काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेसी आबद्ध अमेरिकी मेजर सकर (एमएलएस)को क्लब इन्टर मियामीले अन्तर्राष्ट्रिय क्लब मैत्रीपूर्ण फुटबलमा क्लब अमेरिकाविरुद्ध टाइब्रेकरमा ३–२ को जित निकालेको छ ।
आइतबार बिहान सम्पन्न खेलको निर्धारित समय २–२ को बराबरीमा समाप्त भएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टी सुटआउट सडन डेथसम्म पुग्दा दुवै टिमका समान ६ खेलाडीले प्रहार गरेका थिए ।
पेनाल्टीमा मियामीका डेविड मार्टिनेज, सान्टियागो मोरालेस र डेविड रुइजले गोल गरे । मियामीका फेडेरिको रेडोन्डो र मार्सेलो वेगान्डले भने आफ्नो प्रहारलाई गोलमा परिणत गर्न सकेनन् ।
क्लब अमेरिकाका जाभियर डिलरोसन र क्रिस्टियन काल्डेरोनले पेनाल्टी सदुपयोग गरे । यस्तै, रामोन डेल कास्टिलो, रिचार्ड सान्चेज, एलान कार्भान्टेज र भिक्टर डेभिलाले भने पेनाल्टीमा गोल गर्न असफल रहे ।
त्यसअघि निर्धारित समयमा मियामीबाट मेसी र टोमस एभिलेसले गोल गरेका थिए । यस्तै, क्लब अमेरिकाका हेनरी मार्टिन र इजराइल रेयजले गोल गरेका थिए ।
इन्टर मियामीले अब अर्को क्लब मैत्रीपूर्ण खेलमा आगामी जनवरी ३० मा युनिभरसिटारियोविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ । इन्टर मियामीले फेब्रुअरी २३ मा एमएलएस नयाँ सिजनको पहिलो खेल खेल्नेछ ।