डाभोस । विश्वका केही राजनीतिक र वित्तीय अभिजात वर्गहरू स्विट्जरल्यान्डको डाभोसमा वार्षिक भेलाका लागि तयार हुँदा एक प्रमुख गरिबी विरोधी समूहले सोमबार अर्बपतिहरूको सम्पत्ति सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा तीन गुणा तीव्र गतिमा बढेको रिपोर्ट गरेको छ ।
विश्व आर्थिक मञ्चको बैठक सुरु हुने अवसरमा वैश्विक असमानताको आफ्नो नवीनतम मूल्यांकनमा अक्सफाम इन्टरनेसनलले आगामी दशकमा कम्तीमा पाँच खर्बपति देखापर्ने अनुमान गरेको छ । एक वर्षअघि समूहले त्यो समयमा एक मात्र खर्बपति देखापर्ने पूर्वानुमान गरेको थियो ।
अक्सफामको अनुसन्धानले निवर्तमान राष्ट्रपति जो बाइडेनले गत हप्ता दिएको ‘थोरै अति–धनी व्यक्तिहरूको हातमा शक्तिको खतरनाक केन्द्रीकरण’ को चेतावनीलाई थप बल दिएको छ ।
समूहको ‘टेकर्स नट मेकर्स’ शीर्षकको तीखो रिपोर्टले पनि सन् १९९० देखि गरिबीमा परेका मानिसहरूको संख्यामा मुस्किलले परिवर्तन भएको बताएको छ ।
विश्व आर्थिक मञ्चले डाभोसको अल्पाइन गाउँमा हुने वार्षिक बैठकमा व्यापारिक अधिकारी, शिक्षाविद्, सरकारी अधिकारी र नागरिक समूहका नेताहरूसहित करिब तीन हजार सहभागी हुने अपेक्षा गरेको छ ।
आफ्नो पहिलो कार्यकालमा दुईपटक डाभोसको भ्रमण गरेका र सोमबार पदको शपथ लिएका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भिडियोमार्फत मञ्चको कार्यक्रममा भाग लिने अपेक्षा गरिएको छ ।
उनले आफ्नोसहित लामो समयदेखि सम्पत्ति सञ्चयको वकालत गर्दै आएका छन् । ट्रम्पले अर्बपति एलन मस्कलाई प्रमुख सल्लाहकारको रूपमा गणना गरेका छन् । रासस/एपी