काठमाडौं । तीन वर्षअगाडि, एकदिन आशा भोसलेबाट खबर आयो । खबर थियो– हार्मोनियमको सुर बिग्रियो, मिलाउनुपर्यो ।
खबर आएको थियो, विमल साहलाई । विमल तिनै हुन्, जसको हार्मोनियम आफैँमा ठूलो ब्रान्ड बनिसकेको छ । जुन ब्रान्डको अहिले नेपालमा दबदबा प्रायः छ ।
त्यसैले त उनलाई आशामात्रै होइन, अनु मलिकले पनि सम्झिए । हार्मोनियमको सुर किन गडबड भयो, विमलले नै हेरिदिनुपर्यो । भारत आफैँमा ठूलो भूमि । जति ठूलो भूमि त्यति नै धेरै कलाका साधक र मेकर ।
तर, पनि उनीहरूले किन विमललाई नै बोलाए ? सायद उनमा हार्मोनियममा त्यो शिल्प छ । त्यसैले भारतका लोकप्रिय गायकगायिकाले पनि विमललाई सम्झिए । जुन उनका लागि स्मरणीय बन्यो । अनि, आफ्नो शिल्प जाँच्ने मौका पनि ।
त्यसो त भारतसँग विमलको छुट्टै सम्बन्ध छ । कस्तो ? ०६२ मा सर्लाहीबाट काठमाडौं प्रवेश गर्दा विमललाई पढाइसँगै जागिर गर्नैपर्ने बाध्यता थियो ।
आरआर (रत्नराज्य लक्ष्मी) क्याम्पसमा भर्ना भएका विमललाई दिदीले असन पुर्याइन्, जहाँ थियो– हार्मोनियम पसल । उनलाई काम मिल्यो, सहयोगीको । हार्मोनियम सफा गर्ने, सामान्य बिग्रिएको बनाउने । अर्थात्, मजदुरको काम ।
दुई वर्ष काम गरेपछि उनलाई लाग्यो– हार्मोनियम बनाउने काम सिक्नुपर्छ । यसका सुरहरू मिलाउन आफैँ जान्नुपर्छ ।
यसका लागि कोलकाता उनले गन्तव्य बनाए । त्यहाँ पनि उनी हार्मोनियम पसलमै काम गर्न थाले । उनले सोचेजस्तै विमल त्यहाँ हार्मोनियम फिट गर्ने र सुर खुस्किएका हार्मोनियमलाई सुरमा ल्याउन थाले ।
आत्मविश्वास बढ्यो । उनी आफ्नै जन्मथलो फर्किए । काठमाडौंमा उनले पुरानो कर्म गर्न खोजे । तर, पाएनन् । विमलमा केही शिल्प थपिएको थियो । खुस्किएका सुरहरूलाई मिलाउन सक्ने भएपछि आत्मविश्वासको पारो उकालो चढेको थियो । तर, काम मिलेन ।
काठमाडौं फर्किएको चार महिनामै उनी राजस्थान फर्किए । जहाँ उनले चाहेको काम पाए, हार्मोनियममा आफूलाई फर्काए ।
त्यही बेला हो उनले रतन टाटा, गौतम अडानीलगायतको जीवनी र संघर्षको कथा पढेको । विनोध चौधरीलगायतको बायोग्राफी पढेको ।
जब उनले यी सफल व्यक्तिको संघर्ष पढे । ब्रान्ड कसरी बन्दोरहेछ भन्ने थाहा पाए । व्यक्ति सफल हुन संघर्षको पहाड चढ्नै पर्ने रहेछ भन्ने बोध भयो । आफू स्थापित हुन आफ्नै केही गर्नैपर्ने रहेछ भन्ने थाहा पाएपछि त्यसपछि उनमा जन्मियो हुटहुटी ।
विमल फेरि फर्किए नेपाल । काठमाडौंको सिनामंगलमा एउटा कोठा लिए । जहाँ उनको उद्देश्य थियो– बिग्रिएका हार्मोनियम बनाउने र नयाँ फिट गर्ने ।
काम त सुरु गरे । तर, सहज थिएन । बिग्रिएका हार्मोनियम बनाउन पाइन्छ कि भनेर सहरभरि डुल्थे । झोलामा हार्मोनियम बनाउने सामग्री बोकेर भजनमण्डली र विद्यालयहरूमा पुगेर हार्मोनियम बनाउन छ भनेर सोध्थे ।
कहिले काठमाडौंको एउटा कुना कहिले अर्को कुना, विमलको दैनिकी थियो । पसलमा श्रीमती बस्थिन् । पाए दिनभर डुलेर काम गर्यो, नपाए यत्तिकै फर्कियो ।
विमलको शिल्पको पहिचान हुन थाल्यो । विस्तारै काम पाउनेक्रम बाक्लियो । उनले भारतबाट सामान ल्याएर फिट गर्ने हार्मोनियमलाई आफ्नै ब्रान्ड दिन थाले । नाम राखे ‘विमल हार्मोनियम ।’
५/७ दिनमा एउटा काम पाउने विमल विस्तारै व्यस्त हुन थाले । उनीसँग बिग्रिएका हार्मोनियम बनाउन ल्याउनेको संख्या बढ्न थाल्यो । उनले फिट गरेका विमल हार्मोनियम किन्नेको संख्या बढ्न थाल्यो ।
हालसम्म उनले बेसुरा भएका कति हार्मोनियम बनाए ? रकेर्ड राख्न त उनले सुर पाएनन् । तर, उनकै शब्दमा 'कति हो कति !'
“केही समयअगाडि सुनसरीबाट एकैपटक २० वटा हार्मोनियम बनाउन ल्याइएको थिए,” विमल भन्छन्, “दशवटा बनाएर एकैपटक पठाइदिएँ । अब अरू बनाएर पठाउन बाँकी नै छ ।” यसको अर्थ कति बनाएर लेखाजोखा नै छैन ।
उनीसँग हार्मोनियम बनाउन अहिले क्यूमा बस्नुपर्छ । “धेरैका हार्मोनियम बनाउन बाँकी नै हुन्छ । त्यसैले कम्तीमा एकदेखि डेढ महिना क्यूमा नबसी पालो आउँदैन,” विमल व्यस्त जीवनशैली सुनाउँछन्, “दिनको सातदेखि दशवटा हार्मोनियमलाई ट्युनिङ दिन्छु । तर, पनि क्यू लामो छ ।”
बनाएका हार्मोनियमको लेखाजोखा नभए पनि आफैँ फिट गरेर बिक्री गरेका हार्मोनियमको अनुमान भने लगाउन सक्छन् । भन्छन्, “मैले आफैँ फिट गरेर बेचेको विमल हार्मोनियमको संख्या कम्तीमा दुईहजार नाघ्यो होला ।”
हार्मोनियममा प्रयोग भएका सामग्री र त्यसको गुणस्तरअनुसार मूल्य फरक–फरक हुन्छ । १२ हजारदेखि एक लाख २० हजारसम्म मूल्य राखेका छन् । यसमा सबैभन्दा धेरै बिक्री हुनेमा २५ हजारदेखि ३५ हजारसम्मका हार्मोनियम रहेको विमल बताउँछन् ।
अहिलेका नेपाली संगीत उद्योगका दिग्गज र चलेका कलाकारले विमलबाट हार्मोनियमको सेवा लिइसकेका छन् । उनको हार्मोनियम किनिसकेका छन् ।
सम्भूजित बास्कोटा, दीप श्रेष्ठ, शिव परियार, अञ्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिक्देललगायत कलाकारले आफ्नो हार्मोनियमको ट्युनिङ विमबाट मिलाइसकेका छन् ।
विमलले ‘वर्ल्ड बुक अफ रेकड्र्स, लन्डन’मा संसारकै पहिलो हार्मोनियम डिजिटल ट्युनिङ विशेषज्ञका रूपमा गिनिज बुकमा आफ्नो नाम दर्ज गरिसकेका छन् । नेपाली सांगीतिक वृत्तमा विमल ‘हार्मोनियम डाक्टर’का रूपमा परिचित छन् ।
“विमल हार्मोनियम अहिले नेपालको एक नम्बर हार्मोनियमको ब्रान्ड हो,” विमल आफैँ दाबी गर्छन्, “रियालिटी शो होस् वा स्टुडियो अथवा संगीतकर्मीको घर विमल हार्मोनियम कै धुन गुञ्जिन्छ ।”
तपाईंलाई बजाउन पनि आउँछ ? “भगवान्ले मलाई हार्मोनियम बनाउने कला दिनुभयो, तर त्यसको सुरसँग मिसाउने सुमधुर गला दिनुभएन,” जवाफसमा विमल बोले ।