काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले नेपाल एयरलाइन्सलाई नसुधार नगरेर विश्राम नलिने बताए ।
नेपाल एयरलाइन्सलाई सुधार्न समिति, सांसद, सरकार सबैले संकल्प लिन जरुरी रहेको उनको भनाइ छ ।
"हामी अब नेपाल एयरलाइन्सलाई नसुधारिकन विश्राम लिन्नौँ । यो बैठक अन्तिम बैठक होइन, कि यो बैठकबाट हामी अघि बढेर नेपाल एयरलाइन्सलाई सुधारेरै छोड्छौँ भन्ने संकल्प समितिले पनि गर्नुपर्छ, मन्त्रालयले पनि गर्छ । जसरी चलिरेहका छौँ, त्यही ठिक छ भन्ने ढंगले हुँदैन, केही न केही समस्या छ, त्यसको पहिचान गरेर सुधार गर्नुपर्छ," उनले भने ।
उनले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सबीचको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
"क्यान र नेपाल एयरलाइन्सबीचको सम्बन्ध पनि कसरी हो हामीले सुधार गर्नुपर्नेछ । क्यान नियमनकारी संस्था हो, यो सेवा प्रदायक संस्था हो । तर, क्यान सेवा प्रदायक संस्था पनि हो । सेवा प्रदायक संस्था पनि भएको कारणले सेवा दिने दुई संस्थाको बीचमा सहकार्य र हार्दिकता नहुने हो भने काम गर्न निकै अप्ठेरो पर्छ । आगामी दिनमा थप छलफल, परिणाममुखी छलफल र प्रतिफलमुखी छलफल गरेर हामी जान्छौँ," उनले भने ।