काठमाडौं । 'विवादास्पद' अमेरिकी व्यापारी जर्ज सोरोससहित १८ जनाले सर्वोच्च अमेरिकी नागरिक सम्मान (प्रेसिडेन्सियल मेडल अफ फ्रिडम) पाएका छन् । जर्ज सोरोसको सट्टा उनका छोरा एलेक्स पदक लिन पुगेका थिए ।
सोरोसबाहेक पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई पनि 'प्रेसिडेन्सियल मेडल अफ फ्रिडम'बाट सम्मान गरिएको छ ।
पदकका लागि कुल १९ जना छनोट भएका थिए । तर, तीमध्ये १८ जनामात्र पदक लिन आएका थिए । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सी पदक लिन पुग्न सकेनन् ।
यीबाहेक पूर्वमहान्यायाधिवक्ता रोबर्ट केनेडी, फेसन डिजाइनर राल्फ लरेन, अभिनेता डेनजेल वासिंग्टनजस्ता दिग्गजहरूको नाम पनि यस सूचीमा छ । अवार्ड प्राप्त गर्ने व्यक्तिहरू राजनीति, खेलकुद, मनोरञ्जन, मानव अधिकार, एलजीबीटीक्यूप्लस, विज्ञानजस्ता क्षेत्रसँग सम्बन्धित छन् ।
विवादित बन्यो बाइडेन प्रशासन
सोरोसलाई स्वतन्त्रता पदकबाट सम्मान गरेपछि जो बाइडेन प्रशासनको आलोचना भएको छ । विशेषगरी, रिपब्लिकन नेताहरूले उनको आलोचना गरिरहेका छन् ।
टेस्लाका मालिक एलन मस्कले सोरोसलाई स्वतन्त्रता पदक दिने निर्णयलाई 'हास्यास्पद' भनेका छन् । सोरोसले आधारभूतरूपमै 'मानवतालाई घृणा गर्ने' मस्कको आरोप छ ।
A travesty that Biden is giving Soros the Medal of Freedom https://t.co/LGvGe8kqKE
— Elon Musk (@elonmusk) January 4, 2025
रिपब्लिकन पार्टीका नेता निक्की हालेले 'अमेरिकाको अनुहारमा अर्को थप्पड' भनेका छन् । डोनाल्ड ट्रम्प जुनियरसहित अरू नेताहरूले पनि बाइडेनको आलोचना गरेका छन् ।
ह्वाइट हाउसले भने जर्ज सोरोसलाई प्रजातन्त्र, मानव अधिकार, शिक्षा र सामाजिक न्यायलाई सुदृढ गर्ने संसारभरका संस्थाहरूलाई समर्थन गरेकाले सम्मान गरिएको जनाएको छ ।
जर्ज सोरोस एक अमेरिकी अर्बपति विचारक हुन् । सोरोसको जन्म अगस्ट १२, १९३० मा हंगेरीको राजधानी बुडापेस्टमा भएको थियो । उनीमाथि विश्वका धेरै देशको राजनीति र समाजमा प्रभाव पार्ने एजेन्डा चलाएको आरोप छ । सोरोसको संस्था ‘ओपन सोसाइटी फाउन्डेसन’ छ ।