काठमाडौं । चिनियाँ कार निर्माता कम्पनी होजोन अटो (नेटा)ले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ । यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुनः सुरु गरेको छ । लगानी पाएसँगै अब २०२५ मा नेटाले मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित भएर बिक्रीलाई दोब्बर पार्ने योजना बनाएको बताएको छ ।
नेटाको घरेलु बिक्री २०२४ को अन्त्यतिर घटेको देखिएको थियो । चाइना ईभी डाटा ट्र्याकरका अनुसार, नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१ हजार ५ सय ९२ युनिट बिक्री गरेको थियो, जसमा वार्षिक ४०.२ प्रतिशत गिरावट देखिएको थियो । यद्यपि, नेटाका अध्यक्ष फाङ युनझोउले २०२५ मा सकल नाफा सकारात्मक हुने र कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरेका छन् ।
डुन्युज रिपोर्टअनुसार, नेटाले करिब ६ अर्ब युआन लगानी प्राप्त गरेको छ । रिपोर्टका अनुसार, राज्य–स्वामित्वका सम्पत्ति र विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलले यो लगानीमा सहभागिता जनाएको छ । २०२३ को जनवरीमा नेटा सीएटीएलको बेड्रोक च्यासिस प्रयोग गर्न सम्झौता गर्ने पहिलो कम्पनी बनेको थियो ।
नेटाको एल क्रसओभर सीएटीएलको फ्रिबोय ब्याट्री (सोडियम मिसिएको) प्रयोग गर्ने पहिलो मोडलहरूमध्ये एक हो । यसले नेटा र सीएटीएलबीच लामो साझेदारी रहेको देखाउँछ । कम्पनीका एक कर्मचारीका अनुसार, कम्पनीले सञ्चालन सुनिश्चित गर्न आन्तरिक समायोजन पूरा गरिसकेको छ । अटोमोबाइल उत्पादन र बिक्रीपछिका पाट्र्स आपूर्ति कायम राख्न कम्पनीको मुख्य ध्यान केन्द्रित छ । हाल नेटाले चीनभित्र डिलरसिप नेटवर्कमा ध्यान केन्द्रित गरिरहेको छ ।
१७ जनवरी २०२५ मा नेटाले दोस्रो अन्तर्राष्ट्रिय डिलर र लगानीकर्ता सम्मेलन आयोजना गरेको थियो । २०२५ मा कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गर्दै बिक्री दोब्बर पार्ने लक्ष्य राखेको छ । गत वर्ष, नेटाले अन्तर्राष्ट्रिय देशहरूमा ३० हजार युनिट गाडी बेचेको थियो । अहिलेको लक्ष्य भनेको ६० हजार युनिट बिक्री हो ।
नेटाले यसअघि दुईदेखि तीन वर्षभित्र आधा उत्पादनको बिक्री घरेलु बजार र आधा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने योजना साझा गरेको थियो । घरेलु बजारमा भइरहेको कडा मूल्य प्रतिस्पर्धाबाट बच्न कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई अवसरको रूपमा लिएको छ । हाल नेटाले दक्षिणपूर्व एसिया तथा मध्य र दक्षिण अमेरिकाका करिब ४० देशहरूमा १८० भन्दा बढी बिक्री च्यानल विस्तार गरेको छ ।