काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)को तेस्रो संस्करण चैत ६ गतेदेखि हुने भएको छ । मण्डला थिएटरको आयोजनामा हुने निटफेस्ट २०२५ विश्व रंगमञ्च दिवस (मार्च २७) चैत १४ गते समापन हुनेछ । महोत्सव नौ दिनसम्म चल्नेछ ।
तेस्रो निटफेस्ट ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्चः रैथाने ज्ञानको उज्यालो’ भन्ने नाराका साथ हुने मण्डला थिएटरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मण्डला थिएटर नेपाल तथा निटफेस्ट संयोजन समूहले कलाकार दयाहाङ राईलाई महोत्सव निर्देशकको रुपमा निश्चित गरेको छ । महोत्सव संयोजकको रुपमा रंगकर्मी केदार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
यसपटकको निटफेस्ट काठमाडौंको मण्डला थिएटरसँगै काठमाडौंबाहिर पनि विभिन्न सहरमा हुनेगरी तयारी भइरहेको छ । महोत्सवका लागि गत जुनमा नाटक तथा कार्यक्रमको आवेदन आह्वान गरिएको थियो ।