site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रविधि जडानपछि भैरहवामा अन्तर्राष्ट्रिय उडान नियमित होला ?

काठमाडौं । नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) चलाउन प्रयासरत छ । कात्तिकदेखि केही अन्तर्राष्ट्रिय विमान कम्पनीले व्यवसायिक उडान सुरू गरे । तर बीचैमा रोके । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थल घाटामा छन् । यसअघि उडान सुरू गरेका अन्तर्राष्ट्रिय विमान कम्पनीले भिजिविलिटी समस्या देखाउँदै उडान रोकेपछि भैरहवामा आरएनपीएआर प्रणाली जडान गरेको छ । 
रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइज्ड रिक्वायरमेन्ट (आरएनपीएआर) प्रणाली जडानपछि ९०० मिटर भिजिविलिटीमा समेत उडान/अवतरण गर्न सकिने छ । आरएनपीएआर प्रविधिका कारण उडान/अवतरणको बेला भिजिविलिटीमा समस्या हुँदैन । तर अन्तर्राष्ट्रिय विमान कम्पनीहरू टिक्ने हुन वा होइनन हेर्न बाँकी छ ।

क्यानले जनवरी २३ (माघ १०) देखि आरएनपीएआर प्रणालीको सुरूवात गर्नेछ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आरएनपीआर प्रणालीले ९०० मिटर भिजिविलिटीमा काम गर्नेछ । यसले जहाज उडान/अवतरणमा सहजता थप्नेछ । जाडो महिनामा प्रतिकूल मौसमका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज होल्डमा बस्नुपर्ने वा डाइभर्ट हुनुपर्ने बाध्यता छ । 

“आरएनपीएआर प्रविधि जडानपश्चात् जहाज ल्याण्ड र टेकअफमा निकै सहज हुन्छ । यसले भैरहवाबाट व्यावसायिक उडानमा सहजता थप्नेछ । यसअघि भिजिविलिटीको समस्या रहेर केही समय उडान स्थगित गरेका विमानहरूले सहज रूपमा उडान सुरू गर्नेछन्,” उनले भने ।

भैरहवा विमानस्थलमा भीओआरडीएमई प्रणाली छ । त्यसमा उडान/अवतरण गर्न न्यूनतम भिजिबिलिटी १८०० मिटर आवश्यक पर्छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार, आरएनपीएआर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा कम भिजिविलिटीमा उडान/अवतरण गर्न सकिन्छ । 

भैरहवामा नेपाल वायुसेवा निगमसहित पाँच विमान कम्पनीले उडान सुरू गरेका थिए । तर, बीचमा प्रतिकूल मौसम, भिजिविलिटी कमलगायतका कारण देखाउँदै उडान रोकेका थिए । क्यानले आरएनपीएआर प्रविधि जडान राखेपछि भिजिविलिटीको कारण देखाएर उडान रोकेका अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले पुनः भैरहवा जान थालेका छन् । 

भैरहवामा यसअघि कात्तिकमा उडान सुरू गरेका कम्पनीले भिजिबिलिटी कम भएको कारण देखाउँदै उडान रोकेका थिए ।

फ्लाई दुबईले १३ जनवरी (पुस २९) बाट उडान सुरू गरेको छ । फ्लाई दुबईले डिसेम्बर १५ देखि उडान रोकेको थियो । फ्लाई दुबईले पुस २९ देखि दैनिक एक उडान सुरू गरेको क्यानका सूचना अधिकारी भुलले जानकारी दिए । 

भुलकाअनुसार, फ्लाई दुबईले १३ तारिकबाट दैनिक एक फ्लाइट गरिरहेको छ । ३१ जनवरीबाट जजिराले पनि सुरू गर्दै छ । फेब्रुवरी १ देखि थाई एयर एसियाले हप्ताको तीनवटा फ्लाइट गर्ने तयारी छ ।

यसअघि कात्तिक २३ गतेदेखि विमानस्थल स्तरोन्नतिको कारण देखाउँदै क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० प्रतिशत उडान कटौती गरेको थियो । यसले पनि भैरहवा जान विमान कम्पनीहरू बाध्यतामा थिए ।

कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बेलुका १० देखि बिहान ८ बजेसम्म बन्द गरेर स्तरोन्नतिका काम भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० प्रतिशत उडान कटौती भएपछि जजिरा, थाई एयर एसिया, कतार एयरवेज, फ्लाई दुबई र नेपाल एयरलाइन्सले भैरहवा विमानस्थलबाट उडान सुरू गरेका थिए ।

कतार एयरवेजले १५ दिन उडानपछि भैरहवामा निरन्तरता दिएन । अन्य कम्पनीले उडान गरे पनि पुसको सुरूवातसँगै भिजिबिलिटीको कारण देखाउँदै रोकेका थिए ।

थाई एयर एसियाले पूर्ण रूपमा उडान नरोकेको भैरहवा विमानस्थलका महाप्रबन्धक तिवारी बताउँछन् । “थाई एयर एसियाले पूर्ण रूपमा उडान रोकेको थिएन । फ्रिक्वेन्सी केही कम गरेको थियो । यात्रुको चाप हेरी २÷३ हप्तामा एउटा गर्दै आइरहेको थियो । कतारले फ्लाइट नै झिकेको हो । जजिरा र फ्लाई दुबईले रोकेका थिए, फ्लाई दुबई त सुरू भयो, जजिरा तयारीमा छ,” उनले भने । 

कतार एयरवेजले भैरहवाबाट पुनः उडान गर्ने विषयमा कुनै प्रतिक्रिया नदिएको सूचना अधिकारी भुल बताउँछन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले मंसिरसम्म तयार पारेको तथ्यांकअनुसार स्तरोन्नतिको काम ३४ प्रतिशत सकिएको छ । ट्याक्सी वे, पार्किङ एप्रोन र ह्यांगर निर्माणका काम समग्रमा मंसिरसम्म ३४.३३ प्रतिशत काम सकिएको छ ।

मन्त्रालयका अनुसार, पार्किङ एप्रोनको ४८ प्रतिशत निर्माण सकिएको छ । यस्तै, ट्याक्सी वेको निर्माण ३२ प्रतिशत सकिएको छ । ह्यांगर एप्रोनको निर्माण २३ प्रतिशत सकिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिसँगै हुने उडान कटौतिका लागि भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले गौतम बुद्ध र पोखरा विमानस्थल सञ्चालन गर्न प्याकेज समेत ल्याएको थियो । 

हवाई टिकटमा भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाई सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्यान्डिङ, नेभिगेसन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुटलगायत कार्ययोजना ल्याएको थियो । 

साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको थियो । भैरहवातर्फ केही उडान कम्पनी गए पनि पोखरातर्फ विमानस्थलतर्फ भने हालसम्म कुनै पनि अन्तराष्ट्रिय कम्पनीले नियमित उडान गरेका छैनन् । 

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्न क्यानबाट कुनै समस्या नरहेको गौतमबुद्ध महाप्रबन्धक तिवारी बताउँछन् । “हाम्रोबाट कुनै पनि विमान उडान र अवतरण गर्नुमा केही समस्या छैन,” उनले भने, “श्रम, भिसा सेन्टरलगायत केही सुविधा स्थापना भए उडान दीर्घकालीन हुन्छ ।” भैरहवाबाट यात्रु नै नपाएपछि कतारले १५ दिन मात्रै उडान गरेको थियो ।

आरएनपीएआर जडानपछि ९ सय भिजिबिलिटी हुँदा पनि उडान/अवतरण गर्न मिल्ने महाप्रबन्धक तिवारी बताउँछन् । हाल १८०० मिटर भिजिबिलिटीमा उडान/अवतरण हुने गरेको छ । आरएनपीएआर प्रविधि जडान भएपछि विमान कम्पनीका पाइलटहरूलाई तालिम, कम्पनीहरूको अनुमतिलगायत विषय बाँकी रहँदा दुई महिना लाग्ने तिवारी बताउँछन् । 

“विमान कम्पनीहरूले चासो देखाउनुपर्‍यो, पहिला त । यसको परीक्षण पनि गर्नुपर्ने हुन्छ । प्रकाशित भएपछि उडान कम्पनीहरूले पनि टेस्ट गर्ने भए । यसकारण केही समय लाग्छ,” उनले भने । 

पोखरा र भैरहवा विमानस्थल हाल घाटामा सञ्चालन भइरहेका छन् । गौतमबुद्ध विमानस्थल निर्माण गर्न ३५ अर्ब ६६ करोड र पोखरा विमानस्थल निर्माण गर्न २५ अर्ब ३४ करोड खर्च भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निम्ति ऋण अनुदानमा परिणत गर्न आग्रह गर्न अर्थ मन्त्रालयले चिनियाँ पक्षलाई पत्र समेत लेखेको छ । तर, चिनियाँ पक्षले जवाफ दिएको छैन । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro