काठमाडौं । घरजग्गा व्यवसायी विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको अभियोग लागेका दुई जना पुर्पक्षका लागि जेल चलान भएका छन् । गोरखाको गण्डकी गाउँपालिका–४ का २८ वर्षीय निश्चल सुनार र नुवाकोट बेलकोटगढी नगरपालिकाका मार्सल भन्ने शैलेन्द्र तामाङ पुर्पक्षका लागि जेल चलान भएका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीस रेशराज शर्माको एकल इजलासले सुनार र तामाङलाई जेल चलान गर्ने आदेश गरेको हो ।
गोरखाको आरूघाट गाउँपालिका–८ का सिजन अधिकारी भने ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
प्रहरीका अनुसार, पुर्पक्षका लागि जेल चलान भएका सुनार र तामाङ दुवै विक्रममाथि आक्रमण गर्ने समूहका सदस्य हुन् । विक्रममाथि आक्रमण गर्दा अधिकारीको मोटरसाइकलको नम्बर परिवर्तन गरेर प्रयोग गरेको खुलेपछि उनीसमेत पक्राउ परेका थिए ।
मुख्य योजनाकार अझै फरार
सुनार र तामाङ पुर्पक्षका लागि जेल चलान भए पनि घटनाका मुख्य योजनाकार अझै फरार छन् । प्रहरीका अनुसार, मुख्य योजनाकार धरान उपमहानगरपालिका–१३ घर भई हाल बेलायत बस्ने ५० वर्षीया लक्ष्मी राई र धादिङको ज्वालामुखी गाउँपालिका–४ का रमेश सिलवाल अझै फरार छन् ।
उनीहरू दुवै विक्रममाथि आक्रमण गर्न लगाउने मुख्य योजनाकार भएको खुलेको प्रहरीको दाबी छ । उनीहरूबाहेक विक्रममाथि 'आक्रमण गर्ने' समूहका नाइके नुवाकोटको ककनी गाउँपालिकाका–४ का ३३ वर्षीय अजय लामा र गोरखाको आरूघाट गाउँपालिका–७ का दीपक बरामुसमेत अझै पक्राउ परेका छैनन् । उनीहरू कहिले नेपाल र कहिले भारत पुग्ने गरेको खुलेको छ ।
पुर्पक्षका लागि थुनामा पुगेका निश्चल र शैलेन्द्र दुवैले लक्ष्मी र रमेशकै योजनाअनुसार, अजयको निर्देशनमा विक्रममाथि आक्रमण गरेको बयान जिल्ला अदालत काठमाडौंमा दिएका छन् । लक्ष्मी र रमेशको लामो योजनापछि विक्रममाथि आक्रमण भएको खुलेको प्रहरी बताउँछ ।
विक्रममाथि आक्रमण घटनामा प्रहरीले गण्डकी प्रदेशका तत्कालीन सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) का सहयोगी टीका भण्डारी र पदम राईलाई समेत पक्राउ गरेर संगठित अपराध मुद्दाको कसुरमा सजाय हुनुपर्ने राय दिएको थियो ।
तर, जिल्ला सरकारी वकिल कार्यालयले भण्डारी र राईविरुद्ध मुद्दा नचल्ने निर्णय गर्दै पुस २९ मा मुद्दा दायर गरेको थियो ।
घरजग्गा व्यवसायी विक्रममाथि कात्तिक ११ गते उनको कार्यालय नजिकै लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा अन्धाधुन्ध रड प्रहार गरिएको थियो ।
यसअघि, विक्रमको गाडीभित्र लागुऔषध राखेर फसाउने योजनासमेत बनाएको खुलेको छ ।