site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बीआरआईमा समेटिएको ‘झापा स्पोर्ट्स कम्प्लेक्स’बारे खेलकुद मन्त्रालय र राखेप नै बेखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका दौरान भएका १० सम्झौतामध्ये एक हो, ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअप्रेसन ।’ जुन ‘बीआरआई फ्रेमवर्क’ सम्झौताको रूपमा चिनिन्छ । 

बीआरआईभित्र १० परियोजना समेटिएका छन् । जसमा खेलकुद पूर्वाधारअन्तर्गत एउटा परियोजना राखिएको छ, ‘झापा स्पोर्ट्स र एथ्लेटिक्स कम्प्लेक्स ।’

प्रधानमन्त्री ओलीले २०८१ मंसिर १७ गतेदेखि २० गतेसम्म चीन भ्रमण गर्दा ‘बीआरआई फ्रेमवर्क’ सम्झौता भएको थियो । 

Dabur Nepal
NIC Asia

सम्झौतामा झापामा बनाउने भनिएको कम्प्लेक्सलाई यसरी व्याख्या गरिएको छ, “‘झापा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स’ एक बहुउद्देशीय कम्प्लेक्स हो जसमा आधुनिक र अत्याधुनिक स्टेडियम र व्यावसायिक खेलाडी र एथलिटहरूको प्रशिक्षणका लागि संरचनाहरू छन् ।”

सम्झौतामा कम्प्लेक्सबारे अझ बढी व्याख्या गरिएको छ, “यस कम्प्लेक्सले नेपालमा फुटबल, क्रिकेट र एथलेटिक्सजस्ता विभिन्न खेलहरूका लागि अन्तर्राष्ट्रिय मानकको सुविधाहरू प्रदान गरेर खेलाडीहरूको विविध आवश्यकताहरू सम्बोधन गर्ने लक्ष्य राख्छ । यस कम्प्लेक्सले क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल प्रतिस्पर्धाहरूको आयोजना गरेर युवा सहभागिता प्रवर्धन गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।”

प्रधानमन्त्रीको चीन भ्रमणका बेला गएको मंसिर १८ गते बीआरआईबाहेक नौ सम्झौता भएका थिए । बीआरआई सम्झौतामा नेपाल र चीनका अधिकारीबीचको रस्साकस्सीका कारण सम्झौता एक दिन ढिला अर्थात् मंसिर १९ गते भएको थियो । 

एक दिनअघि नेपाल र चीनबीच बीआरआई सम्झौता हुन नसक्नुमा ‘ग्रान्ट’ शब्द तगारो बनेको थियो । भोलिपल्ट बदलामा ‘एड’ राख्न दुवै देश सहमति भएपछि एउटा खेलकुद पूर्वाधारसमेत समेटर ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअप्रेसन’मा हस्ताक्षर भएको थियो ।

निकै मिहेनतपछि बीआरआईभित्र पारिएको खेलकुद पूर्वाधार ‘झापा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स’बारे भने नेपालका युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) अनभिज्ञ छन् ।

सम्झौता भएको डेढ महिना बितिसक्दा ‘झापा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स’बारे न परराष्ट्र मन्त्रालयले खेलकुद मन्त्रालयलाई जानकारी दिएको छ, न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै । 

खेलकुदको सम्पूर्ण जिम्मेवारी सम्हालेका युवा तथा खेलकुद मन्त्रालय र राखेप आफैँले पनि ‘झापा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स’बारे बुझ्न जाँगर चलाएको देखिँदैन ।

युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता सुवासचन्द्र सिवाकोटी खेलकुदका सबै प्रोजेक्ट मन्त्रालयमार्फत सरकारसम्म पुग्ने भए पनि ‘झापा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स’बारे जानकारी मन्त्रालयमा नरहेको बताउँछन् । 

“प्रोजेक्ट जाने खेलकुद मन्त्रालयमार्फत नै हो । कसरी सञ्चालन गर्ने भन्नेबारे भने राष्ट्रिय खेलकुद परिषद्‌बाट हुने गर्छ । हामीलाई यसबारे खास जानकारी छैन,” खेलकुद मन्त्रालयका प्रवक्ता शिवाकोटीले बाह्रखरीसँग भने ।

यता राखेपका उच्च अधिकारी पनि ‘झापा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्प्लेक्स’बारे आफूहरूलाई कुनै जानकारी नदिएको बताउँछन् । प्रधानमन्त्रीको चीन भ्रमणमा राखेपका कुनै पनि प्रतिनिधि नरहेकाले पनि यसबारे आफूहरूसँग जानकारी नभएको राखेपका एक उच्च अधिकारीले बताए ।

“प्रधानमन्त्री भ्रमण टोलीमा राखेपका प्रतिनिधि सामेल थिएनन् । प्रधानमन्त्री जानुभयो, सम्झौता भएको हामीले पनि समाचार पढेर थाहा पायौँ,” राखेपका ती अधिकारीले बाह्रखरीसँग भने, “तर, हामीलाई यसबारे मन्त्रालय र अन्य सम्बन्धित निकायबाट कुनै पनि आधिकारिक पत्र आएको छैन । त्यसैले उक्त स्पोर्ट्स कम्प्लेक्सबारे थप जानकारी दिन सकिने अवस्था छैन ।” 

झापा प्रधानमन्त्री ओलीको गृह जिल्ला हो । यसैकारण ‘बीआरआई’अन्तर्गत झापामा निर्माण गर्ने गरी स्पोर्ट्स कम्प्लेक्स समेटियो । तर, सरकार र चीनबीच सहमति बनिसक्दा समेत खेलकुदका अपरिहार्य दुई निकाय यसबारे बेखबर रहनु आश्चर्य लाग्दो छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro