site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सहकारी पीडितका बहसकर्तामाथि भौतिकदेखि सञ्जाल आक्रमणसम्म

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार अपराह्न जिल्ला अदालत काठमाडौंबाट बाहिरिने क्रममा आक्रमण भयो । सहकारी ठगी र संगठित अपराधका मुद्दाका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं निलम्बित सांसद् रवि लामिछानेका समर्थकहरू त्रिपाठीमाथि कुटपिटमा उत्रिएका हुन् ।

उनीमाथि आक्रमण हुनुअघि नै सामाजिक सञ्जालमा गालीगलौज र ट्रोल गर्न थालिएको थियो । बिहीबारको घटानापछि सामाजिक सञ्जालमा उनीमाथिको आक्रमण झनै बढेको छ । त्रिपाठी सहकारी पीडितका पक्षबाट बहस गर्ने कानुन व्यवसायी हुन् ।

त्रिपाठीकै फेसबुक पोस्टमा प्रवेश गरी उनलाई गालीगलौज गर्न थालिएको छ । आफूमाथि भएको कुटपिटको विरोधमा काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले जारी गरेको विज्ञप्ति त्रिपाठीले सेयर गरेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यो समाचार तयार पार्दासम्म उक्त पोस्टमा ७६ वटा कमेन्ट छन् । तीमध्ये आधाभन्दा बढी कमेन्टमा त्रिपाठीलाई गालीगलौज गरिएको छ । कतिपयले जातीय र क्षेत्रीय विभेद झल्काउने शब्द प्रयोग गरेका छन् । त्रिपाठीमाथि अझै आक्रमण गर्नुपर्ने भन्दै धम्कीयुक्त कमेन्ट पोस्ट गरेका पनि छन् ।

यसरी भयो आक्रमण
अदालतमा बहस सकेर त्रिपाठी जब बाहिर निस्किए, अदालतको गेटमा हुल बाँधेर जम्मा भएका लामिछानेका समर्थकले त्रिपाठीलाई घेरा हाले । उनलाई ‘युट्युबर’ले प्रश्न सोध्न थाले । प्रश्नको जवाफमा उनले भने, “आजै दोषी, निर्दोषी हुनेवाला छैन, आज थुनछेक बहस हो, थुनामा पठाउने या नपठाउने निर्णय हुन्छ ।”

त्रिपाठीले यति भनिरहँदा उनलाई घेरा हालेका ‘युट्युबर’ र लामिछाने समर्थकले नाराबाजी गर्छन् । यही बीचमा त्रिपाठी युट्युबरलाई अदालतको प्रक्रियाबारे बुझाउँछन् ।

त्यसपछि उनलाई प्रश्न गरिन्छ, “तपाईं पीडितको तर्फबाट वकालत गर्न जानुभयो । तपाईंको विषयमा अनेक खालका टीकाटिप्पणी भइरहेका छन् । सहकारी पीडितको पक्षमा किन वकालत गर्नुभयो ? के पाउनुभयो ?”

जवाफमा त्रिपाठी भन्छन्, “मैले आत्मसन्तुष्टि पाएँ । एउटा वकिलका निम्ति केही सामाजिक उत्तरदायित्व हुन्छन् । सामाजिक उत्तरदायित्वको भावना हो ।”

यत्तिकैमा त्रिपाठीलाई घेरेको भिडले होहल्ला गर्न थाल्छ । अनि त्रिपाठी भन्छन्, “हामीले न्यायिक प्रक्रियामा धर्म निर्वाह गर्ने हो, बहस गर्ने हो । तर, तपाईंहरूले यो जथाभावी गालीगलौज गर्ने, मुख छाड्ने, यो अभद्र व्यवहार तपाईं गर्दै हुनुहुन्छ । यो कुराहरू रोक्नुहोस् । सभ्य नागरिकको परिचय दिनुहोस् । राजनीतिक दल सभ्यतापूर्वक प्रस्तुत हुन्छ । गालीगलौज गरेर केही हुँदैन ।”

यति भनेर त्रिपाठी भिडबाट बाहिरिन खोज्छन् । ‘कालो किताब रिसर्च टीभी’ नामको युट्युब च्यानलमा हालिएको भिडियोमा देखिएअनुसार उनी बाहिरिन नपाउँदै उनलाई धकेल्न सुरु हुन्छ । त्यसपछि चारैतिरबाट होहल्ला हुन्छ । यही समयमा आकासे नीलो रंगको हुडी लगाएका र कालो ज्याकेट लगाएका व्यक्तिले उनलाई हातले हानेर लडाएको देखिन्छ । त्यसपछि उनलाई अरूले पनि आक्रमण गर्न सुरु गर्छन् ।

सामाजिक सञ्जालमा पनि आक्रमण
त्रिपाठीमाथि अदालतको आँगनमा आक्रमण हुनुअगावै उनीमाथि सामाजिक सञ्जालमा आक्रमण सुरु भइसकेको थियो । त्रिपाठीले १८ पुसमा कास्की जिल्ला अदालतमा सहकारीपीडितका तर्फबाट बहस गरेका थिए । सँगै सञ्चारमाध्यममा अन्तर्वार्ता पनि दिएका थिए ।

त्यसपछि त्रिपाठीलाई अपरिचित व्यक्तिले फोन गरी गालीगलौज गर्नेदेखि धम्कीसमेत दिएका थिए । कस्तुरी अनलाइन नामको युट्युब च्यानलमा ‘रविविरोधी वकिल दिनेश त्रिपाठीलाई आयो फोनमा धम्की’ भन्ने शीषर्कमा एउटा कल रेकर्ड राखिएको छ । उक्त कल रेकर्डमा एकजना व्यक्तिले त्रिपाठीलाई धम्क्याएको सुनिन्छ ।

सहकारीपीडित पक्षबाट वकालत गर्न थालेपछि आफूलाई अनेकपटक फोनमा धम्की आएको त्रिपाठीले बताए । उनले बाह्रखरीसँग भने, “मलाई अनेक मान्छेले फोन गरेर धम्की दिने, गाली गर्दै आएका छन् ।”

बिहीबार त्रिपाठीमाथि कुटपिट भएपछि सामाजिक सञ्जालमा उनीमाथिको आक्रमण झनै बढेको छ । त्रिपाठीलाई गालीगलौज र धम्की दिइएका पोस्टहरू, ‘रुटिन अफ अर्जुनधारा, ज्ञानेन्द्र शाही, हाम्रो नेपाल हामी नेपाली समर्थक, बालेन शाह (बालेन शाह समर्थक), मदन चाड, राष्ट्रिय स्वतन्त्र पार्टी, विष्ट शमसेर, राजेन्द्रसिंह धामी, डा. सुरेन्द्र केसी फ्यान क्लब, हामी धादिंगंली, डा. तोसिमा कार्की, तामाङ रेशमलगायत फेसबुक ग्रुपमा त्रिपाठीलाई गालीगलौज गरेर पोस्ट गरिएका छन् ।

यी पेज, ग्रुप र आईडीमा दर्जनौँपटक त्रिपाठीलाई गालीगलौज गर्दै उनलाई ‘अझै कुट्ने’ धम्की दिइएको छ । यतिमात्र होइन, त्रिपाठीविरुद्ध टिकटक र एक्समा पनि गालीगलौज गरिएका प्रशस्तै पोस्टहरू छन् ।

आफूमाथि योजनाबद्धरूपमा साइबर र भौतिक आक्रमण भएको त्रिपाठी बताउँछन् । “मैले सहकारीपीडितको पक्षमा बोल्न थालेपछि ममाथि रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकले योजनाबद्ध रूपमा साइबर आक्रमण गरे ।”

तिनै साइबर आक्रमणकारीहरूले आफूलाई अदालत परिसरमा कुटपिट गरेको उनले बताए । त्रिपाठी भन्छन्, “ममाथि अझै साइबर आक्रमण रोकिएको छैन । ‘दिनेश त्रिपाठीलाई जहाँदेखि पनि मार्नुपर्छ । यसलाई कुटाइ पुगेन, रगत बान्ता हुनेगरी कुट्नुपर्छ भनेर’ साइबर सेनाहरू कमेन्ट र पोस्ट गरिरहेका छन् ।”

त्रिपाठीले आफूमाथि ज्यानमा मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै महानगरीय वृत्त सिंहदरबारमा उजुरी दिएका छन् । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले पनि अदालतबाट बहस सकेर फर्किने क्रममा त्रिपाठीमाथि हमला भएको विषयमा अनुसन्धान गरेर दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।

प्रहरीले सीसीटीभी फुटेजमा देखिएका आधारमा एक व्यक्तिलाई पक्राउ पनि गरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro