काठमाडौं । नेपालजस्ता स्रोतको कमी भएका देशमा स्वास्थ्य एआईको क्षेत्रमा वैज्ञानिक ज्ञान, प्रविधि र नवप्रवर्धन गर्ने प्रतिबद्धता गर्दै हाइकन सम्मेलन सम्पन्न भएको छ । यस्ता देशहरूलाई स्वास्थ्य एआईको ज्ञान र प्रविधिको उपभोक्ताबाट आफैँ उत्पादक बनाउने घोषणा सम्मेलनमा गरिएको छ ।
नेपाल र नेपालजस्ता विकासशील देशहरूमा स्वास्थ्य एआईको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्न स्थापना भएको हेल्थ एआई फर अल नेटवर्कले (हाइनेट) गत मंगलबारबाट कन्फ्रेन्सको आयोजना गरेको थियो ।
कन्फ्रेन्समा विकासशील देशहरूले स्वास्थ्य सेवाको समस्या पहिचान गरी त्यसलाई स्वास्थ्य एआईको माध्यमबाट समाधान गर्ने विषयमा छलफल भएको थियो ।
नेपालको अग्रसरतामा स्वास्थ्य क्षेत्रमा भएको एआई प्रविधि विकासको फाइदा सीमित स्रोतसाधन भएका देशमा बसोबास गर्ने मानिसहरूमा पनि पुगोस् भन्ने अभिप्रायले सन् २०२४ को अन्त्यतिर हाइनेट सुरु भएको थियो । हाइनेटले पहिलो कन्फ्रेन्स काठमाडौंमा आयोजना गरेको हो ।
कन्फ्रेन्समा स्वास्थ्य सेवा वितरणमा महत्त्वपूर्ण परिवर्तन ल्याउन, मानव स्वास्थ्य सुधार गर्न र स्वास्थ्यमा सबैको पहुँच पुर्याउन स्वास्थ्य एआईले कसरी भूमिका खेल्छ भन्ने विषयमा छलफल भएको थियो ।
त्यसैगरि, कन्फ्रेन्समा विकासउन्मुख देशहरू स्वास्थ्य एआई प्रविधिको उपभोक्ता मात्र नभइ उत्पादक पनि कसरी हुने भन्ने विषयमा बृहत छलफल भएको थियो ।
कन्फ्रेन्समा स्वास्थ्य एआईलाई विश्वव्यापी सार्वजानिक पुँजीका रूपमा कसरी विकास गर्न सकिन्छ, स्वास्थ्य एआईको वर्तमान अवस्था तथा नेपाल र नेपालजस्तो देशहरूको स्वास्थ्य सेवामा यसले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा विज्ञहरूले छलफल गरेका थिए ।
कन्फ्रेन्समा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल एप्लाइड म्याथम्याट्रिक्स एण्ड एन्फोम्याट्रिक्स (नामी)को सहआयोजना रहेको थियो । यो सम्मेलन अर्को वर्ष युगान्डामा हुनेछ ।