
काठमाडौं । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न भएको सभाले लगानी प्रवर्धन, पर्यटन क्षेत्रको विस्तार र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता गरेको छ ।
कार्यक्रममा संघका महासचिव मनोज श्रेष्ठले नेपालको सांस्कृतिक, ऐतिहासिक तथा भौतिक सम्पदाको पुनर्निर्माणमा इटालीको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गरे ।
“नेपालको सम्पदा संरक्षणमा इटालीको योगदान महत्त्वपूर्ण रहँदै आएको छ । हामी यो सहकार्य हाम्रो दुई देशबीचको मित्रताको स्थायी प्रतीकका रूपमा रहने विश्वास गर्छौं,” श्रेष्ठले भने ।
११औँ वार्षिक साधारणमा नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरिएको थियो । संरक्षक राजेश काजी श्रेष्ठ र मानार्थ वाणिज्य दूत प्रतिमा पाण्डेलाई विशिष्ट सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको छ । साथै, अशंक शमशेर जंगबहादुर राणालाई २०२४ का ‘वर्षको उत्कृष्ट सदस्य’को रूपमा सम्मानित गरिएको थियो ।
संघ आफ्नो विभिन्न पहलमार्फत द्विपक्षीय व्यापार प्रवर्धन, लगानी अवसरहरूको विस्तार तथा नेपालमा इटाली पर्यटन प्रवर्धन गर्न प्रतिबद्ध छ ।