काठमाडौं । घरेलु टोली गण्डकी प्रदेश र वाग्मती प्रदेश पोखरामा जारी ‘पोखरा कप’ राष्ट्रिय पुरूष बास्केटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा आज सम्पन्न सेमिफाइनलका आ–आफ्ना खेल जित्दै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् । सेमिफाइनलमा गण्डकीले कर्णाली प्रदेशमाथि ११६–१९स्कोरले जित हासिल गरेको हो ।
यता वाग्मतीले लुम्बिनीलाई ७८–३६ स्कोरले पराजित गर्दै उपाधि घरेलु टोली गण्डकीसँगको भेट पक्का गरेको छ । यस अघि लुम्बिनीले मधेस प्रदेशलाई संघर्षपूर्ण खेलमा ७२–६९ को स्कोरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
प्रतियोगिताअन्तर्गत भोलि तेस्रो र फाइनल खेल हुने गण्डकी प्रदेश बास्केटबल संघका अध्यक्ष धोजकुमार गुरूङले जानकारी दिए ।
प्रतियोगितामा उपाधि विजेता टिमलाई नगद एक लाख ११ हजार १११ रुपैयाँ, उपविजेतालाई नगद ६६ हजार ६६६ रुपैयाँ र तृर्तीय हुने टोलीलाई नगद ३३ हजार ३३३ रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष समेत रहेका संघका अध्यक्ष गुरूङले बताए ।
गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा यही माघ ७ गतेदेखि सुरू भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश बाहेकका ६ प्रदेशको सहभागिता रहेको थियो । पोखरामा सञ्चालन भएको यो प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछिको पहिलो राष्ट्रिय बास्केटबल प्रतियोगिता हो ।