site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापामा झोँक्किएर हिँडेका नारायणकाजीले चितवन पुगेर मागे माफी

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नै व्यवहारका निम्ति सार्वजनिक माफी मागेका छन् । माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित भएर सोमबार सुरु गरेको ‘जनतासँग माओवादी : तराई मधेस जागरण अभियान’अन्तर्गत झापाको कचनाकबलमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ झोँक्किएर कार्यक्रम छाडेर हिँडेका थिए । 

उक्त कार्यक्रममा माओवादीका अन्य पदाधिकारी बोल्ने क्रम सकिएपछि अध्यक्षभन्दा अघि श्रेष्ठको बोल्ने पालो आएको थियो । बोल्नेक्रममा श्रेष्ठले संविधानसभाबाट संविधान बनाउने मुद्दादेखि त्यसबाट प्राप्त उपलब्धिसहितका विषय राखेका थिए । श्रेष्ठले कुरा राख्दै गर्दा कार्यक्रमका उद्घोषक माओवादी केन्द्र झापाका अध्यक्ष राज आचार्य रोस्ट्रमनजिक पुगेर उभिएपछि उनी झोँक्किएका थिए । 

आचार्यतर्फ हेर्दै श्रेष्ठ कड्किएका थिए, “तपाईं मलाई सम्बोधन सक्नुस् भन्न आउनुभएको हो ? हो भने भन्नुस्, म जान्छु ।’ 

श्रेष्ठले त्यसरी कड्किएर झोँक्किदै प्रश्न गर्दा त्यस्तो नभएको बताएका थिए । आचार्यले भनेका थिए, “होइन, त्यस्तो होइन ।”

उनले होइन भनेपछि श्रेष्ठले जंगिँदै भने, “होइन भने किन अगाडि उभिन आउनुभएको ?” 

श्रेष्ठ झोँक्किएपछि उनी पछाडितर्फ लागे । तर, श्रेष्ठको आक्रोश शान्त भएन । 

“समयको चाप छ, म थोरै कुरा भन्न चाहन्थेँ,” दर्शकदीर्घातिर हेरेर उनले भने, “कार्यक्रम सञ्चालकलाई समयको चाप भयो होला, म बिदा चाहन्छु, लाल सलाम !”

नारायणकाजीले त्यसरी बिदा लिएपछि पार्टीगत नाम ‘अग्नि’ भएका आचार्यले आफूबाट ‘गल्ती भएको भए माफी चाहन्छु’ भनेर माफी मागेका थिए । 

अन्त्यमा बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त विषय सम्बोधनका क्रममा उठाएका थिए । प्रचण्डले सामान्य विषय नै भए पनि समीक्षा भने गर्ने बताएका थिए ।

“वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दै गर्दा यहाँ अलिकति असहजजस्तो हुन गयो । मेरो ध्यान त तपाईंहरूतर्फै थियो । बडो रुचिपूर्वक उहाँलाई सुन्दै गरेको महसुस गर्दै थिएँ,” प्रचण्डले भने, “अग्निजी (उद्घोषक आचार्य) यहाँ आइपुग्नुभएछ, त्यसले उहाँलाई के हो भन्ने पर्‍यो । त्यसमा अग्निजीले अलिकति आत्मसमीक्षा गरेर मेरो गल्ती भएको भए क्षमा चाहन्छु भनिसकेको हुनाले यसको हामी मूल्यांकन/समीक्षा त गरौँला, तर फेरि यो ठूलो कुरा होइन ।”
 
त्यसरी झोँक्किएर मञ्च छाडेका उपाध्यक्ष श्रेष्ठ सोमबार नै मोरङमा हुने कार्यक्रमतर्फ नलागी चितवन पुगेका थिए । तर, मंगलबार नारायणकाजी स्वयंले उक्त घटनाका लागि माफी मागेका छन् । चितवन प्रेस सेन्टरको ब्यानरमा पत्रकारमार्फत श्रेष्ठले सार्वजनिक माफी मागेका हुन् । श्रेष्ठले उक्त घटनालाई सामान्य रूपमा लिइदिन पनि आग्रह गरेका छन् । 

“मैले बोल्न सुरुआत मात्र के गरेको थिएँ । अलिकति त्यहाँ मनोवैज्ञानिक रूपमा अवरोधजस्तो स्थिति बन्यो । त्यसपछि मलाई अलि बिझायो नै । त्यो कुरा सत्य नै हो,” श्रेष्ठले भने, “त्यसलाई सामान्य घटनाकै रूपमा लिन म सबैलाई आग्रह गर्छु ।” 

उनले अध्यक्षले बोलेपछि अरूले बोल्नु पर्दैन भन्ने आफ्नो मान्यता भए पनि अध्यक्षकै अनुमतिले अरू पदाधिकारी बोलेको भन्दै आफूलाई भने मनोवैज्ञानिक अवरोध गरेको महसुस गरेको पनि खुलस्त पारेका थिए । 

“म अध्यक्षले बोलेपछि अरूले बोल्नुपर्दैन भन्नेमा थिएँ । तर, अध्यक्षले भनेपछि सबैले बोल्ने तय भयो । बोल्ने क्रममा मलाई मनोवैज्ञानिक अवरोध भयो । त्यसले मलाई बिझायो । त्यसपछि मैले नबोलेको हो,” श्रेष्ठले भने । 

उनले आफ्ना शुभचिन्तकले पनि घटनाप्रति दुःख व्यक्त गरेको भनेर माफी मागेका छन् ।  “झापा घटनापछि शुभेच्छुकहरू, समर्थकहरू, आमजनसाधारणले पनि राष्ट्रियताका बारेमा कहिल्यै नचुक्ने, देशभक्तिपूर्ण अडान राख्ने, भ्रष्टाचारमा निर्मम हुने र कार्यान्वयन गर्ने व्यक्तिले त्यसो नगरिदिएको भए पनि हुन्थ्यो भन्ने कुरा आएको छ,” उनले भने, “जसको चित्त दुखेको छ । ती सबैप्रति सकारात्मक धारणा राख्दै सार्वजनिक रूपमै क्षमायाचना गर्न चाहन्छु ।” 

श्रेष्ठ आज सौराहामा हुने महाशिवरात्रि मेलाको उद्घाटन गर्न चितवन पुगेका हुन् । श्रेष्ठका स्वकीय सचिव उपदेश यादवका अनुसार श्रेष्ठको यसअघि नै चितवन जाने कार्यक्रम तय भएकाले झापाबाट सोमबार नै हिँड्नु परेको हो । यादवले श्रेष्ठ बुधबार हुने सुनसरीको कार्यक्रमदेखि अभियानमा जोडिने जानकारी दिए ।                                                                                                                                                                                                                                                                                                                   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro