site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पानी माग्दै हर्क साम्पाङको ‘सिंहदरबार यात्रा’

काठमाडौं । सिंहदरबारसँग जुधिरहने धरान उपमहानगरका मेयर हर्क साम्पाङ यतिखेर पानी माग्दै सिंहदरबारमा छन् । मंगलबार बिहान उनी रित्तो गाग्री बोकेर सिंहदरबारको ढोकामा पुगे ।

प्रहरीले रित्तो गाग्री सिंहदरबार छिराउन नदिए पनि काकाकुल धरानको प्यास मेटिने आस बोकेर उनी सिंहदरबार छिरे । उनको माग छ, “कोसीको पानी तानेर धरानसम्म पुर्‍याउनुपर्ने ।”

कोसीको पानी तानेर धरानसम्म पुर्‍याउनुपर्ने माग बोकेर साम्पाङले सिंहदरबारका कोठा–चोटा चाहरे । सिंहदरबारमा उनले सबैभन्दा पहिले खानेपानीमन्त्री प्रदीप यादवलाई भेटे । मन्त्रालयको ढोकाअगाडि ‘नो पाकिङ’ लेखिएको फुटपाथमा गाडी रोखेर साम्पाङ मन्त्रालय छिरे ।

Dabur Nepal
NIC Asia

त्यसपछि उनी अर्थमन्त्री विष्णु पौडेललाई भेट्न अर्थ मन्त्रालय छिरे । त्यहाँबाट उनी प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री कार्यालयमा लागे । दुई घण्टा पर्खिदा पनि प्रधामन्त्रीले साम्पाङलाई भेट दिएनन् ।

प्रधानमन्त्रीलाई नभेटिकनै बाहिर आएपछि साम्पाङले भने, “प्रधानमन्त्रीले भेट्न मान्नु भएन । रित्तो गाग्री बोकेर आएको भनेर उहाँ रिसाउनु भयो होला ।”

धरानलाई पानी खुवाउने वाचा गरेरै साम्पाङ मेयर निर्वाचित भएका हुन् । ८ जेठ २०७९ मा मेयर निर्वाचित भएलगत्तै साम्पाङले धरान आसपासका खोलाबाट धरानसम्म पानी ल्याउने अभियान चलाए ।

कोकाहा, सर्दु, खर्दु, निशाने र भालुखोलाबाट साम्पाङले धरान बजारसम्म पानी ल्याए । यो पानी ल्याउन उनले ‘श्रमदान’ अभियान चलाए । सक्नेले श्रमदान गरे नसक्नेले चन्दा दान गरे ।

उपमहानगरको नेतृत्वकर्ताले नै सरकारी प्रक्रियामा नगईकन व्यक्तिगत तबरमा खोलाखोल्सीबाट पानी ल्याएपछि उनको आलोचना पनि भयो । आलोचना गर्नेहरूलाई उनी भन्ने गर्छन्, “पानी चाहिएको की कागज ?”

मेयर निर्वाचित भएको तीन महिनापछि भदौ ०७९ मा साम्पाङको श्रमदान अभियानले धरानमा पानी आइपुग्यो । आसपासका खोला–खोल्सीबाट धरानसम्म पानी आइपुगे पनि त्यो दिगो भने थिएन । बर्खामा मात्र पानी हुने ती खोलाहरूमा हिउँद र चैत–वैशाखमा पानी हुँदैन ।

कोकाहा, सर्दु, खर्दु र निशाने खोलाको पानी धरानमा ल्याई पुर्‍याएपछि उनले यसबाट धरानले भोगिरहेको पानीको समस्या दीर्घकालका लागि समाधान नहुने बताएका थिए । उनले भनेका थिए, “अहिले हामीले गरेको प्रयास अल्पकालीन समाधान हो । धरानको पानीको समस्या दीर्घकालीन गर्न भने कोसीकै भर छ । कोसीकै पानी ल्याउनुपर्छ ।”

राणा प्रधानमन्त्री चन्द्र शमशेरले सन् १९५९ मा धरान सहरको जग हालेका थिए । महाभारत पर्वत श्रृखंलाको फेदमा रहेको धरान विस्तारै पूर्वी पहाडको व्यापारिक केन्द्र बन्यो । जनसंख्या बढ्दै गएपछि धरानमा पानीको अभाव हुन थाल्यो ।

धरानको पानीको माग पूरा गर्न भनेर १९७३ मा तुर्के खोलाको पानी ल्याइयो । तर, आजभोलि त्यहाँ पानी छैन । तुर्के खोलाको पानी सुकेपछि २०३६ देखि सर्दु खोलाको पानी धरानमा ल्याइयो ।

सर्दु खोलाको पानी पनि अपुग हुन थालेपछि २०६९ वैशाखमा एसियाली विकास बैंक (एडीबी)को ऋण तथा अनुदान सहयोगमा खानेपानी योजना सुरु भयो । यही आयोजनामा भ्रष्टाचार भएको भन्दै हर्क साम्पाङ अभियन्ता बने ।

एडीबीको खानेपानी आयोजनाको विरोध गर्दै अभियन्ता भएका हर्क साम्पाङ अन्तत धरानको मेयर बन्न पुगे । मेयर बनेर श्रमदान अभियानबाट धरानमा थोरबहुत पानी ल्याएपछि उनलाई लाग्यो यसले दिगो समाधान दिँदैन ।

त्यसपछि चैत २०७९ मा साम्पाङ काठमाडौं आइपुगे । सिंहदरबार छिरेर उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहरी विकासमन्त्री सीता गुरुङलाई भेटेर कोसीको पानी ल्याउने योजना बजेटमा राख्न अनुरोध गरे । त्यतिखेर उनले सिंहदरबारलाई घुक्र्याउँदै भनेका थिए, “खानेपानी मन्त्रालयले धरानको योजनालाई बजेट दिएन भने म आफैँ धर्ना बस्न आउँछु । खानेपानी नाथे पनि सरकारले दिन सक्दैन भने किन सरकार गठन गरिराख्नु नि ।”

कोसीको पानी ल्याउने योजनालाई बजेट नदिए सुनसरीका सांसदलाई धरान छिर्न नदिने भन्दै धम्क्याएका थिए साम्पाङले ।

उनले आफ्नो क्षेत्रका सांसदहरू अशोक राई, रमेश बस्नेत र विजय राईको नामै फेसबुकमा लेखेर ०८०÷०८१ को बजेटमा कोसीको पानी तान्ने योजना नपारेमा धरान छिर्न नदिने धम्की दिएका थिए । उनले लखेका थिए, “यसपालिको बजेटमा कोसीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ । तल तीनकुनेमै बोर्ड राखिनेछ फोटोसहितको ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !”

करिब दुई लाख जनसंख्या रहेको धरानका लागि कोसीको पानी ल्याउने भनेर सर्वेक्षण र विस्तृत परियोजना प्रतिवेदन समेत तयार भइसकेको छ । धरान खानेपानी बोर्डका अनुसार धरानमा दैनिक तीन करोड लिटर पानी आवश्यक पर्छ ।

कोसीको पानी धरान ल्याउनका सर्वेक्षण र परियोजना प्रतिवेदन तयार भइसक्दा पनि संघ सरकारले काम सुरु नगरेकोमा साम्पाङको चित्त दुःखाइ छ । सिंहदरबार परिसरमा पनि उनले यस्तै गुनासो गरे ।

उनले भने, “धरानमा पानीको अभाव भएको कुरा सबैलाई थाहा छ । कोसीको पानी ल्याउने काम छिटो गर्दिनुपर्‍यो, ढिला भइसक्यो भनेको छु ।”

सिंहदरबारसँग पानी मागिरहेको साम्पाङ बेलाबखत सिंहदरबारसँग जुध्छन् पनि  । २०८० को पुसमा उनले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएर सिंहदरबारसँगको असन्तुष्टि सार्वजनिक रूपमै देखाए । हरेक वर्ष २० पुसमा आयोजना हुने ‘धरान दिवस’मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उपस्थित नहुने भनेपछि रिसाएका साम्पाङले कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाए ।

२३ मंसिरमा साम्पाङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत माग्दै पत्र लेखे । उनको उक्त पत्रको सामाजिक सञ्जालमा चर्चा भयो । पत्रमा उनले सिंहदरबारसँगको गुनासो व्यक्त गर्दै लेखेका थिए, “धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कहिले पठाइदिने होला ? यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो । लौ न तुरुन्तै पठाइदिुपर्‍यो ।  धराने जनता पनि नेपाली नागरिक नै हुन् ।”

यही असोजमा पनि उनले ‘ल्यान्डफिल साइट’ निर्माणका लागि बजेट मागेका थिए । उनले लेखेको पत्रमा पनि सिंहदरबार र सरकारी प्रक्रियासँगको असुन्तुष्टि प्रष्ट झल्किन्थ्यो । उनले लेखेका थिए, “यो विषयमा पत्र पठाएको पनि धेरै भयो । अध्ययन गर्ने भन्छन् । कति लामो अध्ययन हो ? कति वर्षे कोर्ष हो ? जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ । हाम्रो सरकार र कानुनलाई प्रक्रियामाथि प्रक्रिया अध्ययनै अध्ययन मात्रै चाहिएको छ । लौन सरकार खत्रा लाग्नु पर्‍यो ।”

कोसीको पानी धरानसम्म ल्याइदिनुपर्‍यो भन्दै सिंहदरबारका कोठा–चोटा चाहरिरहेका साम्पाङले सिंहदरबारलाई नरम भाषामा धम्की दिए । उनले भने, “एकले अर्कालाई छेकेर देश चल्दैन, स्थानीय तहको स्वामित्व नमान्ने हुँदैन ।”

खानेपानीमन्त्री यादवले भने सञ्चारकर्मीहरूसँगको कुराकानीमा धरानमा कोसीको पानी ल्याउने काम सुरु भएको बताए । उनले भने, “मन्त्रायल पहिलेदेखि नै लागेको छ । प्रक्रिया अगाडि बढाएको छौँ, एडीबीको परियोजना धरानमा लग्छौँ, त्यसपछि धरानको समस्या समाधान हुन्छ ।”

यादवले सम्पाङ सिंहदरबरबाट खुसी भएर गएको सुनाए पनि सिंहदरबारबाट बाहिरिँदै गर्दा भने, “यत्तिको गर्दा पनि केन्द्र सरकारको ध्यानाकर्षण भएन भने फेरि अर्को किसिमको ध्यानाकर्षण हुन्छ ।”

स्थानीय तहका पदाधिकारीहरू सिंहदरबार आउजाउ गरिरहन्छन् । उनीहरू आए–गएको पत्तो हुँदैन । तर, साम्पाङ सिंहदरबार छिर्दा भने ठूलो संख्यामा प्रहरी खटाइए । सिंहदरबारमा जहाँ, जहाँ पुगे प्रहरीले उनलाई घेरिरह्यो । यसो गरेर प्रहरीले उनलाई सुरक्षा दिएको होइन, सिंहदरबारको सुरक्षा गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro