काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् । प्रतिनिधिसभाअन्तर्गतको लेखा समितिको मंगलबार बसेको बैठकमा सदस्य दाहालले सभापति पोखरेल नैतिक हिसाबले कमजोर भएको बताए ।
सहकारी ठगी प्रकरणमा श्रीमती र भ्रष्टाचारमा पीए जोडिए पनि दाहाल समिति सभापतिमा टाँसिएर बसेको उनले आरोप लगाए । “सहकारीमा श्रीमती र भ्रष्टाचारमा पीए पनि जोडिए पनि तपाईं सभापतिमा टाँसिएर बस्नुभएको छ,” उनले भने, “नैतिक प्रश्न जोडिएपछि मार्गप्रशस्त गर्दिनुस् ।”
लेखा समितिको सभापति पद प्रतिपक्षलाई दिने अभ्यास भएको उनले बताए । “तपाईं लाचार भएर बस्नुभएको छ,” दाहालले भने ।
उनले समिति सरकारको लाचार छायाजस्तो भएको टिप्पणी गरे । उजुरीमाथि छलफल नभएको उनले उल्लेख गरे । “समिति सरकारको लाचार छायाजस्तो भएको छ । अपारदर्शी भयो । लाचार छाया बनाइनु हुँदैन,” उनले भने, “९५ वटा उजुरी छन्, ती उजुरी तत्काल छलफल भएन । डम्पिङ गरेर राखियो ।”
लेखा समितिले दायित्व वहन गर्न नसकेको उनले बताए । बेरुजु फर्छ्योटमा उपसमितिलाई कानुनी अड्चन भएको उनको भनाइ थियो ।
“ऐन संशोधनसम्मको विषय जोडिएको छ । यसको समाधान गर्न छलफल हुनुपर्छ,” उनले भने, “बेरुजुलाई भ्रष्टाचारकै रूपमा लिनुपर्छ । मार्गप्रशस्त गरेर प्रतिपक्षलाई (पद) दिन आग्रह गर्छु ।”
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले भ्रष्टाचारसँग जोडिएका उजुरीलाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिए । “निर्णय गरेका छौँ, कार्यान्वयन भएको छैन । सरकारबाट किन कार्यान्वयन भएको छैन ?,” उनले प्रश्न गरे ।