site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सैफ अली खानमाथि आक्रमण गर्ने को हुन्, कसरी गरेका थिए हमला ? 

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने व्यक्ति बंगलादेशी नागरिक हुन सक्ने मुम्बई प्रहरीले जनाएको छ । आरोपितलाई आइतबार बिहान स्थानीय समयानुसार ३ः३० बजे पक्राउ गरिएको थियो ।

त्यसको केही घण्टापछि जोन–९ का प्रहरी नायब आयुक्त दीक्षित गेडामले पत्रकार सम्मेलनमा आक्रमणकारी करिब ३० वर्षका रहेको बताए । उनको नाम मोहम्मद सरिफुल इस्लाम शहजाद रहेको उनले जानकारी दिए ।

आरोपित शहजादसँग भारतीय कागजात छैन । उनी चोरी गर्ने उद्देश्यले घरभित्र पसेका थिए ।

Dabur Nepal
NIC Asia

प्रहरीका अनुसार, आक्रमणकारी केही दिन मुम्बईबाट भागेका थिए । उनी पछि पुनः मुम्बई फर्किएका प्रहरीले जनाएको छ ।

यी आरोपितलाई ठाणेको हिरामन्डी श्रम शिविरबाट पक्राउ गरिएको हो । प्रहरीले यसअघि आरोपित पश्चिम बंगालका बासिन्दा भएको जनाएको थियो ।

अभिनेता सैफमाथि बान्द्रास्थित उनको निवासमा चक्कु प्रहार गरिएको थियो । सैफमाथि गएको बुधबार राति (बिहीबार बिहान) करिब २ः३० बजे आक्रमण भएको थियो ।

“अभियुक्त बंगलादेशी मूलका भएको आशंका गरिएको छ । यो मुद्दामा राहदानी ऐनसँग सम्बन्धित उपयुक्त धाराहरू आकर्षित भएका छन् । घटनाको समयमा अभियुक्त चोरी गर्ने मनसायले घरभित्र पसेका थिए,” दीक्षित गेडामले भने ।

आरोपितलाई अदालतमा उपस्थित गराएर हिरासतमा राख्ने र मुद्दाको अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।

दीक्षित गेडाम भन्छन्, “अभियुक्त पक्राउ परेपछि थप अनुसन्धान भइरहेको छ । यसअघि उनले आफूलाई विजय दास भनेर चिनाएका थिए ।”

उनी पाँच/छ महिनाअघि मुम्बई आएको बुझिएको छ । उनी हाउसकिपिङ एजेन्सीमा काम गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ ।

आक्रमणमा सैफको मेरुदण्ड र घाँटीमा गहिरो चोट लागेको थियो । उनको शरीरमा ६ चोट लागेको थियो । मेरुदण्डबाट साढे दुई इन्च लामो छुरा निकालिएको थियो । सैफ मुम्बईस्थित लीलावती अस्पतालमा उपचाररत छन् ।

सैफमाथि आक्रमणपछि बान्द्रा पुलिस स्टेसनमा एक अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको थियो । आक्रमणकारीलाई समात्न मुम्बई प्रहरीले २० टोली गठन गरेको थियो ।

आरोपित सैफको घरमा कसरी पुगे र के गरे ?
प्रहरीका अनुसार, आरोपितले सैफको घरमा प्रवेश गर्न भवनका ती सिँढी प्रयोग गरेका थिए, जुन आगलागीको समयमा बच्न र बचाउन प्रयोग गरिन्छ ।

प्रहरीले अनुसन्धानका क्रममा भवनको सीसीटीभी फुटेज हेरेको थियो । आक्रमणपछि सोसल मिडियामा एउटा फुटेज ‘भाइरल’ भएको थियो, त्यो सैफको भवनको भएको बताइएको थियो ।

उक्त फुटेजमा एक पुरुषले खैरो कलरको टिसर्ट लगाएका देखिएको थियो । भिडियोमा ती व्यक्तिले स्कार्फ लगाएका र सिँढीबाट तल आर्लिरहेका देखिन्छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार, स्टाफ नर्स इलियामा फिलिप्सले प्रहरीलाई दिएको उजुरीमा आक्रमणकारीले एक करोड भारु मागेको बताएकी छन् । उजुरीमा उल्लेख भएअनुसार ती व्यक्ति सुरुमा सैफ र करिनाका कान्छा छोरा जेहको कोठामा पसेका थिए ।

ती नर्सले प्रहरीलाई बताएअनुसार राति २ बजे उनले जेहको कोठाबाट कुनै आवाज सुनेको र बाथरुमको बत्ती पनि बलेको देखेकी थिइन् ।

ती नर्सले भनेकी छन्, “म बाथरुममा को छ भनेर हेर्न उठेँ, त्यसपछि मैले एक दुब्लो मानिसलाई जेहको ओछ्यानतिर हिँडिरहेको देखेँ । त्यो व्यक्तिको देब्रे हातमा लट्ठी र दाहिने हातमा धारिलो ब्लेड थियो ।”

उनले आफूलाई ब्लेडले नाडीमा प्रहार गरेको बताएकी छन् । उनले भनेकी छन्, “मैले उनलाई के चाहनुहुन्छ भनेर सोधेँ । उनले एक करोड रुपैयाँ भने ।”

त्यसपछि सैफ र करिना पनि त्यहाँ पुगेका थिए । अनि, ती व्यक्तिले सैफमाथि आक्रमण गरे । सैफमाथि आक्रमण गरेपछि घरका बाँकी कर्मचारी पनि दौडिएर आइपुगेका थिए । 

बयानका अनुसार, ती व्यक्तिले सैफसँग झगडा गर्न थाले । तर, केही समयपछि मुख्य ढोका खुला थियो र आक्रमणकारी भागेका थिए । 

सैफ ३० वर्षदेखि बलिउड सिनेमामा काम गरिरहेका छन् । बीबीसी हिन्दीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro