site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पले शपथ लिएपछि उद्घोष गरे ६ महत्वपूर्ण एजेन्डा

काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति बनेका छन् । उनले नेपाली समय अनुसार सोमबार राति राष्ट्रपतिको शपथ लिएका हुन् । ट्रम्पको शपथ ग्रहण समारोहमा विश्व धेरै नेताहरू, व्यवसायीहरू, बाराक ओबामा, जर्ज बुश, बिल क्लिन्टन जस्ता पूर्व अमेरिकी राष्ट्रपतिहरू उपस्थित थिए ।

आफ्नो शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो नीति र प्रशासनअन्तर्गत अमेरिकाको भविष्य अब कस्तो हुनेछ भन्ने धारणा राखेका थिए । “आजदेखि अमेरिकाको स्वर्णयुग सुरु हुँदैछ । हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ । म स्पष्ट रूपमा भन्न चाहन्छु कि म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु,” ट्रम्पले भने ।

राष्ट्रपति बनेको पहिलो दिन नै ट्रम्पले लगभग १०० कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछन् । जसमा आप्रवासन, ऊर्जा, अर्थतन्त्र, लैङ्गिकसम्बन्धी मुद्दाहरू समावेश हुनेछन् । ट्रम्पले आफ्नो शपथ ग्रहण भाषणमा धेरै मुद्दामा धारणा राखेका थिए । ६ वटा मुद्दामा उनले विशेष महत्व दिएका थिए । 

Dabur Nepal
NIC Asia

अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय आपतकाल

डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्ने बताएका छन् । यस सम्बन्धमा कार्यकारी आदेशमा हस्ताक्षर गरिने उनले बताए । ट्रम्पले मेक्सिकोबाट अमेरिकामा हुने अवैध प्रवेश तुरुन्तै रोकिने दाबी गरे । त्यति मात्र होइन, उनले अमेरिका रहँदै आएका लाखौं ‘अवैध’ आप्रवासीलाई उनीहरूको देश फिर्ता पठाउने प्रक्रिया सुरु गर्ने उद्घोष समेत गरे । 

ट्रम्पले ‘रिमेन इन मेक्सिको’ नीतिलाई पुनः लागू गर्ने र सीमामा थप सेना र साधन तैनाथ गर्ने आफ्नो योजना पनि सुनाए । यसबाहेक उनले छिट्टै मेक्सिको खाडीको नाम परिवर्तन गरेर ‘अमेरिकाको खाडी’ राख्ने बताए ।

पानमा नहरलाई लिएर चीनमाथि आरोप 

डोनाल्ड ट्रम्पले पानमा नहरलाई ‘एक मूर्ख उपहार’ भनेका छन् । पनामा नहर चीनले सञ्चालन गरिरहेको दाबी उनको थियो । “हामीले यो चीनलाई दिएका थिएनौं । हामी यसलाई फिर्ता लिनेछौं,” ट्रम्पले भने ।

भाषणको क्रममा उनले यसो भनिरहँदा उनका समर्थकहरू ताली बजाइरहेका थिए, बाइडेन र कमला ह्यारिस कुनै प्रतिक्रिया नदिई मौन थिए । गत महिना डोनाल्ड ट्रम्पले पानमा नहरको शुल्क घटाउन वा यसको नियन्त्रण अमेरिकालाई फिर्ता गर्न आग्रह गरेका थिए ।

ट्रम्पले भनेका थिए, “पानमा नहर चीनका लागि होइन । यो नहर गलत हातमा गएको छ ।” जवाफमा पानमाका राष्ट्रपतिले नहरमा चीनको प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रण नरहेको स्पष्ट पारेका थिए । 

अन्तरिक्ष यात्रीलाई मंगल ग्रह पठाउने 

आफ्नो भाषणमा डोनाल्ड ट्रम्पले अमेरिकालाई नयाँ उचाइमा पुर्‍याउने र ठूला सफलता दिलाउने बताए । 

अमेरिकाले आफ्नो सम्पत्ति बढाउने, आफ्नो क्षेत्र विस्तार गर्ने र मंगल ग्रहमा आफ्नो झण्डा फहराउने दाबी ट्रम्पले गरेका थिए । “हामी ताराहरूतर्फ अघि बढ्नेछौं र मंगल ग्रहमा अमेरिकी झण्डा फहराउनेछौं,” ट्रम्पले भने । 

मध्यपूर्वमा शान्ति 

डोनाल्ड ट्रम्पले आफू मध्यपूर्वमा शान्ति ल्याउने र सबैलाई एकताबद्ध गर्ने नेता हुने बताए । उनले गाजामा हमासद्वारा बन्धक बनाइएका तीन इजरायली बन्धकहरूको उल्लेख गरे । आइतबार ती बन्धकहरूले आफ्ना परिवारलाई भेटेका थिए ।

“अमेरिकाले विश्वको सबैभन्दा महान, सबैभन्दा शक्तिशाली र सबैभन्दा सम्मानित राष्ट्रको रूपमा आफ्नो उचित स्थान पुनः प्राप्त गर्नेछ । हाम्रो देशले सम्पूर्ण विश्वलाई प्रेरणा दिनेछ र प्रशंसाको केन्द्र बन्नेछ,” ट्रम्पले भने ।

दुई लिङ्ग मात्र हुने– पुरुष र महिला

डोनाल्ड ट्रम्पले आफ्नो भाषणमा उनको सरकारले सार्वजनिक र निजी जीवनको हरेक पक्षमा जात र लिङ्गलाई समावेश गर्ने वर्तमान नीतिलाई अन्त्य गर्ने घोषणा गरेका छन् । 

ट्रम्पले घोषणा गरे, “आजदेखि अमेरिकी सरकारको आधिकारिक नीति यो हुनेछ कि दुई लिङ्ग मात्र हुनेछन्– पुरुष र महिला ।”

आफ्नो भाषणमा डोनाल्ड ट्रम्पले बाइडेन प्रशासन र आप्रवासन संकट व्यवस्थापनको कडा आलोचना गरेका थिए ।

अमेरिकालाई समृद्ध बनाउने 

बीबीसीका कूटनीतिक मामिला संवाददाता पल एडम्सले यो भाषणलाई ट्रम्पको विश्वलाई दिएको कडा सन्देशको रूपमा वर्णन गरेका छन् । 

ट्रम्पको भाषणले विश्वव्यापी मञ्चमा अमेरिकाको शक्ति र सम्भावनाहरू उजागर गर्दै बलियो सन्देश दिएको उनको विश्वास छ । ट्रम्पले अमेरिकाले सामना गरिरहेको चुनौतीहरू र करबारेमा आफ्नो धारणा व्यक्त गरेको उनले जनाए । “हामी अन्य देशहरूमा कर र भन्सार लगाएर हाम्रा जनतालाई समृद्ध बनाउनेछौं,” ट्रम्पले भनेका थिए । 

यसका साथै राष्ट्रपति ट्रम्पले मुद्रास्फीति र बढ्दो ऊर्जा आवश्यकताबारेमा पनि कुरा गरे, जुन उनको पछिल्लो अभियानमा एक महत्त्वपूर्ण मुद्दा थियो ।

उनले आफ्नो मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई मुद्रास्फीतिलाई परास्त गर्न र लागत र मूल्यहरू द्रुत रूपमा घटाउन हरसम्भव प्रयास गर्न निर्देशन दिने बताए ।

‘राष्ट्रिय ऊर्जा आपतकाल’ घोषणा गर्ने र अमेरिकामा तेल र ग्यास अन्वेषणलाई तीव्रता दिने आफ्नो वाचा उनले दोहो¥याएका थिए । उनले अमेरिका फेरि एक पटक ‘उत्पादन राष्ट्र’ बन्ने दाबी गरे । “हामीसँग संसारमा सबैभन्दा धेरै तेल र प्राकृतिक ग्यास छ । हामी यसलाई पूर्ण रूपमा प्रयोग गर्नेछौं,” ट्रम्पले भने । उनले ‘ड्रिल बेबी ड्रिल’ नारा पनि दिएका छन् ।

(बीबीसीबाट भावानुवाद) 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro