site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजारमा कमजोर नियमन–निगरानी, फस्दैछन् साना लगानीकर्ता !

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भएसँगै सर्वसाधारणका करिब दुई अर्ब रुपैयाँ रोक्का छ । ठूला कारोबारी खेलाडीले कमजोर वित्तीय कम्पनीमा खेल्दा सेयर मूल्य अकासियो । एक वर्षअघि ३०० रूपैयाँको आसपास भएको बैंकको सेयर मूल्य एकाएक ९०० हाराहारी पुग्यो ।

बैंकले आर्थिक वर्ष २०७१/७२ यता लगानीकर्तालाई प्रतिफल दिएको छैन । केही समयअघि राष्ट्र बैंकले बैंकलाई कारबाहीसमेत गरेको थियो । तर, बैंकको सेयर मूल्य एकाएक बढ्नु अस्वभाविक थियो । 

चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैंक दुई अर्ब घाटामा छ । खराब कर्जा बढ्दै गएको छ । आधारभूत सूचक अस्वस्थ भएका बैंकमा लगानीकर्ता आकर्षित हुँदा नियामक बेखबर जस्तै बन्यो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कर्णाली डेभलपमेन्ट बैंकमा एकै व्यक्तिको नाममा साढे एक लाख कित्ता सेयर छ । एकै थर गरेका व्यक्तिहरूसँग हजारौं कित्ता सेयर छ । तर, कमजोर वित्तीय अवस्था भएको कम्पनीमा के भइरहेको छ भन्ने जानकारी नेपाल धितोत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का नियमन तथा सुपरिवेक्षण शाखाले लिएनन् । 

धितोपत्र दोस्रो बजारमा ५० लाख २८ हजार ३०० कित्ता सेयर सूचीकरण भएको कर्णाली डेभलपमेन्ट बैंकको सेयर २४ लाख ६३ हजार ८६७ कित्ता सर्वसाधारणको हातमा छ । त्यसमा पनि साढे सात लाख कित्ता सेयर ६०/६२ जनासँग छ । यिनैले बैंकको सेयर मूल्य उचाल्दै साना लगानीकर्तालार्ई आकर्षित गरे । 

यस्ता धेरै कम्पनी छन्, जसको सेयर मूल्य अस्वाभाविक बढेको छ । ती कम्पनीहरूको वित्तीय अवस्था खराब छ । वित्तीय अवस्था खराब भएपनि सेयर मूल्य बढेकै छ । हाइड्रो, विकास बैंकदेखि फाइनान्ससम्म सेयर खेलाडीको कब्जामा छन् । नियामक बेखबर प्रायः छ ।

एकै व्यक्तिले लाखौं कित्ता सेयर खरिद गर्दा त्यसको अनुगमन गर्दैन । भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भए पनि वास्ता छैन । अनुगमन गरे पनि व्यक्तिगत रिसइबी साँध्ने काम हुने गरेको छ । यो कमजोर संस्थागत सुशासन र पुँजीबजारमा भएको एक विकृतिको उदाहरण मात्र हो । 

धितोपत्र बजारको नियमन धितोपत्र बोर्डले गर्छ । धितोपत्र दोस्रो बजारको सञ्चालन नेप्सेले गर्छ । यी दुई निकायमा नियमन र सुपरभिजन महाशाखा पनि छन् । तर, यी महाशाखाका कर्मचारीले नियमन तथा सुपरभिजनका काम सहज रूपमा नगर्नुको परिणति देखापर्दैछ ।

ऐन–नियमभन्दा नेतृत्वले दिएको निर्देशन पालना गर्नु कर्मचारीको दायित्व जस्तै बन्दै गएको छ । राजनीतिक भागबण्डाका नेतृत्वकर्ता हुनु र तिनै मालिक (अर्थमन्त्री र व्यवसायी)को निर्देशनअनुसार तिनीहरूले काम गर्छन् । यस्तो हुनुमा अधिकार सम्पन्न बलियो नियामक नहुनुको नतिजा हो । 

नियामक निकायले ‘वाच डग’को काम गर्नुपर्ने पुँजीबजार विज्ञ गोपालप्रसाद भट्ट बताउँछन् । तर, धितोपत्र बोर्डले नियमनको काम गरेको भएपनि सुपरभिजनको काम गर्न नसकेको उनी बताउँछन् । “धितोपत्र बजारको नियमन धितोपत्र बोर्डले गर्छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नियमन गर्छ । उनीहरूले एउटा ‘लेबल प्लेइङ फिल्ड’ दिन्छन्,” भट्टले भने, “यो नियममा बसेर काम गरेनौं भने दण्डित गर्छु, नियमभित्र बसेर नाफा कमाऊ र बाँड भन्ने काम पनि गरेका हुन्छन् ।” 

धितोपत्र बोर्ड धितोपत्र बजारको नियामक भएकाले आफ्ना नीति अनुसार कम्पनी, इन्भेष्टर र बजार सञ्चालक चलेका छन् वा छैनन्, नियमित सुपरभिजनमा लाग्नुपर्ने भट्ट बताउँछन् । नियामकले सुपरभाइजरको रोल खेल्नुपर्ने पनि उनी बताउँछन् ।

धितोपत्र बोर्डको नियामकीय दायरा धेरै भएकाले प्रभावकारी रूपमा काम हुन सकेको छैन । अझ ऐन र नियममा नै भएका व्यवस्था अनुसार काम भएको छैन । नियामकले प्रभावकारी रूपमा सुपरभिजनको काम गर्न नसक्दा साना लगानीकर्ताहरू फस्ने सम्भावना बढ्दै जान्छ । 

तर, लगानीकर्तामा वित्तीय साक्षरताको कमीले गर्दा फस्ने गरेको भट्ट बताउँछन् । “वित्तीय अवस्था अस्वस्थ भएका कम्पनीको सेयर किन्न उकास्नेहरूका पछाडि लाग्नेहरू वित्तीय साक्षरताको कमीले फस्ने गरेका छन्,” बाह्रखरीसित भट्टले भने, “तर, वित्तीय अवस्था अस्वस्थ भएका कम्पनीको सेयर सप्लाई बढेको छ भने ती कम्पनीलाई निगरानी नियामकले गर्नुप¥यो । कम्पनीका सञ्चालक र व्यवस्थापकमाथि निगरानी राख्नुपर्‍यो ।” 

नियामकको नियमन र सुपरभिजनमा आएको कमजोरीका कारण बजारमा विकृति फैलिने गरेको भट्ट बताउँछन् । बदलिँदो समयसँगै नियामकले प्रविधि र दक्ष जनशक्तिमा लगानी गर्नुपर्ने देखिन्छ । बोर्डले त्यसमा ध्यान नदिएको भट्ट बताउँछन् ।

बजारमा फैलिएका गलत सूचनाका कारण लगानीकर्ता प्रभावित भएका छन् कि भन्ने कुरामा ध्यान बोर्डले दिनुपर्ने भट्टको भनाइ छ । 

तर, बोर्डको नियमन विभागले सक्रिय रूपमा काम गरिरहेको धितोपत्र बार्डका प्रवक्ता निरञ्जय घिमिरे बताउँछन् । नियामकले रियल टाइमको कारोबारलाई निगरानी गरेर शंका लाग्नेलाई सोधपुछ र अनुगमनका काम गरेको घिमिरेको भनाइ छ ।

“नियामकले केही पनि काम गरेको छैन भन्न मिल्दैन, केही कमी कमजारी होलान् । तर, हाम्रो क्षमताले भ्याएसम्म गरेका छौं,” घिमिरेले बाह्रखरीसित भने, “ऐन र नियमबाहिर गएर हामीले केही गर्न सक्दैनौं । नियमित काम भइरहेको छ । बोर्डले सबै कम्पनीको कारोबार अवधिको जानकारी राखेको हुन्छ ।”

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ५ मा बोर्डको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था छ । यो दफाको (क) देखि (ध)सम्म १९ वटा बुँदामा बोर्डले के गर्ने स्पष्ट व्यवस्था छ । यी १९ वटा बुँदामा लगानीकर्ताको हितका लागि काम गर्नेदेखि भित्री कारोबारलाई रोक्न आवश्यक व्यवस्था गर्ने भनिएको छ । 

यी बुँदामध्ये (द) मा धितोपत्र वा कम्पनीसम्बन्धी मामिलाका सम्बन्धमा सुपरिवेक्षण तथा नियमन गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी सहयोग लिने दिने भनिएको छ । तर, नियामकले सर्वसाधारणमा अनुभूति हुने किसिमले काम गरेको देखिँदैन ।

डेडिकेटेड टोली बनाएर बजार सञ्चालन अवधिभरि बोर्ड, नेप्से र सीडीएससीले निगरानी गर्नुपर्ने नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष तथा लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । उनी भन्छन्, ‘‘नियामक निकाय कमजोर हुँदा साना लगानीकर्ता जोखिममा पर्ने स्थिति छ । त्यसो हुँदा यी निकायलाई बलियो बनाउन आवश्यक छ ।’’

धितोपत्र बोर्डमा स्टुडियो बनाएर बजार सञ्चालन अवधिको निगरानी गर्नुपर्ने उनको भनाइ छ । “बजार सञ्चालनको जुन चार घण्टा हुन्छ, बोर्ड र नेप्सेले स्टुडियो बनाएर निगरानी गर्नुपर्छ,” रौनियारले भने, “त्यसमा विज्ञ राखेर कारोबार भएको लाइभ हेर्नुपर्छ । त्यो अवधिमा केही भयो भने तुरून्तै कारबाही गर्नुपर्छ ।” 

साइबर क्राइमसम्बन्धी कानुन सक्रिय बनाउनुपर्ने पनि उनको सुझाव छ । तर, कारबाहीको बाहनामा सेयर रोक्का गर्न नहुने उनी बताउँछन् । कुनै कम्पनीको सेयर मूल्य दैनिक बढ्दै जान्छ भने ती कम्पनीलाई वाच लिस्टमा राख्नुपर्ने र आवश्यक आन्तरिक अनुसन्धान गर्नुपर्ने रौनियार बताउँछन् । गल्ती गर्नेलाई कानुनी दायरामा ल्याएर लगानीकर्ताको विश्वास बढाउने काम गर्नुपर्ने पनि उनको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro