काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले २४औँ सशस्त्र प्रहरी दिवसको अवसरमा ‘लागुऔषध, सीमा सुरक्षा र युवा’मा आधारित ‘नसारहित युवा– हाम्रो देशका कर्णाधार, सिमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ भन्ने आधारवाक्यमा केन्द्रित भई सप्ताहव्यापी रूपमा देशभर ३६१ वटा कार्यक्रम सञ्चालन गरेको छ ।
सीमा क्षेत्रमा लागुऔषध प्रयोग तथा ओसारपसार सम्बन्धमा भएको नेपाल र भारतको कानुनी व्यवस्था उल्लेख गरी ‘नसारहित युवा– हाम्रो देशका कर्णाधार, सिमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ आधारवाक्य लेखिएको २१३ वटा होर्डिङ बोर्ड राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
यस कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल नेपालका इकाइहरूबाट स्थानीय विद्यालयमा विद्यार्थीहरूलाई लागुऔषधसम्बन्धी २६२ स्थानमा जनचेतनामूलक प्रशिक्षण गराइएको र जसमा १२ हजार ३ सय ६८ जना सहभागी भएको जनाइएको छ ।
सशस्त्र प्रहरी बलले उपयुक्त स्थानको पहिचान गरी लागुऔषध दुर्व्यसनीसम्बन्धी २१ स्थानमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ । विद्यालय तथा स्थानीय क्लबहरूमा गई ‘लागुऔषध, सीमा/सुरक्षा र युवा’मा केन्द्रित भई १५ स्थानमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको र उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
यसैगरी सीमा इलाकाका भारतीय समकक्षीसँग लागुऔषध नियन्त्रण सम्बन्धमा ५१ वटा समन्वयात्मक बैठक सम्पन्न भएको छ भने उल्लेखित विषयमा केन्द्रित रही बाहिनी तथा जिल्लास्थित कार्यालयका प्रमुखहरूको उपस्थितिमा स्थानीयस्तरको रेडियो तथा एफएममा एक घण्टाको १२ वटा जनचेतनामूलक संवाद कार्यक्रम सञ्चालन भएको जनाइएको छ ।
सशस्त्र प्रहरी बल नेपालका इकाइहरूले जिम्मेवारी क्षेत्रमा भएका लागुऔषध प्रयोग, दुर्व्यसनी तथा नियन्त्रण सम्बन्धमा भएका क्रियाकलापको अभिलेख राख्ने कार्य समेत गरिएको छ ।
यसैगरी ‘शीघ्र प्रभाव आयोजना’अन्तर्गत निर्माण, समुदाय विकास तथा क्षमता अभिवृद्धि, स्वास्थ्य, कल्याणकारी, पर्यावरण संरक्षण तथा हरियाली अभियान तथा महिला सशक्तीकरण गरी सशस्त्र प्रहरी बल नेपालले देशभर ४ ७३ वटा कार्यक्रम सञ्चालन गरेको छ ।
जसमा समुदाय विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत १२९ वटा जनचेतनामूलक कार्यक्रम गर्नुको साथै निर्माणअन्तर्गत १३ स्थानमा चौतारा, १३ वटा प्रतीक्षालय, ७ वटा सार्वजनिक शौचालय र १८ वटा खानोपानीको धारा निर्माण गरिएको जनाइएको छ ।
यसैगरी स्वास्थ्यअन्तर्गत १० स्थानमा स्वास्थ्य शिविर र ३० स्थानमा रक्तदान कार्यक्रम, पर्यावरण संरक्षण तथा हरियाली अभियानअन्तर्गत १९८ स्थानमा सरसफाइ र ३४ स्थानमा वृक्षारोपण तथा महिला सशक्तीकरण अभियानअन्तर्गत ११ वटा आत्मराक्षा तालिम सञ्चालन गर्नुको साथै कल्याणकारी कार्यक्रमअन्तर्गत १० वटा विद्यालयमा शैक्षिक सामग्री समेत वितरण गरिएको जनाइएको छ ।
यस कार्यक्रमले संगठनको कामकारबाहीका बारेमा प्रत्यक्ष रूपमा जनस्तरसम्म सकारात्मक प्रभाव पार्ने विश्वास सशस्त्र प्रहरी बलले लिएको छ ।