site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नौ महिनामा विपद्का घटनाबाट ४९ अर्बको क्षति, ६७९ जनाको मृत्यु हुँदा ६६ बेपत्ता
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो नौ महिनामा विपद्का घटनाले देशभर ६७९ जनाको ज्यान लिएको छ । २०८१ वैशाख १ गतेदेखि पुस मसान्तसम्मको नौ महिनाको अवधिमा विपद्का घटनामा परी उनीहरूको ज्यान गएको हो ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार बितेको नौ महिनामा ६ हजार ४२४ वटा विपद्का घटना रेकर्ड भएका थिए ।

बाढी, पहिरो, भारी वर्षा, आगलागी, चट्याङ, हिमपहिरो, जनावरको आक्रमण लगायतका घटनामा परी उक्त अवधिमा ६७९ जनाको मृत्यु, ६६ जना बेपत्ता र एक हजार ३२३ जना घाइते भएको केन्द्रको तथ्यांकले देखाउँछ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

वर्ष २०८१ सुरु भएपछिको नौ महिनामा विपद्का घटनाबाट १६ हजार ४५६ परिवार प्रभावित भएका छन् । विपद्का घटनाले ७ हजार ३४० घरमा आंशिक र तीन हजार ५३६ घरमा पूर्ण क्षति गरेको छ । विपद्का घटनाले ७१ वटा पुलमा क्षति गरेको केन्द्रले जनाएको छ ।

यसवर्ष विपद्का घटनाले एक हजार ८३ गोठमा क्षति गरेको छ भने सात हजार ७२२ पशु चौपायाको मृत्यु भएको छ ।

विपद्का घटनाले बितेको नौ महिनामा ४८ अर्ब ९९ करोड ४५ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ ।

विपद्का घटनामा परी काभ्रेपलाञ्चोकमा ८३, ललितपुरमा ५२, काठमाडौंमा ४४, धादिङमा ४३, चितवनमा ३८, बाग्लुङ्मा २१, दाङमा १८, कास्कीमा १५, मकवानपुरमा १४, रोल्पामा १३, कञ्चनपुरमा १३, कैलालीमा १२ गुल्मीमा ११, वर्दियामा ११, पाँचथरमा १०, झापामा १०, मोरङमा १०, सिन्धुपाल्चोकमा १० र स्याङ्जामा १० जनाले ज्यान गुमाएका थिए ।

विपद्का घटनामा परी चितवनमा ३७, काभ्रेपलाञ्चोकमा ६, ललितपुरमा पाँच, पाँचथरमा तीनजना बेपत्ता रहेका छन् ।

२०८१ सालमा मनसुनजन्य विपद्ले नेपालमा सबैभन्दा ठूलो जनधनको क्षति गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाको तथ्यांकअनुसार यसवर्षको मनसुनमा (२०८१ जेठ २८ गतेदेखि असोज २६ गतेसम्म) मनसुनजन्य विपद्बाट मात्र ४९५ जनाको मृत्यु, ६६ जना बेपत्ता र ५२२ जना घाइते भएका थिए । प्रत्यक्ष प्रभावित परिवारको संख्या १० हजार ८२३ रहेको छ ।

गत वर्ष (२०८०)को मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० जना वेपत्ता र १६८ जना घाइते भएका थिए । उक्त वर्ष मनसुनजन्य विपद्का घटनाबाट ६ हजार १२८ परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।

२०८१ सालमा मनसुनजन्य विपद्का घटना बढेपछि सरकारले २० जिल्लाका ७१ वटा स्थानीय तहलाई तीन महिनाका लागि विपद् संघटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

नेपालमा जलमापन सुरु भएयताका ७७ वर्षको इतिहासमा एकैदिन सबैभन्दा धेरै वर्षा रेकर्ड २०८१ सालमा भएको थियो । कञ्चनपुरको दोधारा वर्षा मापन केन्द्रमा चौबीस घटामा ६२४ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

मनसुनको अन्त्यतिर २०८१ असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल र आरिघोप्टे पानीले ठूलो जनधनको क्षति गरेको थियो । तीन दिनको वर्षाले २५० जनाको ज्यान लियो भने १८ जना बेपत्ता भए । १७८ जना घाइते भएका थिए । तीन दिनको भारी वर्षाले सबैभन्दा धेरै क्षति वाग्मती प्रदेशमा गरेको थियो ।

तीन दिनको पानीले अर्बौंको क्षति गरेको थियो । प्राधिकरणले तयार पारेको ‘क्षति तथा नोक्सानीको प्रारम्भिक आकलन’अनुसार असोजमा परेको तीन दिनको पानीले ४६ अर्ब ६८ करोड ४३ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको थियो ।

प्राधिकरणको प्रारम्भिक आकलनअनुसार सडक, पुल, जलविद्युत्लगायत भौतिक पूर्वाधारतर्फ ३८ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ, कृषि तथा पशुधनतर्फ पाँच अर्ब ८८ करोड २८ लाख रुपैयाँ, शिक्षातर्फ सात करोड दुई लाख रुपैयाँ, स्वास्थ्यतर्फ दुई करोड १७ लाख रुपैयाँ र सिँचाइतर्फ एक अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति गरेको थियो ।

बाढी तथा पहिरोले ४१ वटा सडकखण्डमा क्षति हुँदा ती सडकको पूर्ण मर्मत सम्हार गर्न २५ अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।

तीन दिनको बाढी र पहिरोले देशभरका २६ वटा जलविद्युत् आयोजनामा असर गरेको थियो । बाढी र पहिरोले ती जलविद्युत् आयोजनामा तीन अर्ब एक करोड ८० लाख रुपैयाँ बराबरको क्षति गरेको थियो ।
बाढी तथा पहिरोले खानेपानी तथा सरसफाइसम्बन्धी एक हजार ६३९ वटा प्रणालीमा क्षति गरेको थियो ।

बाढी तथा पहिरोले ४४ वटा पुलमा क्षति पु¥याएको थियो, जसका कारण एक अर्ब चार करोड २० लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको थियो ।

तीन दिनको वर्षापछि आएको बाढी तथा पहिरोले दूरसञ्चार क्षेत्रमा १५ करोड १८ लाख २० हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो । बाढी तथा पहिरोले देशभर ३०२ वटा दूरसञ्चारका युनिटमा क्षति गरेको थियो ।

बाढी तथा पहिरोले तीन दिनमा ८४ वटा सार्वजनिक यातायातका सधानमा क्षति गरेको थियो । सार्वजनिक यातायातमा क्षति पुग्दा ७२ करोड ९८ लाख ८० हजार रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नु परेको थियो ।

बाढी, पहिरो र डुबानले ६५ हजार ८४ हेक्टर कृषियोग्य जमिनमा क्षति गरेको थियो । २६ हजार २०५ पशुपंक्षी प्रभावित भएका थिए ।

बाढी तथा पहिरोबाट सात वटा सिँचाइ आयोजना प्रभावित हुँदा एक अर्ब ३५ करोड रुपैयाँ बराबरको नोक्सानी भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro