site stats
बाह्रखरी :: Baahrakhari
खेल
भिनिसियसमाथि अभद्र व्यवहार गर्ने समर्थकलाई मड्रिड अदालतको कारबाही
भिनिसियस जुनियर ।

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडका फरवार्ड भिनिसियस जुनियरमाथि अभद्र व्यवहार गरिएको अदालतले ठहर गरेको छ । मड्रिडको एक अदालतले चार समर्थकलाई जेल सजाय तोकेको छ ।

सोमबार ला लिगाले विज्ञप्तिमार्फत चार समर्थकलाई जेल सजाय तोकिएको जनाएको छ । “यो आपराधिक प्रयासमा दोषी ठहर भएका समर्थक पछिल्लो महिना रियाल मड्रिडका खेलाडीमाथि रंगभेदात्मक कार्य गर्नेहरू हुन्,” विज्ञप्तिमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यी समर्थक ‘मड्रिड हेट्स रियाल’अंकित ब्यानर बोकेका र ब्राजिलको राष्ट्रिय खेलाडी भिनिसियसको पुतला जलाउने कार्यमा संलग्न भएका अदालतले ठहर गरेको छ । उनीहरूले सन् २०२३ को जनवरीमा कोपा डेल रेअन्तर्गत एटलेटिको मड्रिड र रियालबीचको खेलमा एउटा पुलमा पुतला जलाएका थिए ।

अदालतले यी चारमध्ये एक समर्थकलाई १५ महिनाको जेल सजाय तोकेको छ । तीन समर्थकलाई समान सात महिना जेल सजाय सुनाइएको छ ।

अदालतको फैसलापछि उनीहरूले भिनिसियस, रियाल मड्रिड, ला लिगाा र स्पेनिस फुटबल संघ (आरएफईएफ)सित माफी माग्दै पत्र लेखेका छन् ।

अदालतले उनीहरूलाई जरिवाना पनि तोकेको छ । एक समर्थकलाई एक हजार ८४ युरो जरिवाना तोकिएको छ । अरू तीन समर्थकलाई जनही ७२० युरो जरिवाना तोकिएको छ । यी चारैजनालाई ला लिगा र स्पेनको आधिकारिक खेल हुँदा रंगशाला प्रवेशमा प्रतिबन्ध समेत लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १४:१६
प्रतिक्रिया दिनुहोस्