site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीमा पनि एमपीएस अनिवार्य, पूर्वअधिकृत भन्छन्– व्यावहारिक हुँदैन

काठमाडौं । अन्ततः प्रहरीमा पनि उपल्लो तहका कुर्सीमा बढुवा हुन ‘स्टाफ कोर्स मास्टर इन पुलिस साइन्स’ (एमपीएस) अनिवार्य हुनुपर्ने प्रावधानसहितको प्रक्रिया अघि बढेको छ । प्रहरीमा ‘एमपीएस’ कुन ब्याचबाट अनिवार्य गर्ने भन्नेबारे लामो छलफल भएको थियो ।

केही प्रहरी अधिकारीले प्रहरी निरीक्षकको नयाँ भर्नाबाट मात्रै लागु हुने गरी कोर्स अनिवार्य गर्नुपर्ने दलिल पेस गरेका थिए भने कतिपयले २०७० सालमा भर्ना भएका प्रहरी निरीक्षक टोलीबाट अनिवार्य गर्नुपर्ने राय दिएका थिए ।

अन्ततः २०७० सालमा भर्ना भएका प्रहरी निरीक्षकबाट लागु हुने गरी कोर्स अघि बढेको हो । त्यसका लागि प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रले एमपीएस कोर्स गर्ने २०७० मा भर्ना भएका निरीक्षक र बढुवा भएका डीएसपीहरूको सर्ट लिस्ट तयार पारेको छ ।

Dabur Nepal
NIC Asia

डीएसपी र निरीक्षकसहितको १३१ जनाको सूची तयार पारिएको प्रशिक्षण प्रतिष्ठानका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदीप गिरीले जानकारी दिए । पुलिस लिडरसिप एन्ड स्टाफ कोर्सअन्तर्गत मास्टर इन पुलिस साइन्स (एमपीएस) र प्रोफेसनल लिडरसिप कोर्ससहित दुईवटा कोर्सको पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयले स्वीकृति दिइसकेको छ ।

अन्तिम सूचीमा परेका प्रहरी अधिकारीको प्रवेश परीक्षा फागुनमा हुने एआईजी गिरीको भनाइ छ ।  प्रवेश परीक्षामा सहभागी १३१ जनामध्ये उत्तीर्ण हुने ३५ जना प्रहरी अधिकारीले मात्रै स्टाफ कलेज पढ्न पाउनेछन् । वैकल्पिक सूचीमा पाँचजना हुनेछन् ।

१६ महिने स्टाफ कलेज महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन हुनेछ । यसका लागि चारवटा सेमेस्टर तयार गरिएको छ ।  एमपीएसको प्रवेश परीक्षा भने त्रिभुवन विश्वविद्यायले लिनेछ ।

‘‘एमपीएसको प्रवेश परीक्षा त्रिविले नै लिने हो । हामीले प्रवेश परीक्षामा सहभागी हुने प्रहरी अधिकारीको सूची तयार गरेका हौँ । सेना र सशस्त्र प्रहरीका अधिकारीले समेत पढ्न इच्छुक देखिए उनीहरूले समेत प्रवेश परीक्षा दिन पाउने व्यवस्था गरेका छौं,’’ एआईजी गिरीले भने । 

कोर्स निम्ति तीनपटक मात्रै प्रहरी अधिकारीले प्रवेश परीक्षा दिन पाउनेछन् । तीनपटकसम्म पनि अनुत्तीर्ण भए प्रहरी अधिकारीले पढ्न पाउने छैनन् ।  कुन ब्याचलाई आधार भन्नेबारे प्रहरीको उपल्लो तह ‘पोलिसी कोअर्डिनेसन कमिटी’ (पीसीसी) मा लामो छलफल भएको थियो । 

पीसीसी बैठकबाट २०७० साल अर्थात् प्रहरीको १५८औँ समूहका इन्स्पेक्टरदेखि लागु गरिएको जानकारी एआईजी गिरीले दिए ।

त्यसअतिरिक्त अतिरिक्त सशस्त्र प्रहरी बलले लिने गरेको ‘मास्टर इन सेक्युरिटी एन्ड पिस स्टडिज’ र नेपाली सेनाले गर्ने ‘मास्टर इन स्ट्राटेजिक स्टडिज’ गर्न समेत एमपीएसको प्रवेश परीक्षा अनिवार्य पास गर्नुपर्नेछ । नेपाली सेना र सशस्त्र प्रहरी बलमा यसअघि नै स्टाफ कलेज अनिवार्य छ । 

सेनामा स्टाफ कलेज उत्तीर्ण नहुनेहरू प्रमुख सेनानी तहसम्म मात्र पुग्छन् ।  महासेनानी हुन अर्को छुट्टै कोर्स गर्नुपर्ने व्यवस्था छ ।  सशस्त्रमा स्टाफ कलेज पूरा नगर्नेहरू एसएसपीबाट माथिल्लो तहमा बढुवा हुन पाउँदैनन् ।

प्रहरीमा एमपीएको असर कस्तो होला ?

प्रहरीमा समेत उपल्लो तहमा पुग्न एमपीएस अनिवार्य गरिएसँगै दैनिक सुरक्षाका लागि खटिनुपर्ने प्रहरी अधिकारी पढाइमा व्यस्त हुँदा प्रहरीको काम–कारबाहीमा असर पुग्ने केही प्रहरी अधिकारी नै बताउँछन् । 

अझ प्रहरी ऐन आउन बाँकी रहेकै अवस्थामा एमपीएस लागु गर्नु व्यावहारिक नहुने तर्क समेत छ ।

एक प्रहरी अधिकारी भन्छन्, ‘‘प्रहरी संघीयतामा जान मानेन भनी ठूलो विरोध भइरहेको छ । समायोजनको काम बाँकी छ । प्रहरी समायोजन कसरी हुने भन्ने टुंगो छैन । त्यसका लागि प्रहरी ऐन आवश्यक छ । ऐन नै नआई एमपीएस लागु गर्नु आवश्यक देखिँदैन । यसको असर राम्रोभन्दा नराम्रो हुन्छ भन्ने पिर छ ।’’

हाल प्रहरी प्रशिक्षण प्रतिष्ठानले एमपीएस प्रवेश परीक्षाका लागि तयार गरेका सूचीका अधिकांश डीएसपीहरू फिल्ड कमाण्डरका रुपमा खटिएका छन् ।  उनीहरूले समेत एमपीएस पढ्न कमाण्ड छाडी प्रवेश परीक्षा दिनुपर्ने हुन्छ ।

अझ एमपीएस कोर्स नगर्ने प्रहरी अधिकृत इन्स्पेक्टरमा सेवा प्रवेश गरे पनि वरिष्ठ उपरीक्षक (एसएसपी) भन्दा माथिल्लो पदमा पदोन्नति हुन नपाउने व्यवस्थासँगै फिल्ड कमाण्डभन्दा पढाइमा ब्यस्त हुनुपर्ने अवस्था सिर्जना गरेको छ ।

यसअघि २०६२ सालदेखि प्रहरी निरीक्षकलाई पोस्ट ग्राजुएट डिप्लोमा इन पुलिस साइन्स (पीजीडीपीएस) कोर्स अनिवार्य गरिएको थियो ।  तर, पीजीडीपीएस कोर्स लामो अनुसन्धानबिना सुरु गरिएको र त्यसको कुनै औचित्य नरहेको प्रहरी अधिकारी बताउँछन् ।

एमपीएस समेत लामो अनुसन्धानबिना नै समावेश गरिँदा त्यसको औचित्यमाथि प्रश्न उठ्ने कतिपय प्रहरी अधिकारीको दाबी छ ।  पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्लले पनि एमपीएस लागु गर्नुपूर्व आवश्यक ध्यान दिनुपर्ने तर्क राखे ।

उनी भन्छन्, ‘‘प्रहरी अधिकारीको वृत्ति–विकासका लागि यो ठिक त होला, तर फिल्डका प्रोफेसनल देखिनु र परीक्षा पास गर्नु बिल्कुल भिन्न विषय हुन् । एमपीएस पासलाई आधार मान्ने हो भने फिल्डमा प्रोफेसनल देखिने अधिकारी छोड्दा यसले कही न कही संगठनमा असर गर्छ ।’’

त्यसबाहेक फिल्डमा खटिनुभन्दा एमपीएस गर्न पढ्ने प्रहरी अधिकारीहरूको जमात बढ्ने अवस्था आए दीर्घकालमा प्रहरीको दैनिक काम–कारबाही प्रभावित हुने आशंका मल्लको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro