काठमाडौं । पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटर चरणमा प्रवेश गरेको हो । पहिलो सेट २१–२५ अंकले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल गर्यो । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ अंकले आफ्नो पक्षमा पार्यो ।
जितसँगै गण्डकी पराजित समूहबाट ६ अंक प्राप्त गरेर शीर्ष स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ । हेल्प नेपाल दुई र एपीएफ एक अंक प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएका छन् । गण्डकीले अब शुक्रबार भारतको सुनिल भलिबल क्लबसँग खेल्नेछ ।
सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको थियो । पहिलो क्वालिफायरमा आर्मीले पुलिससँग खेल्नेछ । यसैगरी महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोर्ट्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बलको एपिएफ क्लब र आयोजक टाइगर ग्रुपबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता यही माघ २० गतेसम्म चल्नेछ । प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान पाँच लाख ८५ हजार ५५५ पुरस्कार पाउनेछन् । द्वितीयले रु दुई लाख ८५ हजार ५५५ र तृतीयले एक लाख ८५ हजार ५५५ प्राप्त गर्नेछन् ।
महिला तथा पुरुषतर्फ सर्वोत्कृष्ट हुने खेलाडीले जनही २५ हजार ७७७ पाउनेछन् । दुवैतर्फ विधागत उत्कृष्ट ठहरिने खेलाडीलाई जनही १० हजार ५५५ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिए ।