site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिवि रजिस्ट्रारलाई प्रश्न– सुधारका निम्ति कसरी काम गर्दै हुनुहुन्छ ?

काठमाडौं । मुलुककै जेठो, अनि ठूलो संख्यामा विद्यार्थी पढ्छन्, त्रिभुवन विश्वविद्यालयमा । तर, नियमित परीक्षा, नतिजा प्रकाशन देखिएका ढिलाइका कारण विद्यार्थीलाई सहज छैन । कार्यकारी परिषद्को काम–कारबाहीका विषयमा लामो अवधिसम्म ताला लाग्ने घटना त्रिविका निम्ति नौलो होइन ।

विद्यार्थी संगठनहरूका धर्ना र आन्दोलनले काम कारबाहीमा त्यत्तिकै अवरोध पुर्‍याउने गरेको छ । यस्तो अवस्थामा त्रिविको समग्र सुधार र असहज परिस्थिति सहज बनाउन के/कस्ता योजना छन् त कार्यकारी परिषद्का ?

बाह्रखरीसितको कुराकानीमा त्रिवि रजिस्ट्रार केदारप्रसाद रिजाल भन्छन्, ‘‘हामीले ६ वटा विषयलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । पहिलो, शैक्षिक क्यालेन्डर लागु गर्ने हो । हाल त्रिविमा रिक्त रहेका करिब प्राध्यापक, सह–प्राध्यापक र झन्डै ८०० कर्मचारीको आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नु छ । यसले विद्यार्थीसँग जोडिएका हालका समस्यामा समाधानमा धेरै राहत पुग्नेछ ।’’ 

विद्यावारिधि सकेर विदेशमा हराएकाहरूको खोजी गर्ने कामलाई पनि प्राथमिकतामा राखेको उनको भनाइ छ । ‘‘जो सरकारी लगानीमा विद्यावारिधि गरेर पाँचवर्षे बिदामा विदेश गए र उतै हराए । राज्यको लगानीले पढाइ सकेर राज्यलाई योगदान गर्नुको साटो यसरी विदेश भासिएकाहरूको विवरण खोज्दै छौँ । यतिखेर संख्यामा कति छन् भन्न सक्ने अवस्था छैन, तर ठूलो संख्यामा छन् भन्ने हो,’’ रिजालले भने ।

उनले तिनलाई खोजेर राज्यको लगानी फिर्ता माग्ने योजना रहेको बताए । उनका अनुसार, पाठ्यक्रम रिभिजन (परिमार्जन वा समायोजन)लाई पनि प्राथमिकतामा राखेर काम गरिँदै छ । सबै तहमा कोर्स ‘रिभिजन’ गरी बजारमुखी सामग्री पाठ्यक्रममा समावेश गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । 

उनी भन्छन्, ‘‘यस्तै परीक्षा र नतिजा क्यालेन्डरअनुसार गर्न गराउनु अर्को मुख्य प्राथमिकता हो । त्यसका निम्ति हाम्रा क्षेत्रीय कार्यालयहरूलाई व्यवस्थित गर्न पनि लागिपरेका छौँ । बाहिर देखिएकै कुरा हो, त्रिविमा राजनीतिक हस्तक्षेप व्याप्त छ । विशेष गरी, ठूला दलका भ्रातृ संगठनहरूको अवरोधका कारण काम गर्न सहज अवस्था छैन ।’’

हुन पनि धर्ना, आन्दोलन, जुलुस, तालाबन्दीजस्ता अवरोधका कारण त्रिविलाई ‘क्यालेन्डर’अनरूप काम गर्न कठिन नै छ । ठूला दलहरूकै भ्रातृ संघ–संगठनहरू आन्दोलित भइरहन्छन् ।

रिजाल भन्छन्, ‘‘विश्वविद्यालय क्षेत्रमा यस्ता गतिविधि गर्न नरोकिएसम्म परिस्थिति सहज हुँदैन । ठूला दलहरूले प्रतिबद्धता गरेर विश्वविद्यालयमा आन्दोलन र हिंसात्मक गतिविधि गर्न आफ्ना कार्यकर्तालाई निषेध नगरे यो अवस्थाको अन्त्य हुँदैन । प्रमुख अधिकारीहरूदेखि सामान्य कर्मचारीसम्मको नियुक्तिमा राजनीतिक हस्तक्षेपले काम गर्न सहज छैन ।’’

यसअघिका तीन उपकुलपति, रजिस्ट्रार र रेक्टरमाथि पटकपटक कामकाजमा बाधा पुगेकै थियो । रिजाल भन्छन्, ‘‘पार्टीभित्र पनि साझा धारणाअनुसार अघि बढ्नुको साटो व्यक्ति हाबी हुँदा व्यक्तिको शक्तिको आडमा विश्वविद्यालयभित्र अनेक राजनिति गर्नेको कमी छैन । चाहे त्यो कर्मचारीको तहमा होस् या विद्यार्थी संगठनभित्र, त्रिविलाई बलियो बनाउने हो भने दलहरूले यो तथ्यलाई मनन गर्नु आवश्यक छ । तर, यी सबै अड्चन सामना गर्दै कसैको दबाब र प्रभावमा नभई नियम, कानुनसम्मत तरिकाले अगाडि बढ्ने हाम्रो प्रतिबद्धता छ ।’’

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro