site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पले सत्ता सम्हालेपछि डिपोर्टमा परे २६ नेपाली

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि अमेरिकाबाट २६ जना नेपाली डिपोर्ट भएका छन् । 

ट्रम्पले २० जनवरी २०२५ मा अमेरिकाको ४७औं राष्ट्रपतिको शपथ लिएका थिए । जनवरी २० देखि फेव्रुअरी २४ सम्मको ३६ दिनको अवधिमा ट्रम्प प्रशासनले २६ जना नेपालीलाई डिपोर्ट गरेको हो ।

“विभिन्न आरोपमा २० जनवरी २०२५ यता अमेरिकाले २६ जना नेपालीलाई डिपोर्ट गरेको छ । उनीहरू सबैलाई हामीले प्रहरीलाई बुझाएका छौं,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयकी सूचना अधिकारी सिता परियारले बाह्रखरीसँग भनिन् ।

सोमबार मात्र अमेरिकाबाट डिपोर्ट भएर एक जना नेपाली आएको उनले बताइन् । डिपोर्ट गरेकाहरूसँग अमेरिकी अध्यागमनले एउटा कागज पठाउने गरेको छ जहाँ उनीहरूलाई डिपोर्ट गर्नुको कारण उल्लेख गरिएको हुन्छ ।
“अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र विना भिसा बसेको, जस्ता आरोप डिपोर्ट भएकाहरूलाई लगाइएको छ,” सूचना अधिकारी परियारले बताइन् । 

डिपोर्ट भएकाहरूलाई विमानस्थलमै प्रहरीलाई बुझाइन्छ । अवैध बाटो अमेरिका गएका कारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने उनले जनाइन् । खासगरी उनीहरूलाई अमेरिका पठाउने (मानवतस्कर)का बारेमा उनीहरूसँग सूचना लिने काम प्रहरीले गर्ने गर्छ ।

“ट्रम्प आएपछि मात्र नेपालीहरू अमेरिकाबाट डिपोर्ट भएका भने होइनन् । यसअघि पनि अमेरिकाबाट नेपालीहरू डिपोर्ट हुन्थे । तर संख्या केही बढी देखिएको छ,” उनले भनिन् ।

अध्यागमन विभाग स्रोतका अनुसार, ट्रम्पले अमेरिकाको सत्ता सम्हालेपछि डिपोर्ट गर्ने तरिका भने केही फेरिएको छ ।

“पहिलो काठमाडौंस्थित अमेरिकी दूतावासले पहिले नै तपाईँको नागरिक यो दिन डिपोर्ट भएर आउँदै छ भनेर जानकारी दिन्थे । तर, डिपोर्ट हुनेहरू विमानस्थलमा आएपछि मात्र थाहा पाउने गरिएको छ,” अध्यागमन विभाग स्रोतले भन्यो ।

ट्रम्पले राष्ट्रपति निर्वाचन अभियानकै क्रममा आप्रवासीमाथि कडाई गर्ने घोषणा गरेका थिए । निर्वाचित भएपछि राष्ट्रपतिको शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्नेसम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । 

त्यसपछि ट्रम्प प्रशासनले निष्कासित गर्ने १ हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवाशीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लागेको छ । 

सूची सार्वजनिक भएपछि अमेरिकाले यस्ता अवैध आप्रवासीलाई सैन्य विमानमा राखी सम्बन्धित देशमा लगेर छाड्दै आएको छ । अमेरिकाले दुई सयभन्दा बढी भारतीयलाई सैन्य विमानमा राखी भारत ल्याएर छाडिसकेको छ र यो क्रम जारी छ । 

अन्य देशमा जस्तै अमेरिकाले एकसाथ ठूलो संख्यामा नेपालीलाई सैन्य विमानमा राखी नेपाल ल्याउँदै छाडेको भने छैन । तर, दैनिक एकजना जस्तो नेपालीलाई भने डिपोर्ट गरी पठाइरहेको छ ।

सन् २०२४ मा अमेरिकाले ३५ जना नेपालीलाई डिपोर्ट गरेको थियो । जो बाइडेन राष्ट्रपति हुँदा एक वर्षको अवधिमा जति संख्यामा नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए, त्यसको ७४.२८ प्रतिशत ट्रम्प राष्ट्रपति भएपछिको एक महिनामा भएका छन् ।

कति हुन्छन् नेपाली डिपोर्ट ? 

नेपालीलाई डिपोर्ट अमेरिकाले मात्र होइन अन्य देशले पनि गर्छन् । सन् २०२४ मा विभिन्न देशले १ हजार २२८ नेपालीलाई डिपोर्ट गरेका थिए । धेरैजसो नेपाली भिसाको अवधिभन्दा बढी (ओभर स्टे) बसेका कारण डिपोर्ट हुने गर्छन् ।

सन् २०२४ मा ५६ देशले नेपाली नागरिकलाई डिपोर्ट गरेका थिए । उक्त अवधिमा ल्याटिन अमेरिकी राष्ट्र बोलेभियादेखि अफ्रिकी राष्ट्र आइभेरी कोस्टसम्मबाट डिपोर्ट गरी नेपालीलाई फर्काइएको थियो ।

सन् २०२४ मा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)ले सबैभन्दा ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेको थियो । अध्यागमन विभागको तथ्याङ्क अनुसार गत वर्ष यूएईले २८२ जना नेपालीलाई डिपोर्ट गरेको थियो ।

यूएईपछि ठूलो संख्यामा नेपाली डिपोर्ट गर्ने राष्ट्र जापान हो । जापानले उक्त अवधिमा ११५ जना नेपालीलाई डिपार्ट गरेको थियो । तेस्रो ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गर्ने राष्ट्र हो, मलेसिया । मलेसियाले सन् २०२४ मा ११४ जना नेपालीलाई डिपोर्ट गरेको विभागको तथ्याङ्कले देखाउँछ । 

अध्यागमन विभागको तथ्याङ्क अनुसार, सन् २०२४ मा दक्षिण कोरियाले ७५, कतारले ६७, टर्कीले ६६, अजरबैजानले ४३, भारतले ३९, रोमानियाले ३८, अमेरिकाले ३५, क्रोएसियाले ३३, कुवेतले ३३ र सिंगापुरले ३२ जना नेपालीलाई डिपोर्ट गरेको थियो ।

उक्त अवधिमा थाइल्याण्डले २९, साउदी अरेबियाले २३, माल्दिभ्सले २२, बेलायतले २२, बुल्गेरियाले १६, लाओसले १४, अष्ट्रेलियाले १२, सर्वियाले १२, चीनले ११, साइप्रसले १०, बंगलादेशले ९ र हङकङले ७ जना नेपालीलाई डिपोर्ट गरेका थिए । 

यस्तै क्यानडाले ६, दक्षिण अफ्रकाले ६, मेक्सिकोले ५, जर्मनीले ४, फिलिपिन्सले ४, उज्वेकिस्तानले ४, बोलिभियाले ३, माल्टाले ३ र न्युजिल्याण्डले ३ जना नेपालीलाई डिपोर्ट गरेका थिए ।

विभागका अनुसार बहराइन, कम्बोडिया, फ्रान्स, ग्रिस, माल्दोभा, नर्थ म्यासेडोनिया, ओमान, पोल्याण्ड र श्रीलंकाले दुई–दुई जना नेपालीलाई डिपोर्ट गरेका थिए । 

अल्बानिया, अष्ट्रिया, बेलारुस, बेल्जियम, बोस्निया एण्ड हर्जगोभिना, कोलम्बिया, आइभेरी कोस्ट, इजिप्ट, फिनल्याण्ड, गुयना, हंगेरी र रुसले एक–एक जना नेपालीलाई डिपोर्ट गरेको विभागको तथ्याङ्कले देखाउँछ । 

विभागको तथ्याङ्कले सबैभन्दा ठूलो संख्यामा नेपाली डिपोर्ट वैदेशिक रोजगारीको लागि आकर्षक गन्तव्य मानिएका देशबाट हुने गरेको देखाउँछ । बितेको एक वर्षमा यूएई, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, ओमान, मलेसिया, कुवेत, जापान र बहराइन गरी ९ देशले मात्र ७१३ जना नेपालीलाई डिपोर्ट गरेका थिए । यो भनेको कुल डिपोर्ट हुने नेपालीको ५८.०६ प्रतिशत हो । 

सामान्यतया गम्भीर अपराध गरेका, गैरकानुनी रूपमा देशमा प्रवेश गरेका, आफ्नो भिसाको शर्त तोडेका वा सम्बन्धित देशमा रहन कानुनी हैसियत गुमाएका विदेशीहरूलाई प्रशासनिक रूपमा हटाउन वा देश निकाला (डिपोर्ट) गरिन्छ । 

पछिल्ला वर्षहरूमा डिपोर्ट हुने नेपालीको संख्या बढ्दो क्रममा छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार बितेको चार वर्षमा मात्र विभिन्न देशले ४ हजार ७१८ जना नेपालीलाई डिपोर्ट गरेका छन् ।

सन् २०२१ मा विभिन्न देशले ८८० जना नेपालीलाई डिपोर्ट गरेका थिए । सन् २०२२ मा आइपुग्दा यो संख्या बढेर १ हजार १६७ पुगेको थियो । सन् २०२३ मा विदेशबाट डिपोर्ट भई नेपाल फर्कने नेपालीको संख्या १ हजार ४४३ रहेको थियो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro