्देश्य छ ।
प्रतियोगिता संचालनका लागि विभिन्न मर्चेन्ट बैंकबाट पाँचजनाको एमबीएएन स्पोटर््स मिट कमिटी बनाइएको छ । जसमा दयाकृष्ण घिमिरे, अमोद अधिकारी , विपीन नेपाल, सविन बुढाथोकी, विजय पोखरेल छन् ।