सियान । चीनले आइतबार तीनवटा इग्निसन परीक्षण सफलतापूर्वक सम्पन्न गरेको चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसन (सीएएससी)ले जनाएको छ ।
सामान्य भाषामा इग्निसन परीक्षण भनेको कुनै पदार्थलाई विशेष तापक्रममा तताउनु हो । अन्तरिक्षमा इग्निशन परीक्षण भनेको रकेट इन्जिन अन्तरिक्ष अवस्थामा सजिलैसँग सुरु र सञ्चालन गर्न सकिन्छ कि भनेर जाँच गर्न प्रयोग गरिने प्रक्रिया हो ।
मुलुकले एकैदिन तीनवटा इग्निसन परीक्षण गरेको यो पहिलोपटक हो ।
उत्तरपश्चिम चीनको शान्सी प्रान्तको राजधानी सियानको बाओलोङयु क्षेत्रमा रहेको एकेडेमी अफ एयरोस्पेस प्रोपल्सन टेक्नोलोजी सीएएससीको सहायक कम्पनीले परीक्षणहरू गरेको हो ।
परीक्षणहरूमा दुई १२०–टन तरल अक्सिजन–केरोसिन रकेट इन्जिन र एउटा १८–टन तरल अक्सिजन–केरोसिन रकेट इन्जिन समावेश थियो ।
संस्थानले देशको परीक्षण र प्रमाणिकरण क्षमताहरूमा ठूलो प्रगति भएको बताएको छ, जसले भविष्यमा थप प्रक्षेपण मिसनहरूको लागि बलियो समर्थन प्रदान गर्नेछ । रासस/सिन्ह्वा