site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरी नै अराजक ! जहाँ भेट्यो त्यहीँ कुट्न पाइन्छ ? 

काठमाडौं । चितवनमा एक युवालाई निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल सोमबार निलम्बनमा परे ।  भरतपुर महानगरपालिका–११ स्थित अस्थायी प्रहरी बिटका प्रमुखसमेत रहेका असई भुलेजले ती युवालाई प्रहरी चेकिङका क्रममा गएको १५ पुसको राति निर्घात कुटपिट गरेका थिए ।

आइतबारदेखि भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले आन्तरिक अनुसन्धान गरेर घटनामा संलग्न भुजेललाई निलम्बन गरेको हो ।  उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति नै बनाएको छ ।

प्रहरी आचरण विपरीत काम गरेको भन्दै उनी निलम्बनमा परेको र थप कारबाही छानबिन समितिको प्रतिवेदनका आधारमा गरिने चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

आम जनताको जिउधनको सुरक्षाका लागि खटिने प्रहरीबाट नै यसरी कुटाई खाने चितवनका युवा पहिलो व्यक्ति भने होइनन् । 

नागरिकको सामान्य कमजोरीमा सचेत गराउने र कानुन विपरीतका कार्य गर्दा कानुनी दायरामा ल्याउनुपर्ने प्रहरी कर्मचारी नागरिकमाथि आफैँ भौतिक आक्रमणको अवस्थामा पुग्नु राम्रो नभएको भन्दै न्यूनीकरण गर्दै जानुपर्ने प्रहरी अधिकृत नै बताउँछन् ।

फिल्डमा खटिएका प्रहरीका यस्ता गतिविधिले सिंगो प्रहरी संगठनप्रति नै नागरिकको भरोसा गुम्दै गएको कतिपय प्रहरी अधिकारी नै बताउँछन् ।  यसअघि ललितपुरको एकान्तकुनामा बाटोमा हिँडिरहेका डाक्टरमाथि ट्राफिक प्रहरीले नै कुटपिट गरेका थिए ।

२०७९ असारमा निदान अस्पतालमा कार्यरत डाक्टर कुलबहादुर घिसिङमाथि रातिको समयमा किन हिँडेको भन्दै ड्युटीमा खटिएका ट्राफिक प्रहरीले नै कुटपिट गरेका थिए । 

पछि ललितपुर प्रहरीले आन्तरिक छानबिन गरेर डाक्टर कुट्ने ट्राफिक प्रहरी जवान राजेन्द्र थापालाई निलम्बन नै गरेको थियो ।

यसअघि २०७७ असोजमा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै सडकमा निस्किएका ‘हन्ड्रेड’ (१००) नामक ग्रुपका अध्यक्ष बब्लु गुप्तामाथिसमेत प्रहरीले अमानवीय ढंगले कुटपिट गरेका थिए ।

बल्लुलाई प्रहरीले लखेटीलखेटी कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । 

यस्तै प्रकृतिका घटना अझै रोकिएका छैनन् । चितवनमा असई भुजेलले कुटेको भिडियो समेत भाइरल भएपछि प्रहरी पुनः विवादमा आएको छ ।

फिल्डका खटिने प्रहरी उग्र बन्दा संगठनकै बदनाम

फिल्डमा खटिने प्रहरी कर्मचारीको कमजोरीका कारण पुरै प्रहरी संगठनप्रति प्रश्न उठ्ने गरेको विषय नौलो होइन ।  यसलाई नै मध्यनजर गरेर प्रहरी प्रमुखहरुले विभिन्न लोकप्रिय नारा ल्याउँदै आएका छन् । यसअघिका आईजीपीहरूले ‘नागरिक बिना बर्दीका प्रहरी’, ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी सेवा’, ‘समुदाय प्रहरी साझेदारी’, जस्ता लोकप्रिय नारा ल्याएका थिए । 

तर, कार्यान्यवनको पाटोमा कडाइ नहुँदा फिल्डमा खटिने प्रहरी कर्मचारीले आफ्नो विवेक गुमाउँदै गएका छन् । 

फिल्डमा खटिने प्रहरी कर्मचारीका गुनासो धेरै आउन थालेपछि पूर्वआईजीपी शैलेश थापा क्षेत्रीले त प्रहरी कर्मचारीका लागि आचारसंहिता २०७७ जारी नै गरेका थिए ।

उक्त आचारसंहितामा प्रहरी कर्मचारीहरूले नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, अपराध नियन्त्रण एवम् प्रहरी कर्मचारीहरूको आचरण र व्यवहारमा समयानुकूल सुधार गर्नुपर्ने कुरा उल्लेख थियो ।

विभिन्न १४ बुँदे आचारसंहिताको बुँदा नम्बर ७ मा लेखिएको थियो, “प्रहरी कर्मचारीले ड्युटी गर्दा तथा सेवा प्रवाह गर्दा विनम्रताका साथ सभ्य र शिष्ट बोलीचालीको प्रयोग गरी यथासम्भव शीघ्र, सहज र जवाफदेही ढङ्गबाट सेवा प्रदान गर्नुपर्ने र फरक क्षमता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक तथा बालबालिकाहरूलाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने ।”

तर, उक्त आचारसंहिताको पालना फिल्डमा खटिने थोरै प्रहरी कर्मचारीले मात्रै पालना गरे ।  कतिपय ठाँउमा हिरासत रहेका थुनुवामाथि समेत प्रहरीबाट दुर्व्यवहार हुने गरेको आरोप लाग्ने गरेको छ ।  प्रहरी प्रवक्ता (डीआईजी) दिनेश आचार्यले भने फिल्डमा खटिने प्रहरी कर्मचारीको आचरण क्रमिक रुपमा सुधार हुँदै गएको बताउँछन् ।

उनी भन्छन्,‘‘ड्युटीमा जहाँ खटिएका प्रहरी भए पनि नागरिकबाट गुनासो आउनु राम्रो कुरा होइन । यसलाई न्यूनीकरण गर्न हामीले विभिन्न सचेतनाका कार्यक्रम गर्दै आएका छौं । पहिलेको तुलनामा धेरै सुधार पनि भएका छन् । हामी यसलाई न्यूनीकरण गर्ने प्रसाय गर्छौं ।’’ 

कतिपय व्यक्तिका कारण पनि यस्तो घटना हुने डीआईजी आचार्यको भनाइ छ । 

प्रहरीले कुनै पनि नागरिकबाट नियमको उल्लंघन भयो भने त्यसको नियन्त्रका लागि सामान्य बल प्रयोग गर्न पाउने भए पनि अत्यधिक बल प्रयोग गरेर व्यक्तिको मानवअधिकार नै उल्लंघन हुने खालका गतिविधि हुनु दुखद भएको केही पूर्वप्रहरी अधिकारी नै स्वीकार गर्छन् ।

पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) पूर्णचन्द्र जोशीले भने पछिल्लो सयम समाजमा देखिएको अराजक प्रवृतिको असर प्रहरी कर्मचारीमा पनि देखिएको बताए ।

उनले भने,‘‘प्रहरी कर्मचारी व्यावसायिक हुनु जरुरी नै छ । प्रहरी आफैँ भौतिक रुपमा उत्रिनु दुखद पाटो हो । तर, पछिल्लो सयम समय सामाजिक अराजकताका बढ्दो छ । मानिसमा भएको निरासाको प्रतिविम्ब त्यो पनि हो ।’’ 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro