site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
युट्युबमा हालसम्म साढे १४ अर्ब भिडियो अपलोड, कति छन् प्रयोगकर्ता ?

काठमाडौं । सूचना–प्रविधिको विकासले इन्टरनेटका माध्यम र खासगरी सामाजिक सञ्जालको विकास एवं प्रयोगमा ठूलो क्रान्ति ल्याएको छ ।

विभिन्न सामाजिक सञ्जालमध्ये युट्युब विश्वको सबैभन्दा ठूलो भिडियोको भण्डार बनेको छ । सन् २००५ को फेब्रुअरी १४ मा स्थापना भएको युट्युब २० वर्ष भएको छ । युट्युबले इन्टरनेटको पहुँच भएको विश्वको जुनसुकै कुनामा सिकाइ, ज्ञान, सिप पाउनसक्नेदेखि रमाइलोको माध्यम बनेको छ ।

युट्युब विश्वभर सबैभन्दा धेरै हेरिने दोस्रो वेबसाइटमा पर्छ । तर, युट्युबमा कति भिडियो छन्, ती भिडियोमा कति भ्युज छ, कति भिडियो मोनिटाइज्ड छन्, कति लामा छन् जस्तो यकिन तथ्यांक भने छैन ।

यस विषयमा अमेरिकाको भ्यासाचुसेट्स विश्वविद्यालयको डिजिटल पूर्वाधार पहलका निर्देशक इथान जुकरम्यानको टिमले अध्ययन गरेको छ ।

उनीहरूले रेन्डम युट्युब सिलेक्ट गर्ने कम्प्युटर प्रोग्राम बनाएर युट्युबका भिडियोमाथि अध्ययन गरेका छन् । लगभग सबैजसो युट्युब भिडियोको यूआरएल अन्तमा रहेको ११ अंकको अंक र अक्षर मिलेर बनेको आइडेन्टिफायरले छुट्टाएको हुन्छ । उक्त प्रोगामले सोही ११ संख्याको रेन्डम आइडेन्टिफायरका आधारमा भिडियो छानेर अध्ययन गरिएको हो ।

यसरी युट्युबमा ११.६ क्विन्टिलियन अनुमानित यूआरएल संख्या छ । त्यसैले अध्ययनका क्रममा एक भिडियो पाउन कम्प्युटर प्रोग्रामले अर्ब यूआरएल जाँच गरेको थियो ।

यसरी सुरुआती चरणमा अध्ययनका लागि १० हजार १६ भिडियो संकलन गर्न उक्त स्क्र्यापर कम्प्युटर प्रोग्रामले १८ ट्रिलियन सम्भावित भिडियोको यूआरएलहरू जाँच गरेको थियो । यो अध्ययन ती भिडियोमा आधारित छ ।

युट्युब एप प्रायेगकर्ताले औसतमा मासिक २९ घण्टा भिडियो हेर्ने तथ्यांक छ । युट्युबका प्रयोगकर्ता २.९ अर्ब छन् । यसरी सम्पूर्ण प्रयोगकर्ताले मासिक ८३ लाख वर्ष अवधि बराबरको भिडियो हेर्छन् । १२ महिनामा यो झन्डै १० करोड वर्ष अवधि बराबर पुग्छ । यसरी युट्युब प्रयोगकर्ताहरूले मानवसभ्यताको इतिहासभन्दा लामो अवधिबराबरको समय युट्युब भिडियोमा बिताइरहेका छन् ।

सेक्रेट तथ्यांक
युट्युबमा कति भिडियो अपलोड हुन्छन्, कति हेरिन्छन् जस्ता यकिन तथ्यांक पाउन कठिन छ । गुगलले आफैँले पनि यो यकिन तथ्यांक सार्वजनिक गर्दैन ।

सन् २००६ मा सुरुमा युट्युब किनेका बेला गुगलले दैनिक ६५ हजार भिडियो अपलोड हुने गरेको बताउँथ्यो । हाल प्रतिमिनेट ५०० घण्टाको भिडियो अपलोड हुने गरेको गुगल बताउँछ । तर, जुकरम्यानको टिमको विश्लेषणले सन् २०२४ को मध्यसम्म युट्युबमा १४.८ अर्ब भिडियो अपलोड भएको देखाएको छ ।

प्रमुख युट्युबरहरूले युट्युबबाट करोडौँ डलर समेत कमाइरहेका बेला उक्त अध्ययनले ०.२१ प्रतिशत भिडियोमा मात्रै मोनिटाइजेसन वा कुनै किसिमको विज्ञापन रहेको देखाएको छ ।

चार प्रतिशतभन्दा कम भिडियोमा लाइक, कमेन्ट एन्ड सब्सक्राइब जस्तो कल टु एक्सन बटन छ ।

युट्युबमा अपलोड भएकामध्ये १४ प्रतिशत भिडियोमा कुनै किसिमको सेट वा ब्याकग्राउन्ड डिजाइन छ ।

३८ प्रतिशत भिडियोमा मात्रै कुनै न कुनै किसिमको इडिट छ । आधाभन्दा बढी भिडियोमा क्यामेरा हल्लेको पाइन्छ ।

१८ प्रतिशत भिडियोमा मात्रै उच्च क्वालिटी साउन्ड छ भने तीनमा पनि ८५ प्रतिशत समयसम्म साउन्डको गुणस्तर तलमाथि छ ।

४० प्रतिशतभन्दा बढी भिडियोमा म्युजिक मात्रै छ, स्पिच छैन । १६ प्रतिशत भिडियोमा स्टिल वा नहल्लेको फोटोहरू छ ।

कुनै भिडियोमा करोडौँ भ्युज, लाखौँ लाइक र हजारौँ कमेन्ट हुन्छन् । तर, औसतमा युट्युबमा अपलोड भएका भिडियोमा ४१ भ्युज मात्रै रहेको यो अध्ययनले देखाएको छ ।

चार प्रतिशत भिडियोहरू एकपटक पनि हेरिएका छैनन्, एक भ्युज पनि छैन । ७४ प्रतिशत भिडियोमा एउटा पनि कमेन्ट छैन । ८९ प्रतिशत भिडियोमा एउटा लाइक पनि छैन ।

औसतमा युट्युबमा हालसम्म अपलोड भएका भिडियोको लम्बाइ ६४ सेकेन्ड छ । एकतिहाइ भिडियोहरू ३३ सेकेन्ड लामा छन् ।

युट्युबमाथि प्रश्न
सुरुआती समयमा युट्युबले आममानिसलाई आफ्नो कुरा राख्ने माध्यमका रूपमा प्रस्तुत गरेको थियो । तर, हाल आएर यसले प्रोफेसनल क्रिएटरहरूको काम हेर्नका लागि सजेस्ट गर्ने गरेको छ । यसले युट्युबले आफूलाई सबैको आवाज भन्ने गरे पनि वास्तविकता त्यस्तो नभएको भनेर प्रश्न उठेको छ ।

युट्युबमा सबैभन्दा प्रमुख अंग्रेजी भाषा छ । दोस्रोमा हिन्दी, स्पेनिस, पार्चुजी, रूसी, अरबिक, जापानीजलगायत भाषा छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro